close

‘डुबिसकेको’ सारथी उतार्ने त्यो आइडिया, जसले ट्याक्सी चालकलाई लाख कमाउने बनायो

गोपाल साउद गोपाल साउद

माघ १६, २०७६ १५:१

‘डुबिसकेको’ सारथी उतार्ने त्यो आइडिया, जसले ट्याक्सी चालकलाई लाख कमाउने बनायो

दुवै जना कम्प्युटरका विद्यार्थी । प्रकाश न्यौपाने कम्प्युटर साइन्स पढेका अनि रवि सिंघल कम्प्युटर इन्जिनियरिङ । दुवै प्रायः भेट भइरहने । प्रकाशले एयरलाइन्सको अनलाइन टिकेटिङका लागि नेपफ्लाइट कम्पनी सुरु गरेका थिए । रविले भने डिजिटल मार्केटिङ कम्पनी सोसल एभ्स । त्यसअघि उनीहरु डेभलपरको रुपमा अरुकै कम्पनीमा काम गर्थे ।

चार वर्ष अघिको कुरा हो । उबर–ओलाको देखासिखीमा नेपालमा अनेकौं राइड सेयरिङ कम्पनी दर्ता भइरहेका थिए । तर, कुनै पनि कम्पनी राम्रोसँग चल्न सकेका थिएनन् । अन्यत्र सफल भएको आइडिया नेपालमा किन फ्लप भइरहेको छ भन्ने विषयमा प्रकाश र रविबीच बेलाबेलामा चर्चाको विषय बन्ने गथ्र्यो ।
अरुले समस्याको समाधान प्रविधिमा मात्रै खोजिरहेका थिए । तर, व्यवस्थापन तहबाट प्रयास हुन नसकेको निष्कर्ष उनीहरुको थियो ।

ट्याक्सी चालक, साहुजी, अनि यात्रु सबैको समस्या आ–आफ्नो ठाउँमा थियो । ट्याक्सी चालकलाई दिनभर जसरी पनि दुई हजारदेखि तीन हजार रुपैयाँसम्म कमाउनै पर्ने । पाँच सयको पेट्रोल हाल्नै पर्‍यो, साहुलाई दुई हजार बुझाउनै पर्‍यो अनि घरमा हजार पन्ध्रसय लैजानै पर्‍यो । अर्कोतर्फ चालकलाई ट्याक्सी दिँदा बेलुका पैसा ल्याउँछ कि ल्याउँदैन, राम्रोसँग चलाउँछ कि चलाउँदैन, सुरक्षित रुपमा फिर्ता गर्छ कि गर्दैन, साहुको आफ्नै समस्या ।

यात्रुहरुलाई पनि ट्याक्सी भन्ने बित्तिकै तर्सिनुपर्ने । ट्याक्सी चाहियो भने चोकसम्म पुग्नै पर्ने । बार्गेनिङ नगरी जानै नमान्ने । नजाने भने सक्कियो । जाने भनेपछि कति लिने र दिने भन्ने बार्गेनिङ । यस्ता विभिन्न समस्याको समाधानको रुपमा सारथी सुरु भयो ।

महाभारतमा कृष्णले अर्जुनको रथ कुदाएर सारथी बनेको प्रसंगबाट कम्पनीको नाम जुराइएको थियो । यस हिसाबले सारथी ट्याक्सी चालकहरु प्रतिको बुझाईमा परिवर्तन ल्याउने माध्यम बन्न सक्ने प्रकाश र रविको अपेक्षा थियो । ‘सारथी असल चालक हो । सारथी राम्रो कुरा गर्छ । कामको उचित मूल्य मात्रै लिन्छ र उपयुक्त गन्तव्यमा पुर्‍याउँछ भन्ने अवधारणबाटै यो सुरु गरेका हौँ,’ रवि भन्छन्, यसबाट हाम्रा चालकहरुमा पनि सारथीसँग छुट्टै किसिमको आत्मियता छ ।’

