close

अमेरिकी प्रतिबन्धका बावजूद १९ प्रतिशतले बढ्यो ह्वावेको आम्दानी

टेकपाना टेकपाना

चैत १९, २०७६ १७:४८

अमेरिकी प्रतिबन्धका बावजूद १९ प्रतिशतले बढ्यो ह्वावेको आम्दानी

काठमाडौं । सन् २०१९ ह्वावेका लागि त्यति सहज थिएन । युरोप लगायतका देशमा फाइभजीमा लागेको प्रतिबन्ध र अमेरीकासँगको व्यापार युद्धले ह्वावेका लागि असहज परिस्थिती सिर्जना गरेको थियो ।

यस्तो अवस्थामा पनि ह्वावेको कूल आम्दानीमा कुनै असर परेको देखिएन । ह्वावेले मंगलबार मात्रै आफ्नो सन् २०१९ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदन अनुसार सन् २०१९ मा ह्वावेले १९ प्रतिशतले आफ्नो कूल आम्दानी वृद्धि गर्न सफल भएको छ । गत वर्ष कम्पनीको कुल आम्दानी १२३ अर्ब डलर अर्थात १४७ खर्ब २५ अर्ब ९० करोड रुपैयाँभन्दा बढी छ ।

जसमध्ये क्यारियर व्यवसायबाट ४२.५ अर्ब डलर, इन्टरप्राइजमार्फत १२.८ अर्ब डलर र कञ्जुमर व्यवसायमार्फत ६६.९ अर्ब डलर आम्दानी भएको उल्लेख गरिएको छ । अन्य बिजेनेसमार्फत ७० करोड डलर आम्दानी भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कम्पनीको सञ्चालन खर्च अघिल्लो वर्षको तुलनामा ५.६ प्रतिशतले वृद्धि भएको छ भने विभिन्न बिजनेस सेग्मेन्टबाट हुने आम्दानी २२.४ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले उक्त अवधिमा सबैभन्दा बढी व्यापार आफ्नै देशमा गरेको छ । ह्वावेको कूल आम्दानीको ५९ प्रतिशत चीनबाट गरेको छ भने त्यसपछि युरोपबाट ।

कूल व्यापारको २४ प्रतिशत युरोपमा भएको उल्लेख गरिएको छ । कम्पनीको अन्यत्रको व्यापारमा एशिया प्रान्तमा ८.२ र अमेरिकामा ६.१ प्रतिशत रहेको छ ।

कम्पनीले सन् २०१९ मा कूल आम्दानीको १० प्रतिशत रकम अनुसन्धानमा लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढी हो ।

ह्वावेको अनुसन्धान र विकासमा मात्रै कूल कर्मचारीको ४९ प्रतिशत अर्थात ९६ हजार भन्दा बढीले रोजगार पाइरहेका छन् । यो अवधिमा ऊ आफ्नै एप स्टोर, फाइभजी, क्लाउड सेवा विस्तार लगायतका उल्लेखनीय काम गर्न सफल भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१