close

आजदेखि विद्युतीय माध्यमबाट हुने भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ता, यसरी लिनुहोस फाइदा

टेकपाना टेकपाना

माघ २८, २०७६ १३:३

आजदेखि विद्युतीय माध्यमबाट हुने भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ता, यसरी लिनुहोस फाइदा

काठमाडौं । उपभोक्ताले आजबाट दैनिक उपभोग्य बस्तु खरीद गर्दा पनि १० प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) फिर्ता पाउने छन् । सरकारले विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई प्रोत्साहन स्वरुप भ्याट फिर्ताको सुविधा उपलब्ध गराउन थालेको हो । यसकाे सुरुवात म‌ंगलबार अर्थमन्त्री युवराज खतिवडाले गरेका छन् ।

यो व्यवस्था अनुसार वस्तु तथा सेवा खरीदमा विद्युतीय माध्यमबाट एक हजारदेखि एक लाख रुपैयाँसम्म भुक्तानी गर्ने उपभोक्ता बैंक खातामै भ्याट रकमको १० प्रतिशत फिर्ता पाउनेछन् । भ्याट फिर्ता दिन आन्तरिक राजस्व विभागले ‘विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिबृद्धि कर फिर्ता दिने सम्बन्धी कार्य प्रक्रिया २०७६’ नै जारी गरेको छ ।

यही २५ पुसदेखि लागु भएको यो कार्यप्रक्रिया अनुसार मोबाइल बैंकिङ, कार्ड, कनेक्ट, आईपीएस, ई-सेवा, खल्ती, आईएमई(पे जस्ता मोबाइल वालेट लगायतका माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताले लाभ उठाउन सक्नेछन् ।

यद्यपी यस्तो सुविधा व्यवसायिक प्रयोजनको खरीदमा नभई व्यक्तिगत उपभोगका लागि हुने खरीदमा मात्रै पाइनेछ । त्यसमा पनि एक हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको कारोबारमा मात्रै भ्याट फिर्ताको व्यवस्था लागु हुने गरी कार्यप्रक्रिया बनाइएको छ ।

यसका लागि कर बीजकको ढाँचामा बिक्रेताले विद्युतीय बीजक सिर्जना गर्नुपर्ने र उपभोक्ताले विद्युतीय माध्यमबाट भुक्तानी गरेपछि तिर्नुपर्ने मूल्य अभिबृद्धि करको दश प्रतिशतले हुने रकम स्पष्ट हुने गरी विद्युतीय बीजक जारी गर्नुपर्नेछ ।

उपभोक्ताले विद्युतीय माध्यमबाट भुक्तानी गरेको रकम सोझै बिक्रेताको बैंक खातामा जम्मा हुन्छ । यसरी भुक्तानी भएको कर रकमको १० प्रतिशत बिक्रेताको सोही बैंक खाताबाट स्वचालित रुपमा उपभोक्ताको बैंक खातामा फिर्ता गर्नुपर्नेछ । यसको व्यवस्था भुक्तानी सेवाप्रदायकले नै मिलाउनेछन् ।

उपभोक्तालाई फिर्ता गरेको कर रकम बिक्रेताले कर विवरणमार्फत हिसाव मिलान गर्नुपर्ने हुन्छ । यसरी भएको कारोबारको विवरण विभागको एकीकृत कर प्रणालीमा स्वचालित रुपमा नै प्राप्त हुने व्यवस्था विभागले मिलाएको छ । बिक्रेताले आफ्नो कारोबार रहेको स्थानमा विद्युतीय भुक्तानी गर्ने उपभोक्ताले मूल्य अभिवृद्धि कर फिर्ताको सुविधा रहेको जानकारी सार्वजनिक गर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१