रवि सिंघल, सह-संस्थापक, सारथी

अवश्य पनि आईसीटीको प्रयोगबाट स्थानीयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय समस्या समाधान गर्न सकिन्छ । स्टार्टअपको आधारभूत अवधारणालाई यी दुई युवाले पनि राम्रैसँग महसुस गरेका थिए । उनीहरुले ट्याक्सीमा समस्या देखिरहेका थिए ।

त्यसको समाधान प्रविधिले दिन सकिन्छ भन्ने सोंचबाटै सारथीको सुरुवात भयो । काठमाडौंको ट्याक्सी समस्या सबैलाई थाहा थियो । समाधानको प्रयासमा स्टार्टअप गर्न चाहने प्रकाश र रवि पहिलो व्यक्ति भने थिएनन् । उनीहरुभन्दा अगाडि अरुले त्यसमा अवसर नदेखेका पनि होइनन् ।

अन्तर्राष्ट्रिय बजारमा उबर–ओलाले उल्लेखनीय सफलता हात पारिरहेका थिए । तर, नेपालमा त्यो अवधारणा भित्र्याउन खोज्नेहरु भने एक पछि अर्को रुपमा असफल भइरहेका थिए । नेपालमा त्यो अवधारणा लागु गर्न सम्भव छैन भन्ने धारणाले करीब निष्कर्षको रुप लिँदै थियो ।

यस्तो अवस्थामा अरुले भन्दा फरक मोडालिटीमा काम गर्ने उद्देश्यका साथ दुई सारथी कस्सिएका थिए । तर, अरु असफल भइरहेको पृष्ठभूमीमा कुनै गतिलो धरातल तयार नभइसकेका तन्नेरीलाई विश्वास गर्ने कोही पनि थिएन । अर्कोतर्फ यात्रुले अरु देशको उदाहरण देखे–सुनेको भए पनि नेपालमा त्यसको अभाव महसुस गरिरहेकै थिए ।

यही परिवेशबाट सारथीले २ अगस्ट २०१७ मा दुई ट्याक्सीबाट आफ्नो सेवा आरम्भ गर्यो । सानोबाट सुरुवात गरेर विस्तारै विकास गर्दै लैजाने सुरुवाती योजना प्रकाश र रविले कोरेका थिए । सुरुमा कल सेन्टरमा यात्रुले सम्पर्क गर्थे र नजिकको ट्याक्सीलाई यात्रु ओसार्न पठाइन्थ्यो । हरेक ट्याक्सीमा सारथीकै ट्याब्लेट हुन्थ्यो । कार्डबाट भुक्तानीका लागि ट्याक्सीमै पोस मेसिन पनि राखिएको थियो ।

सुरुवाती समयमा सारथीले नै ट्याक्सी भाडामा लिन थाल्यो । चालक पनि पनि सारथीकै हुने । चालक र ट्याक्सी आफ्नै भइसकेपछि भनेकै ठाउँबाट यात्रुलाई सेवा दिन सकिन्छ भन्ने सोंचबाट सारथी सुरु भयो । सुरु गरेको तीन महिनामै ५० ट्याक्सी पुगे ।

सारथीको कार्यालय दरबार मार्गमा थियो । मानिसहरुले मन पराइरहेका थिए । माग बढिरहेको थियो । त्यही बेला सारथी अन्य ट्याक्सी चालकहरुको आँखाको तारो बन्न थल्यो । यतिसम्म कि चालकको आक्रोशित हुल हातपात गर्ने मनसायका साथ सारथीको कार्यालयमै पुग्यो ।

त्यो स्तरको मानसिकतासँग जुध्दै सारथी गुज्रियो । अर्को तर्फ परिस्थिति कस्तो भइदियो भने यात्रुहरुबाट सारथी प्रति अनपेक्षित किसिमको आशक्ति देखियो । ट्याक्सीका लागि सारथी हरेक यात्रुको रोजाई बन्न थाल्यो । काठमाडौंका दशौं हजार ट्याक्सीलाई आबद्ध गराएर लाखौं यात्रुलाई सेवा दिनुपर्ने चुनौति सारथीलाई थियो ।

