close

जूमका संस्थापक एरिक, जसले ८ पटक प्रयास गर्दा पनि अमेरिकाको भिसा पाएका थिएनन्

टेकपाना टेकपाना

चैत १९, २०७६ १६:४४

जूमका संस्थापक एरिक, जसले ८ पटक प्रयास गर्दा पनि अमेरिकाको भिसा पाएका थिएनन्

काठमाडौं । सन् १९९० को दशकमा बिल गेट्सले इन्टरनेटको बारेमा बोलेको एरिक युआनले सुनेका थियो । त्यो समय २० वर्षे युआन आफ्नो देश चीनमा थिए ।

गेट्सको कुराले उनीभित्र केही गर्ने सपना पलायो र उनी अमेरिको सिलिकन भ्याली जान लालायित भए । यो कथा जूमका सीईओ एरिक युआनको हो ।

जब उनले आफ्नो सपनालाई वास्तविकतामा बदल्न अमेरिका जाने तयारी गरे, तब आगडिको बाटो सजिलो छैन भन्ने कुरा उनलाई राम्ररी थाहा थिएन । उनको सपनामाथि पहिलो धक्का त त्यतिखेर लाग्यो, जब अमेरिकी सरकारले उनलाई भिसा दिन अस्वीकार गर्‍यो ।

उनले पुनः भिसा आवेदन दिए । तर फेरी उनी असफल भए । यही दूर्भाग्य आठ पटकसम्म दोहोरी रह्यो ।

दुई वर्षसम्म प्रयास गरेपछि अन्ततः नवौं पटक १९९७ मा उनले अमेरिकाको भिसा पाए । त्यो समय उनलाई बिना त्रूटि स्पष्ट अंग्रेजी भाषा बोल्न आउँदैन थ्यो । तर उनी कम्प्युटरको कोड राम्ररी लेख्न सक्थे ।

यही सीपका कारण भिडियो कन्फ्रेन्सिङ सफ्टवेयर कम्पनी वेबएक्समा इन्जिनियरको काम पाए ।एक दशकपछि २००७ मा वेबएक्लाई ३.२ अर्ब डलरमा सिस्कोले खरिद गर्‍यो । कम्पनीको स्वामित्व परिवर्तन भएपछि युआनको पद र काम पनि परिवर्तन भयो ।

नयाँ कम्पनीमा उनी इन्जिनियरिङ विभागको कर्पोरेट भीपी बने । उनी कोल्याबोरेसन सफ्टवेयरका इन्चार्ज बने । त्यो समय उनले लाखौं डलरको तलब लिन थाले ।

थ्राइभ ग्लोबलसँगको अन्तरवार्तामा युआनले आफ्नो कामसँग सन्तुष्ट नभएको बताएका थिए । अन्तरवार्तामा आफूले धेरै सेवाग्राहीसँग भेटेको र उनीहरु उक्त भिडियो कन्फ्रेन्सिङ सेवासँग सन्तुष्ट नभएको कारण थाहा पाएपछि आफू दुःखी भएको बताएका थिए ।

त्यही समय उनको दिमागमा एउटा यस्तो प्लेटफर्म विकास गर्ने सोँच आयो, जसले सेवाग्राहीलाई खुशी बनाउन सकोस् ।

२०११ मा एरिक युआनले आफ्नो नयाँ कम्पनी जूम सुरु गर्ने निर्णय लिए । उनको यो नयाँ सोचलाई साथ दिन सिस्कोका ४० जना इन्जिनियरहरु पनि उनलाई साथ दिन तयार भए ।

उनको यो स्टार्टअपको सोचले २०१२ मा आएर मूर्त रुप लियो । जूम एउटा भिडियो कन्फ्रेन्सिङ एपको रुपमा सार्वजनिक भएको थियो । 

केही वर्षपछि कम्पनीसँग १७ सय कर्मचारीहरु भए । आय पनि २०१८ मा आएर दोब्बर भएको थियो । जुन ३३ करोड डलरभन्दा माथि पुगिसेको थियो ।

जब युआनले जूम सार्वजनिक गरेका थिए, त्यो समय यसले स्काइप, गूगल र सिस्कोसँग कडा प्रतिस्पर्धाको सामना गर्नु पर्‍यो । यद्यपी दुई वर्षपछि जूमको भिडियो कन्फ्रेन्सिङ प्रयोग गर्नेको संख्या चार करोडभन्दा माथि पुग्यो ।

सुरुवाती चरणमा जूमले एउटा फ्रि प्रडक्ट आफ्ना सेवाग्राहीहरुका लागि ल्याएको थियो, ता कि उनीहरुले आफ्नो मोबाइल डिभाइस तथा अन्य डिभाइसहरुमा भिडियो कलहरु स्ट्रिमङ गर्न सकून् ।

Image may contain: 1 person, smiling

रोचक त के छ भने, जूमले अझै पनि आफ्ना आधारभूत सेवा निःशूल्क उपलब्ध गराउँदै आएको छ । तर व्यवसायिक ग्राहकहरुले भने जूमको थप फिचरहरु लिन पैसा तिर्नु पर्छ ।

२०१५ सम्म जूमसँग एउटा समर्पित मार्केटिङ टिम थिएन । लामो समयसम्म जूम मौखिक प्रचारबाजीमा निर्भर रह्यो ।

जूमलाई सेवाग्राहीमैत्री संस्थाको रुपमा विकास गर्न युआन आफै सम्पूर्ण सेवाप्रदान गर्ने प्रक्रियामा संलग्न भए । उनले सेवासँग खुशी नभएका र सर्भिस प्लान रद्द गर्न चाहाने सेवाग्राहीहरुलाई व्यक्तिगतरुपमा नै ईमलेमार्फत प्रतिक्रिया दिन थाले । 

महामारीको रुपमा कोरोना भाइरसले विश्व आक्रान्त रहेको वर्तमान समयमा जूम सबैभन्दा रुचाइएको एप बनेको छ । जूम कम्पनीको शेयर मूल्य पनि करिब १५० डलरमा पुगेको छ ।

जब कि वर्षको सुरुवातमा यसको मूल्य ६० डलरको वरिपरी मात्रै थियो । एपको प्रशिद्धिसँगै युआनको सम्पत्ति पनि उकालो लाग्दैछ ।

युआन यसअघि तीन अर्ब अमेरिकी डलरको स्वामित्वकर्ता हुन् । जूममा रहेको २० प्रतिशत शेयरका कारण अहिले उनको सम्पत्ति सात अर्ब डलर नजिक पुगेको छ । 

विश्वका एक तिहाई मानिसहरु लक डाउनको सामना गरिरहेका छन् । अहिले विश्वभरका अधिकांश संस्थाहरु घरमा बसेर काम गरिरहेका छन् र आफ्नो व्यवसायिक प्रतिवद्धतालाई पूरा गर्न जूममा निर्भर छन् ।

गूगल, एप्पल र माइक्रोसफ्टबाट कडा प्रतिस्पर्धाको सामना गरिरहे पनि अहिले भिडिया कन्फ्रेन्सिङ बजारमा यसले तीब्र गतिमा प्रगति हासिल गरिरहेको छ । यसपछाडिको कारण भनेको यो एपले नयाँ फिचर थप गरेको छ ।

जसले एउटै भिडियो कलमा सयभन्दा धेरै मानिसहरु अटाउन सक्छन् । कोरोनाभाइरस प्रकोपका कारण अभूतपूर्व फाइदा लिइरहेको जूम अहिले बजारमा सबैभन्दा अग्र स्थानमा छ ।

एजेन्सीहरुको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१