close

टेलिकम कर्मचारी युनियनलाई मन्त्री बास्कोटाको प्रश्न, ‘पञ्चायतको टालो जस्तो के बाधेको ?’

टेकपाना टेकपाना

माघ २२, २०७६ १६:५४

टेलिकम कर्मचारी युनियनलाई मन्त्री बास्कोटाको प्रश्न, ‘पञ्चायतको टालो जस्तो के बाधेको ?’

काठमाडौं । आज नेपाल टेलिकमको १६ औं वार्षिकोत्सव । सधा झैं नेपाल टेलिकमले आफ्नो केन्द्रीय कार्यलयमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । तर, आजको कार्यक्रम अघिल्ला वर्षहरुको तुलानमा अलि भिन्न अनि रोचक पनि थियो ।

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाको उपस्थिती ढिला हुँदा कार्यक्रम एक घण्टा ढिला सुरु भयो । तर, त्यहाँ एउटा समुह तोकिएकै समयमा आफ्ना टाउँको तथा छातीमा विभिन्न प्लेकार्ड झुन्ड्याएर साइडमा उभिइरहेका थिए । ती थिए टेलिकमका कर्मचारी युनियनका पदाधिकारी र सदस्य ।

उनिहरु कम्पनीको वार्षिक उत्सवको अवसरमा आफ्ना माग पुरा नभएको भन्दै विरोधमा उत्रिएका थिए । सेवासुविधाको विषयमा निर्णय नभएको विषयलाई लिएर बिरोधमा उत्रिएका उनिहरुका लागि आजको कार्यक्रम साच्चिकै लजास्पद भयो होला ।

कारण मन्त्री बास्कोटाको कटाक्ष । मन्त्री बास्कोटाले सुरुमा कर्मचारी युनियलाई शब्दहरुले उचाले र अनी अन्तिममा त्यहि शब्दले नै पछारे भन्दा फरक पर्दैन । उनले सुरुमा टेलिकमले मंगलबारबाट देशका हरेक जिल्लामा फोरजी विस्तार गर्न सफल हुनु सबैका लागि गौरवको विषय भएको बताए । उनले भने, यसमा सम्पूर्ण कर्मचारी र कर्मचारी युनियनको ठूलो योगदान छ । यसो भन्दै गर्दा साइडमा विभिन्न प्लेकार्ड बोकेर बसेका कर्मचारी युनियनका कर्मचारीबाट ताली पड्कियो ।

तालीको त्यो गुञ्जन नसकिँदै मन्त्री बास्कोटाले त्यही कर्मचारी युनियनलाई निल्नु न ओकल्नु बनाइ दिए । मन्त्री बाँस्कोटाले कम्पनीका प्रबन्ध निर्देशकले बोलेको शब्दलाई लिँदै भने, कर्मचारीको सेवा सुविधाको विषय लोकसेवा आयोगमा पुगेको छ । त्यहाँबाट चाँडै निर्धारण भएर आउँछ । यति भन्दाभन्दै पनि युनियन यसरी बिरोधमा, त्यो पनि आजको दिन उत्रिनु भनेको कम्पनीले पाएको सफलतामा खुसी नहुनु हो । मन्त्री बाँस्कोटा त्यतिमा मात्रै रोकिएनन् ।

उनले भने, पञ्चायतको टालो जस्तो यो के बाँधरे बसेका हुन् ? यो त आमाको जन्मदिनको दिन शोक धुन बजाए जस्तै भो । आमाको जन्मदिनको दिन मंगलधुन बज्नु पर्नेमा शोक धुन बजिरहेको छ । आजको दिन पनि खुसी हुन नसक्ने मानसिकता किन हो ? मन्त्री बाँस्कोटाले यो शब्द बोल्दा कर्मचारी युनियनका पदाधिकारी एकअर्का तीर हेर्न बाध्य भए । केही समयअघिसम्म ताली बजाइरहेको टोली मौन बन्यो ।

मन्त्री बाँस्कोटाले भन्दै थिए, ‘सान्टाक्लाउजको जस्तो चुच्चे टोपी लगाएर हुने केही छैन । यदि राजनीति नै गर्ने हो भने यहाँबाट छोडेर पार्टी कार्यलय गए हुन्छ । यो संस्थामा तपाईंको बाँकी जीवन छ भनेर काम गर्नुहोस् । कसैले यहाँ बसेर राजनीति गर्छ भने म पराजित नै गर्छु । फेरी भन्छु, दृढतापूर्वक भन्छु, म यस्तालाई पराजित नै गर्छु । जसरी बुझ्नु छ बुझ्नुस् । आजको दिन देशभर फोरजी पुगेर विरोध गर्नु भएको हो ? पुग्नु हुँदैन थियो ? काठमाडौंको तार अन्डरग्राउण्डको काम तपाईंहरुलाई आउने भयो, अब फेरी पसिना बगाउनुपर्ने भयो, त्यसैले आउनु हुँदैन भन्ने चिन्ता लाग्यो ? हैन भने कम्पनी प्रति जिम्मेवार हुनुस् ।

नत्र दुइचार जनाको यस्ता कुराले यो मन्त्री हच्केला र दच्केला भन्ने नसोच्न भन्दै उनले चुनाैती दिए । यसको हिसाव किताव राम्रोसँग राखिन्छ । हिसाव कितावको कुरामा युनियनले फेरी ताली पड्काए । त्यो तालीको जवाफ फेरी मन्त्रीले दिए । मैले अघिल्लो वर्ष नै भनेको थिएँ, सफल भएको दिन गीत बजार नाच्ने हो । बेलुका त्यसैको लागि कार्यक्रम राखिएको छ ।

यो खुसीमा खुसी साट्न नसक्नेहरु त्यहाँ पनि सहभागी हुँदैनन् होला भन्ने लाग्यो । यसैमा युनियनका तर्फबाट हामी पार्टीमा आउँदैनौं भन्ने शब्द आयो । मन्त्री बास्कोटाले झन्किदै भने, मलाई चुनौती चै नदिनु होला । अराजकता सहिँदैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०