close

सरकारी खातामा १६ अर्ब दाखिला गर्न प्राधिकरणलाई मन्त्रालयको पत्र

टेकपाना टेकपाना

बैशाख ८, २०७७ १६:५५

सरकारी खातामा १६ अर्ब दाखिला गर्न प्राधिकरणलाई मन्त्रालयको पत्र

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको खातमा रहेको १६ अर्ब रुपैंया सरकारको खातमा दाखिला गर्न अर्थमन्त्रालयले पत्र पठाएको छ । अर्थ मन्त्रालयले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको माध्यमबाट प्राधिकरणलाई पत्राचार गरेको हो ।

गएको मंगलबार मन्त्रिपरिषदको बैंठकले प्राधिकरण मातहतको ग्रामीण दूरसञ्चार विकास कोषमा रहेको रमक मध्ये १६ अर्ब रुपैयाँ सरकारको खातामा तात्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसारको पत्र आइतबार प्राप्त भएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

खनालका अनुसार पत्रमा सरकाले हालको विषम परिस्थितीमा कोषमा भएको रकम मध्ये १६ अर्ब रुपैयाँ सरकारी खातामा उपलब्ध गराउन भनेको छ । ‘पत्रमा प्राधिकरणलाई आवश्यक परेको खण्डमा रकम उपलब्ध गराउने भनिएको छ,’ उनले भने, ‘यस विषयमा प्राधिकरणमा छलफल गरेर सरकारलाई पैसा उपलब्ध गराउछौँ ।’

सरकारले आवश्यक पर्दा फिर्ता दिने विषयको आधार के हुन्छ ? भन्ने प्रश्नमा खनालले प्राधिकरण सरकारले गठन गरेको संस्था भएकाले सरकारलाई विश्वाश गर्नुभन्दा अर्को विकल्प नहुने बताए ।

‘पत्रमा प्राधिकरणलाई कुनै परियोजना अघि बढाउनका लागि सहयोग आवश्यक परेको खण्डमा सरकारले सहयोग उपलब्ध गराउनेछ भनेर उल्लेख गरिएको छ,’ उनले भने ।

अध्यक्ष खनालका अनुसार हाल कुन बैंकमा कति रकम रहेको छ, रकम उपलब्ध हुन कतिसमय लाग्छ भन्ने विषय बुझ्ने कार्य भइरहेको छ ।

ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकासको लागि खडा गरिएको उक्त कोषमा हाल करिब २४ अर्ब रुपैयाँ रहेको छ । जुन दूरसञ्चार कम्पनीहरुले आफ्नो वार्षिक आम्दानीको चार प्रतिशतका दरले जम्मा गरेको रकम हो ।

उक्त रकम कोषमा योगदान पुर्‍याउने सेवा प्रदायकको सहभागीतामा खर्च गर्न पाउने प्रावधान भएता पनि सरकाले आफ्नो खातमा तान्ने निर्णय गरेको हो ।

यो दूरसञ्चार ऐनले परिकल्पना गरेभन्दा बाहिरको विषय हो । सरकारको यस किसिमको निर्णयप्रति सेवाप्रदायकहरु भने असन्तुष्ट देखिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४