सुरु भएको छोटो समयमै सारथी लोकप्रिय भयो । धेरैले रुचाए । सञ्चार माध्यममा जताततै चर्चा छाउन थाल्यो । तर, यात्रुको उर्लिदो चाहनालाई सम्बोधन गर्न सक्ने क्षमता सारथीसँग भएन । दुई जना भर्खरका युवाले सुरु गरेको कम्पनी । श्रोत साधन एकदमै थोरै थियो । जसले गर्दा थप ट्याक्सी भाडामा लिन मुस्किल हुन थाल्यो । अर्को तर्फ आईटी पढेका युवा । ट्याक्सी चलाउनेदेखि मर्मत सम्भारको विषयमा उनीहरु जानकार थिएनन् । समस्याले चेप्दै गयो ।

रवि भन्छन्, ‘त्यतिखेर हामीलाई दिनमा हजार १५ सय कलहरु आउँथे । मोबाइल एप बनाइसकेका थिएनौं । कारण के थियो भने, त्यतिखेर एप बनाउँदा मान्छेहरुले त्यसलाई सहज रुपमा आत्मसाथ गर्छन् भन्ने हामीलाई लागेकै थिएन । त्यसैले कल सेन्टरको मोडालिटीमा कम्पनी चलाइरहेका थियौं ।’

कल सेन्टरमा कति जनशक्ति राख्ने भन्ने चुनौति पनि थियो । कल मात्रै उठाएर नहुने, पठाउनलाई ५० भन्दा अरु ट्याक्सी थिएन । कम्पनी स्थापित नहुँदै यात्रुहरुले भने सारथीले काठमाडौंको ट्याक्सीको समस्या समाधान गरिसकेको आभास गर्न थालिसकेका थिए । माग अनुसार सेवा दिन नसकिने भएपछि यात्रुहरुको विश्वास गुम्न थाल्यो । यसरी अनपेक्षित समस्याले सारथी घेराबन्दीमा पर्दै गयो र कम्पनी नै बन्द हुने अवस्थामा पुग्यो ।

कम्पनी चल्दै नचलेर होइन, धेरै चलेका कारण बन्द हुने अनौठो परिस्थिति प्रकाश र रविले झेलिरहेका थिए । दुवै जना युवा उद्यमीमा फ्रस्टेसन छाउन थालिसकेको थियो । रवि ती दुःखका दिन सम्झिन्छन्, ‘त्यस बीचमा हामीले कति त्यस्ता दिन पनि गुजार्‍यौँ, जसमा एक जना यात्रुलाई पनि सेवा दिन सकेनौँ । छोटो समयमै स्थापित कम्पनी एकैपटक झर्‍याम झुरुम खस्दा आफ्नै सन्तान गुमाएको जस्तो पीडा हुन्थ्यो ।’

यो सारथीको मात्रै चिन्ताको विषय भने थिएन । आबद्ध ट्याक्सी चालकदेखि यात्रुहरु सबै निराश थिए ।
सारथीलाई जसरी पनि सफल बनाउने अठोटबाट हार मान्ने पक्षमा उनीहरु थिएनन् । कम्पनीलाई पुनर्जीवन दिन अब व्यवसायिक मोडल नफेरी नहुने अवस्था थियो । जुन युवा उद्यमीले नबुझ्ने विषय थिएन । अनि भाडामा ट्याक्सी लिएर चलाउने मोडेलबाट कम्पनीको समग्र संरचना नै फेरबदल गरे । जसमा ट्याक्सी तथा ट्याक्सी चालकहरु सजिलै स्वेच्छाले आबद्ध हुन सक्ने ।

चलिरहेको व्यवसाय नयाँ मोडलमा परिवर्तन भएको थियो । दुवै जनाको पृष्ठभुमी प्रविधि नै भए पनि त्यस बाहेक अरु विषयको चुनौति ज्यादा थियो । ‘प्रविधिमा पोख्त भएर मात्रै नहुँदो रहेछ,’ प्रकाशले अहिले महशुस गरेका छन्, ‘इको–सिस्टमका अन्य कारकहरुलाई पनि त्यही स्तरमा बुझ्नुपर्दो रहेछ ।’

