close

कोरोनाको संक्रमण फैलिन नदिन अनलाइन भुक्तानी !

टेकपाना टेकपाना

चैत ४, २०७६ १५:३०

कोरोनाको संक्रमण फैलिन नदिन अनलाइन भुक्तानी !

काठमाडौं । पछिल्लो समय फैलिँदै गएको कोरोना भाइरस रोक्न अनलाइन भुक्तानीमा जोड दिन थालिएको छ । व्यक्तिगत सम्पर्क बाट टाढा रहन र भिडभाडमा नजान अनलाइन भुक्तानी प्रयोग गर्न नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतिप्रसाद नेपालले सुझाव दिएका छन् ।

भुक्तानि सेवाप्रदायक कम्पनीहरुले ग्राहकको रकमको सुरक्षा सुनिश्चितता गरेर आएको खण्डमा कारोबारको सीमा थप बढाउने कुरामा समेत राष्ट्र बैंक सकारात्मक रहेको बताए ।

‘वास्तवमा मोबाइल वालेट खुद्रा भुक्तानीका लागि प्रयोग हुने भएकाले अहिले दिनमा २५ हजार रुपैयाँदेखि ५० रुपैयाँसम्मको भुक्तानीमा प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘यदी सेवाप्रदायकले सेक्युरिटीमा ध्यान दिने हो भने अहिले कोरोना भाइरसको सन्त्रास छाएको बेला त्यो सीमा बढाउन समेत तयार छौँ ।’

कारोबारको सीमा बढाउने विषयमा औपचारिक प्रस्ताव सहित आउन नेपालले आग्रह गरेका छन् । पछिल्लो समय मानिसहरु कोरोना भाइरस संक्रमण हुनसक्ने जोखिमका कारण सकेसम्म भिडभाड भएका स्थानबाट परै रहन रुचाउन थालेका छन् ।

जसले गर्दा त्यसको सोझो असर अनलाइन भुक्तानीमा पर्न थालेको छ । विभिन्न सेवाप्रदायक कम्पनी तथा संस्थाहरुमा बिल बुझाउने लाइन समेत घट्दै गएको छ ।

अनलाइन भुक्तानी सेवाप्रदायक खल्तीका निर्देशक अमित अग्रवालले अन्य समयभन्दा कोरोना भाइरसको चर्चा सुरुभएपछि मानिसहरु अनलाइन भुक्तानीमा आकर्षित हुन थालेको बताए ।

उनले भने, ‘नगद कारोबार गर्दा कोरोना भाइरस सर्ने डरलेभन्दा पनि मानिसहरु भिडभाड भएका स्थानमा सकेसम्म जान नचाहने हुँदा त्यसको असर अनलाइन भुक्तानीमा परेको हुनसक्छ ।’

कोरोना भाइरसको त्रास फैलिरहेका बेला अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनीहरु आफ्नो सेवा प्रवर्द्धन गर्न समेत हच्किरहेका छन् ।

यस अघिका दिनमा समय र पैसा जोगिने नाममा सेवा प्रवर्द्धन गर्दै आएका कम्पनीहरुका लागि अहिले स्वास्थ्य सचेतनाका हिसावले समेत अनलाइन भुक्तानी प्रयोग गर्न लगाउन सकिने अवस्था छ ।

तर ईसेवाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) रोशन लामिछाने संकटमा ब्यापारको मौका छोपेको आरोप लाग्न सक्ने संकोचका कारण त्यसतर्फ लाग्न नसकिएको बताउँछन् । उनी भन्छन्, ‘तर अहिलेको समयमा यो स्वास्थ्य सचेतनाका लागि समेत आवश्यक विषय हो ।’

व्यक्ति व्यक्ति बीचको सम्पर्क कम गराउन नियामक नेपाल राष्ट्र बैंकले अनलाइन कारोबारको सीमा बढाउनुपर्ने भुक्तानी सेवाप्रदायकहरुको माग छ ।

नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार मोबाइल बैंकिङ मार्फत दैनिक ५० हजार रुपैयाँसम्म तथा मासिक दुई लाख रुपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ ।

इन्टरनेट बैंकिङबाट मर्चेन्टलाई दैनिक १० लाख रुपैयाँसम्मको तथा मासिक ३० लाख रुपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ भने एक बैंकको खाताबाट अर्को खातामा दैनिक १० लाख रुपैयाँसम्म तथा मासिक ५० लाख रुपैयाँसम्म रकम पठाउन सकिने राष्ट्र ब‌ैंकले जनाएको छ ।

तर डिजिटल वालेट प्रयोगकर्ताहरुले व्यक्तिगत रुपमा रकम पठाउन सक्ने सीमा भने थोरै छ । हाल पी टू पी (एक व्यक्तिले अर्को व्यक्तिलाई गर्ने भुक्तानी) को सीमा दैनिक २५,००० तथा मासिक ५०,०००० रुपैयाँ मात्रै रहेकाले यसलाई बढाउन आवश्यक रहेको ईसेवाका सीओओ लामिछाने बताउँछन् ।

कोरोना भाइरसले गर्दा व्यापार व्यवसाय समेत प्रभावित बनेको छ । त्यसैका कारण तथ्याङ्कमा अनलाइन भुक्तानीको प्रयोग उल्लेख्य रुपमा बढेको देखिँदैन ।

सकेसम्म विभिन्न सेवाप्रदायक कम्पनी, सरकारी निकायहरु तथा संघ संस्थाले अनलाइन भुक्तानीमा जोड दिन आवश्यक छ । टेलिकम कम्पनीहरुले पनि एसएममार्फत अनलाइन भुक्तानीका लागि प्रोत्साहन गर्नुपर्ने सुझाव लामिछानेको छ ।

त्यसो त खानेपानी, बिजुली, इन्टरनेट जस्ता सेवाको बिल बुझाउन काउण्टरहरुमा यस अघि जस्तो लामो लाइन देखिन छाडेको छ । भर्खरै नेपाल विद्युत प्राधिकरणले समेत परिपत्रमार्फत कोरोनाबाट बच्न बिजुलीको बिल अनलाइनबाटै तिर्न आग्रह गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१