close

अब एउटै ‘इमर्जेन्सी नम्बर’

युजु खालिङ युजु खालिङ

माघ २०, २०७६ १२:३०

अब एउटै ‘इमर्जेन्सी नम्बर’

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले आपत्कालिन समयमा प्रयोग हुने विभिन्न नम्बरलाई एउटै बनाउने तयारी गरेको छ । प्राधिकरणले तीन विभिन्न नम्बरहरुः प्रहरीको १००, दमकलको १०१ र एम्बुलेन्सको १०२ लाई इन्टिग्रेटेड नम्बरमा परिवर्तन गराएर एउटै बनाउने तयारीमा रहेको जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका राष्ट्रिय नम्बरिङ शाखाका इंजिनियर विनोद चन्द्र श्रेष्ठका अनुसार आईटीयूको स्ट्याण्डर्ड ‘ई.१६४’ अनुसार सबै आपत्कालिन सेवामा प्रयोग हुने नम्बरलाई एउटै बनाउन लागिएको हो । आईटीयुको स्ट्याण्डर्ड ‘ई.१६४’ अनुसार सबै देशमा यस्ता इमरजेन्सी सेवा अर्थात पब्लिक सर्भिस एनसरिङ प्वाइन्ट(‘पीएसएपी) का लागि एउटै नम्बर लागू हुने व्यवस्था छ ।

‘आईटीयुको व्यवस्था अनुसार अमेरिकामा हाल सबै आपत्कालिन सेवाको नम्बर ‘९११’ रहेको छ । भने युरोपतिर ‘११२’ प्रयोगमा छ । कति देशमा १०० पनि प्रयोगमा छन्’, उनले भने, ‘तर स्ट्याण्डर्ड नम्बर भनेको ‘९११’ र ‘११२’ नै हुन् । त्यसैले हामीले पनि सोही स्ट्याण्डर्ड अनुसार नम्बर प्लानिङ गरिरहेका छौं ।’

‘यी आपत्कालिन नम्बरहरु काठमाडौंमा अत्याधिक प्रयोग हुन्छ’, श्रेष्ठले भने, ‘त्यसैले यो नम्बरको इंटिग्रेसनको कार्य प्रदेशका हिसाबले हुनेछ । नेपाल प्रहरीसँगकाे सहकार्य गरिरहेकाे याे कामकाे सुरुवात पाेखराबाट हुनेछ । प्रहरी प्रधार कार्यलय सञ्चार निर्देशनालयका डिआईजी डा. राजिव सुब्बाका अनुसार इन्टिग्रेटेड नम्बरिङ सिस्टम लागू गर्नका लागि नेपाल प्रहरीले काठमाडौं, पोखरा र विराटनगरामा अध्ययन सम्पन्न गरिसकेको छ ।

नेपाल प्रहरीले एम्बुलेन्स, दमकल, विराटनगर मेट्रो, पोखरा प्रहरीको अन्तरवार्ता लिएर नास्टको कन्फ्रेन्समा पेपर प्रकाशन गरेकाे थियाे ।‘यो परियोजनाको सम्पूर्ण अध्ययन हामीले सम्पन्न गरिसकेका छौं ।’ डिआईजी सुब्बा भन्छन, ‘अर्को वर्षदेखि पोखराबाट यो परियोजना सुरु गर्ने अनि क्रमैसँग विराटनगर हुँदै देशैभरी सञ्चालनमा ल्याउने योजनामा हो ।’

नेपाल प्रहरीले आईभीआर प्रविधिमाथि पनि सम्पूर्ण रिसर्च सम्पन्न गरेर कार्यान्वयनका लागि अन्तिम चरणमा पुगेको छ । परियोजनामा प्राधिकरणको आर्थिक सहयोग हुने हुँदा काम सुरु गर्ने देखि लिएर कार्यगति सबै कुरा प्राधिकरणमा निर्भर हुने सुब्बा बताउँछन् ।

‘यो प्रविधिको कुरा मात्र होइन यो संस्कारको कुरा पनि हो ’, उनि भन्छन, ‘यहाँ सहकार्यको पनि चुनौती छ । फायर व्रिगेड, प्रहरी, र अस्पताल, एम्बुलेन्सको सेवालाई कसरी कोअर्डिनेट गर्ने भनेर हामीले कानपुर र लखनउको कल डायल १०० को पनि अध्ययन गर्‍यौं । त्यहाँबाट अनुभवी मान्छेहरु यहाँ झिकाएर हामीले कार्यक्रम पनि गर्‍यौं । भने त्यसको प्रवृति बुझ्न अब हामी भारत भ्रमण गर्ने योजनामा छौं ।’

नेपाल प्रहरीले यो परियोजनाका लागि प्रधिकरणमा बजेट पनि प्रस्ताव गरिसकेको उनले बताए । पोखारमा मात्र यसको लागि पाँच करोड खर्च हुनेछ । समग्र ७७ ओटै जिल्लामा सम्पन्न गर्न एक अर्ब जति बजेट लाग्ने अनुमान गरिएको उनले बताए ।

यसलाई प्राधिकरणले पनि अघिल्लो वर्षकै वार्षिक कार्यक्रममा थियो । यो वर्ष पर्न सकेन, अर्को वर्षबाट यसलाई अघि बढाउने योजनामा प्राधिकरण रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०