close

सामाजिक सञ्जाल चलाउन एप वा ब्राउजरमा कुन उपयुक्त ?

टेकपाना टेकपाना

पुस १७, २०७९ १४:३९

सामाजिक सञ्जाल चलाउन एप वा ब्राउजरमा कुन उपयुक्त ?

काठमाडौं । फेसबुक, ट्वीटर, ह्वाट्सएप, भाइबर, मेसेन्जर, लिङ्कडइन लगायतका सामाजिक सञ्जालका प्लेटफर्महरूका मोबाइल एप र वेब दुवै भर्सनहरु हुने गर्छन् । वेब भर्सन भन्दा बढि मोबाइल एप नै प्रयोग गर्न हामीलाई सहज लाग्छ ।                               

तर के तपाईँलाई थाहा छ ? हामी सामान्य प्रयोगकर्तालाई ती प्लेफर्म एपमा प्रयोग गर्नुभन्दा वेब ब्राउजमा प्रयोग गर्न बढि सहज र सुरक्षित हुन्छ । 

हामीले प्रयोग गर्ने अधिकांश सामाजिक सञ्जाल वेब भर्सनमा पनि उपलब्ध छन् । विशेषगरी फेसबुक, इन्स्टाग्राम, ट्वीटर, ह्वाट्सएप र भाइबर जस्ता एप वेब ब्राउजरमा प्रयोग गर्न सकिन्छ ।

सामाजिक सञ्जाल वेब भर्सनमा प्रयोग गर्नुका फाइदा तल उल्लेख गरिएको छ:  

डेटामा सहजै कम्पनीको पहुँच हुन सक्दैन

सामाजिक सञ्जालका विभिन्न एपले हाम्रा अधिकांश डेटामा आफ्नो पहुँच राखेका हुन्छन् । ती प्लेटफर्मलाई हामीले केही डेटामा एक्सेस दिनुपर्छ भने केहीमा नदिए पनि हुन्छ । तर कतिपय अवस्थामा हाम्रो डेटामा पहुँच नदिँदासम्म सो एप प्रयोग गर्न सकिँदैन । 

जस्तो कि हामीले फोटो अपलोड गर्न चाहेका छौं भने फेसबुकले हाम्रो फोनको ग्यालरीको एक्सेस माग्छ । सँगसँगै लोकेसनको एक्सेस पनि दिनुपर्ने हुन्छ । जबकी फोटो मात्र अपलोड गर्नको लागि हाम्रो लोकेसनको आवश्यकता पर्दैन । 

अब यदि हाम्रो लोकेसन नै हामीले ट्याग गर्न चाहेका छौँ भने त्यो अवस्थामा लोकेसन एक्सेस दिनुपर्छ । तर, सबै अवस्थामा लोकेसन ट्याग गर्नु आवश्यक हुँदैन ।

यसरी हाम्रा अधिकांश डेटामा सामाजिक सञ्जालको कम्पनीले एक्सेस बनाएका हुन्छन् । एपमा यस्ता जोखिम बढी हुन्छन् । तर, वेब भर्सनमा प्रयोग गर्दा हामीले कस्ता डेटामा सामाजिक सञ्जाललाई एक्सेस दिने भन्ने छुट्याउन सक्छौं । साथै हाम्रो एप मार्फत नै हाम्रो मोबाइलमा हुनसक्ने जोखिमबाट पनि जोगिन सकिन्छ । 

नोटिफिकेसन आउँदैन

सामाजिक सञ्जालबाट आउने नोटिफिकेसनले नै हामीलाई धेरै समय ती प्लेटफर्ममा सक्रिय बनाइ रहेका हुन्छन् । यदि तपाईँलाई आफूले सामाजिक सञ्जालमा अनावश्यक समय बिताइरहेको छु भन्ने लाग्छ भने वेब भर्सन नै प्रयोग गर्न उपयुक्त हुन्छ ।

ब्राउजरमा जुन प्लेटफर्म प्रयोग गरिन्छ त्यो समयमा सोही प्लेटफर्मका नोटिफिकेसन मात्र देखिन्छ । उदाहरणका लागि ब्राउजरमा फेसबुक प्रयोग गर्दै हुनुहुन्छ भने तपाईँलाई त्यही ब्राउजरमा इन्स्टाग्रामको नोटिफिकेसन आउँदैन । त्यसैले त्यस्ता प्लेटफर्ममा कम समय बिताउन नोटिफिकेसनबाट टाढा बस्नुपर्छ । त्यसका लागि एपभन्दा वेब ब्राउजर नै उपयुक्त हुन्छ ।

अनावश्यक फिचरबाट मुक्ति

सामाजिक सञ्जालका विभिन्न कम्पनी प्रयोगकर्ताले आफ्नो प्लेटफर्ममा बढी भन्दा बढी समय बिताउन भन्ने चाहन्छन् । जसले गर्दा उनीहरूले अनावश्यक फिचरको चाङ थुपारेका हुन्छन् । सामाजिक सञ्जालमा कतिपय यस्ता फिचर हुन्छन्, जसको आवश्यकता हामीलाई कहिल्यै हुँदैन । यदि त्यस्ता अनावश्यक फिचरबाट वा यस्तो फिचरको नोटिफिकेसनबाट मुक्ति चाहनुहुन्छ भने वेब भर्सन नै प्रयोग गर्नुपर्छ ।

डिभाइसमा बढी स्टोरेजको खपत

डिभाइसमा कुनै पनि एप डाउनलोड गर्दा त्यसले बढी स्टोरेज खपत गरेको हुन्छ । विशेषगरी कम स्टोरेज हुने फोनमा एपको सट्टा वेब भर्सन नै प्रयोग गर्न सकिन्छ । सबै प्रकारका सामाजिक सञ्जालको वेब भर्सन चलाउन डेस्कटप वा ल्यापटप नै आवश्यक हुँदैन । यसको लागि मोबाइलबाट नै पनि ब्राउजरमा वेब भर्सन प्रयोग गर्न सकिन्छ । 

यदि तपाईँलाई वेब ब्राउजरमा हरेक पटक सामाजिक सञ्जालको लिङ्क राख्न झन्झट हुन्छ भन्ने लाग्छ भने एपको शर्टकट पनि बनाउन सकिन्छ ।

ब्राउजरमा सामाजिक सञ्जालको शर्टकट बनाउन तलको प्रक्रिया अपनाउनुहोस्:

- सबैभन्दा पहिले ब्राउजरमा जानुहोस् ।

- त्यसपछि आफूले शर्टकट बनाउन चाहेको सामाजिक सञ्जाल खोल्नुहोस् । (उदाहरणका लागि फेसबुक खोल्नुहोस् ।)

- अनि माथि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।

- यति गरेपछि तलपट्टि 'एड-टु-स्क्रिन'को अप्सनमा ट्याप गर्नुहोस् ।- र, अन्तिममा एडको अप्सनमा ट्याप गर्नुहोस् । त्यसपछि उक्त सामाजिक सञ्जालको आइकन होमस्क्रिनमा देखिन्छ ।

पछिल्लो अध्यावधिक: पुस १७, २०७९ १४:५३