प्रकाश न्यौपाने, सह-संस्थापक, सारथी

नयाँ चुनौतिको सामना गर्न प्रविधि र व्यवसायिक मोडेलमा परिवर्तन त ल्याए । तर त्यसलाई कार्यान्वयनमा लैजान भने त्यति सहज भएन । बन्द भइसकेको कम्पनी, डुबिसकेको कम्पनी भनेर ट्याक्सी चालकहरु कुरा गर्न समेत तयार नहुने अवस्था बनिसकेको थियो ।

त्यसैबीच सारथीको टिम ट्याक्सी ड्राइभरहरुलाई मनाउने उद्देश्ले नयाँ बसपार्क पुग्यो । तर कसैले पनि उनीहरुका कुरा सुन्नै चाहेनन् । यत्तिकै फर्किने मुडमा टोली थिएन । एक जनालाई भए पनि आफ्नो कुरा बुझाएरै छाड्ने निधोमा उनीहरु पुगे । अन्ततः एक जना ड्राइभरलाई मनाउन सफल भए । मोबाइलमा एप राखिदिए । कसरी चलाउने भन्ने जानकारी गराए ।

ट्याक्सी चालकहरु यात्रुको पर्खाइमा प्रायः बसपार्क क्षेत्रमै कुरि बस्थे । चालकहरुको बीचमा एक जना चालक अचानक देखिन छोड्यो । चालकहरुको चासोको विषय नहुने कुरै भएन । यस्तैमा ती चालकसँग उनीहरुको भेट भयो । उनले सारथीको एप प्रयोग गर्दा यात्रु बोक्ने काम भ्याइ नभ्याइ रहेको सुनाए छन् ।

अरु ट्याक्सी चालकहरु स्वस्फुर्त रुपमा सारथीको कार्यालय धाउने क्रम सुरु मात्र भएन, झण्डै बन्द हुने अवस्थाको सारथीले पुनर्जीवन समेत पायो । सुरुमा आबद्ध ट्याक्सी चालकले सारथीका सेवाग्राहीबाहेक अन्य यात्रुलाई बोक्नै पाउँदैन थिए । तर अहिले कम्पनीले चालकहरुलाई स्वतन्त्रता दिएको छ । फुर्सदमा हुँदा, कुनै दिशामा खाली जाँदा ट्रिप उठाउने नत्र छुट्टै किसिमले यात्रु उठाउने स्वतन्त्रता ।

त्यसो त सारथीमा यस्ता चालक पनि छन्, जसको ९० प्रतिशत समय सारथीकै सेवाग्राही ओसार्दैमा बित्छ । उनीहरुले महिनामा एक लाख रुपैयाँसम्म सजिलै आम्दानी गरिरहेको सुनाउँछन् प्रकाश । यात्रु लिन घरमै ट्याक्सी पुग्छ । आफन्त, साथीभाई गन्तव्यमा पुग्यो वा पुगेन चिन्ता नहुने । सामान छुट्ने जोखिम पनि छैन । प्रायः सबैजसो यात्रुसँग ट्याक्सी चालकको मोबाइल नम्बर हुन्छ । सामान छुटिहाले चालकले नै फोन गरेर जानकारी गराउँछन् ।

यात्रु सम्पर्कमा नआए सारथीको कार्यालयमै पुर्‍याइदिन्छन् । यसले गर्दा यात्रुका लागि सुरक्षित र निर्धक्क रुपमा यात्रा गर्न सक्ने विकल्प बनेको छ, सारथी । अर्को तर्फ सारथी यात्रुलाई छोड्न जाँदा भाडा नपाउने, उल्टै कुटिएर फर्किनुपर्ने ट्याक्सी चालकहरुको पीडाको पनि समाधान दिएको छ ।

