close

यस्तो छ नेपाल प्रहरीले आविष्कार गरेको रिपिटर

युजु खालिङ युजु खालिङ

फागुन ५, २०७६ ११:४६

यस्तो छ नेपाल प्रहरीले आविष्कार गरेको रिपिटर

काठमाडौं । तपाईंलाई विश्वास नलाग्न सक्ला, प्रहरी सुरक्षाकर्मी मात्र होइनन्, अन्वेषक र आविष्कारक पनि हुन् । अब भने तपाईंले विश्वास गर्नैपर्छ । किनभने नेपाल प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयका प्रहरीले विश्वमै नभएको पहिलो ह्याण्डसेट रिपिटरको आविष्कार गरेका छन् । 

रिपिटर भनेको दूरसञ्चार कम्पनीहरुको बीटीएस टावर जस्तै नै हो । यसले फोनहरुबीच सम्पर्क स्थापित गराउन सिंग्नललाई रिसिभ तथा ट्रान्समिट गराउने काम गर्छ । प्रहरीले दूरसञ्चारका लागि कुनै पनि दूरसञ्चार कम्पनीको सेवा नलिने र आफ्नै आन्तरिक प्राविधिक प्रणाली प्रयोग गर्दै आएको छ । यसकारण प्रहरीको सञ्चारका लागि बीटीएस टावर हुँदैन । उनीहरुले सिग्नल कभरेजका लागि रिपिटरको प्रयोग गर्छन् ।

नेपाल प्रहरीले यो नवीन आविष्कार कुनै अत्याधुनिक प्रविधि तथा उपकरणबाट गरेको भने होइन । प्रहरीले आफूसँगै रहेको पुरानो वाक्की टक्की ह्याण्डसेट जस्ता जुगाड उपकरणबाट यो निर्माण गरेका हो । 

नेपाल प्रहरीले हालसम्म प्रयोग गर्दै आएको रिपिटर भने आयातित रिपिटर हो । जुन २० देखि २५ किलोग्रामसम्म भारी हुन्छ । तर नयाँ आविष्कार गरिएको रिपिटर ब्याट्री सहित तीनदेखि चार किलोग्रामको मात्रै छ । यो रिपिटर लाइट वेट रिपिटर हो । यसलाई ड्रोनमा पनि उडाउन सकिने निर्देशनालयकी प्रहरी इन्जिनियर दीपा भट्टराई बताउँछिन् । 

यो रिपिटरमा दुईओटा वाक्की टक्की ह्याण्डसेटलाई केबलबाट एकआपसमा जोडिएको छ । जसमा एउटा ह्याण्डसेटले रिसिभरको काम गर्छ भने अर्कोले ट्रान्समिटरको काम गर्छ ।

‘रिपिटरहरुको सिमित कभरेज क्षमता हुन्छ । भूभाग नमिलेको ठाउँ तथा अग्ला भवन भएका ठाउँमा यसले राम्ररी सिग्नल रिभिस गर्न र ट्रान्समिट गर्न सक्दैन । त्यसैले झ्यार्र आवाज आउँछ,’ प्रहरी निरीक्षक इंजिनियर प्रमोदकुमार यादव भन्छन्, ‘ठूलो रिपिटरलाई कुनै निश्चित ठाउँमा इन्स्टल गरेर राखिन्छ । जताततै लग्न सकिँदैन । यस्तो बेला यो लाइट रिपिटरलाई बोकर जहाँसुकै पुग्न पनि सकिन्छ र प्रतिकूल भूभागमा यसलाई ड्रोनमा राखेर पनि उडाउन सकिन्छ ।’

बौद्ध, सोह्रखुट्टे जनसेवा जस्ता ठाउँमा भूभाग नमिलेको कारणले त्यस्तो स्थानमा यसको प्रयोग गर्न सकिने प्रहरी निरीक्षक इन्जिनियर यादव बताउँछन् । 

कुनै अनकन्टार पहाड होस् वा कुनै अग्ला भवनहरुबीचको स्थान, जहाँसुकै पनि यो नयाँ रिपिटरले काम गर्न सक्ने यादव बताउँछन् । 

विश्वमा नै पहिलोपटक नेपालले यस्तो प्रकारको रिपिटर आविष्कार गरेको बताउँछन् प्रहरी प्रधान कार्यलय सञ्चार निर्देशनालयका प्रमुख डीआईजी डा. राजिव सुब्बा । ‘चीनले पनि रिपिटर त बनाएको छ, तर उसको प्रविधि फरक छ । हामीले जस्तो छुट्टै प्रविधिबाट यस्तो मोडलमा निर्माण गरेको छैन,’ डीआईजी सुब्बा भन्छन् । 

प्रहरीले बनाएको यो रिपिटर पाँच वाटको हो । यसमा स्काई वेभ हुँदैन, डाइरेक्ट वेभ हुन्छ । लाइन अप साइट अर्थात् आखाँले देख्न सक्ने भूभागमा यसले सिंग्नल फ्याँक्छ । । एकदमै खुल्ला बातावरणमा लैजाँदा यसले तीन किलोमिटरसम्मको रेञ्जमा कभरेज गर्नसक्ने इन्जिनियर यादव बताउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१