अहिले सारथीको सेवा २४ सै घण्टा उपलब्ध छ । जसले ट्याक्सीका लागि बाटोमा घण्टौं कुरेर चालकसँग बार्गेनिङ् गर्नुपर्ने बाध्यताको अन्त्य गरिदिएको छ । ट्याक्सी चालकलाई गाडी चलाउन त आउँछ । तर, आजको जमानामा त्यतिले मात्रै पुग्दैन । ग्राहकहरुसँग कस्तो व्यवहार गर्ने, प्रविधि कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि उत्तिकै जानकार हुनुपर्ने हुन्छ । त्यसैले सारथीले यस्ता सीपहरु पनि चालकलाई सिकाइरहेको छ ।

सारथीले गर्दा ट्याक्सी चालकहरुलाई हेर्ने सर्वसाधारणको नजर पनि फेरिँदै गएको बुझाई रविको छ । ‘ट्याक्सी चालक त फटाहा हो, चोर हो, सकेसम्म यिनीहरुको भर पर्नु हुन्न भन्ने आम धारणा नै बनिसकेको थियो । सबैले चोर फटाहा भन्छ भने किन त्यस्तै नगर्ने भन्ने किसिमको मानसिकता चालकहरुमा पनि बन्दै गइरहेको थियो,’ रवि भन्छन्, ‘अहिले हामीले त्यो अवस्थालाई फेरेका छौँ । सारथी चालक भएपछि मलाई कसैले नराम्रो भन्न सक्दैन भन्ने आत्मगौरव उहाँहरुले गरिरहनु भएको छ । यस अर्थमा पैसा कमाउन नसकेपनि हामी सन्तुष्ट हुन सकेका छौं ।’

युट्युब भिडियो

सारथीको सञ्जालमा हाल ३५ सयभन्दा बढी ट्याक्सी आवद्ध छन् । दुई लाखभन्दा बढी युनिक ग्राहकले सेवा लिइरहेका छन् । राइड मात्रै होइन अरु सुविधा पनि दिने योजना कम्पनीले बुनिरहेको छ । डिजिटल भुक्तानी प्रयोगमा ल्याइसकेको कम्पनीमा आबद्ध करीब एक हजार ट्याक्सीमा क्यूआर भुक्तानी सुविधा छ ।
यसले नगद बोकेर ट्याक्सी चढ्नपुनर्पे बाध्यता पनि रहेन । अनलाइनमार्फत तिरेको रकम सिधै चालकको खातामा जम्मा हुने र उनीहरुको बचतको रुपमा समेत रहने भएको छ ।

‘हामीले चालकहरुसँग मिलेर काम गरिरहँदा उहाँहरुको उन्नतीको विषयमा पनि सोच्नुपर्ने हुन्छ । धेरै जसो ट्याक्सी चालकहरुको खाता नै थिएन । कतिले त एक पटकसम्म पनि बैंकमा पाइला टेकेका रहनेछन्,’ रवि भन्छन्, ‘दिनभर ट्याक्सी चलाउने र खर्च कटाएर बाँकी रहेका पैसा खाएर सकाउने गरी जीवनयापन गरिरहेका थिए । उहाँहरुको पनि परिवार छ । बालबालिकाको पढाईको कुरा आउँछ । औषधी उपचार गर्नुपर्ने हुन्छ । त्यसका लागि बचत पनि गर्नुपर्छ भनेर हामीले कुमारी बैंकसँग सहकार्य गरेका छौँ।’

यसको असर अन्ततः चालकको परिवारमा पर्ने उनको बुझाई छ । अहिले आफ्नै ट्याक्सी चलाइरहेका चालकहरुले अटो लोनमा १९ देखि २० प्रतिशत ब्याज तिरिरहेका छन् । त्यसलाई पनि सहज र सस्तो बनाउने दिशामा पनि सारथीले काम गरिरहेको छ । समयसँगै सेवाग्राहीको आकांक्षा बढ्दै गएको छ ।

सुरुवाती समयमा सारथी प्रयोग गर्नेहरुलाई सम्झना हुनुपर्छ, ४५ मिनेट देखि एक घण्टासम्म पर्खिनुपर्ने अवस्था । तर अहिले समय निकै नै फेरिएको छ । पाँच मिनेट कुराउनु पनि चुनौतिको विषय बनेको छ । समय, ग्राहकको बदलिँदो आकांक्षा र प्रतिस्प्रर्धाले नै यो अवस्थामा ल्याइपुर्याएको हो । आफूले त्यो आकांक्षा र समयको गतिलाई बुझ्न नसके बजारबाट विस्थापित हुनुपर्ने सत्यको बोध सारथीका दुवै रथीहरुलाई छ ।
यसका लागि संस्था, प्रविधि र समग्र इको–सिस्टममै उही स्तरको परिवर्तन अपरिहार्य देख्छन् प्रकाश ।

प्रविधिको विकासले अन्य क्षेत्रलाई त प्रभावित पारिरहेकै छ । यो स्वयम् आफै पनि तीब्र रुपमा परिवर्तनशिल छ । यस्तोमा प्रविधिमा अधारित स्टार्टअपहरुले अर्को वर्ष कुन अवस्थाबाट गुज्रिनुपर्ने हुन्छ, अन्दाज गर्न त्यति सजिलो छैन । अहिले राइड सेयरिङलई बजारको राम्रै साथ छ । प्रविधिलाई आत्मसाथ गरेकै कारण नयाँ नयाँ कम्पनीहरु थपिने क्रम निरन्तर छ ।

ऐन, नियमन, सहयोगी भूमिका आदि हिसावले राज्यको तहबाट राइड सेयरिङको सेवा लिइरहेका उपभोक्ताको सुरक्षा र सहजतामा मुख्य सरोकार राख्नुपर्ने आवश्यकता देख्छन्, प्रकाश । ‘चालक, कम्पनी र यात्रु सबैको सुरक्षाका लागि यो महत्वपुर्ण हुन्छ,’ उनी भन्छन्, ‘करको दायरामा ल्याउन र धेरै भन्दा धेरै मानिसले यो सेवा लिनसक्ने वातावरण तयार पार्न नियमनमा ल्याउनै पर्छ ।’

राइड सेयरिङको रुपमा सार्वजनिक तथा भाडाका सवारीकै स्तरमा मोटरसाइकलका लागि पनि सुरक्षा प्रत्याभुत गर्नुपर्ने उनी बताउँछन् । अनलाइन ट्याक्सीमा अहिले सारथी एक्लो छैन, नयाँ नयाँ प्रतिस्पर्धी थपिने क्रम जारी नै छ । हिजोको समयमा सारथीलाई एउटा ट्याक्सीलाई मनाउन मुस्किल हुने गर्दथ्यो । नयाँ प्रतिस्प्रर्धी आउँदा आफूहरुलाई पनि सहज बनाएको सारथीका सञ्चालकहरुको बुझाई छ ।

स्वभावैले आविष्कार अनिश्चित हुन्छ । त्यही बुझाइका साथ सारथीेले बनाएको प्रविधि ‘ओपन आर्किटेक्ट’ भएको प्रकाश बताउँछन् । ‘कसैले सारथीकै प्रविधिमाथि इन्नोभेट गरेर अरु सेवा थप गरेर अन्य ठाउँमा सेवा विस्तार गर्ने सवालमा सहकार्य गर्न चाहनेहरुका लागि पनि हामी खुला छौँ,’ उनी अर्थ्याउँछन् ।

भोली सारथी अन्य समस्याको समाधान पनि बन्न सक्छ भन्ने हिसाबले आफूहरु अगाडि बढिरहेको प्रकाश बताउँछन् । भविष्यमा खाना तथा खाजाको डेलिभरी, सामानको डेलिभरी सेवाका साथै विद्यमान सेवा अन्य सहरहरुमा विस्तार गर्ने कम्पनीको योजना छ । ‘कानूनी रुपमा निजी सवारी साधनलाई राइड सेयरिङ गर्न पाउने अवस्थामा सारथीले समेत अहिले पठाओ र टुटलले जस्तै सेवा समेत दिनेछ,’ प्रकाश भन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०