close

डब्लुएचओको सल्लाहसँग बाझिने सामग्रीमा युट्युवको प्रतिबन्ध

टेकपाना टेकपाना

बैशाख ११, २०७७ १०:११

डब्लुएचओको सल्लाहसँग बाझिने सामग्रीमा युट्युवको प्रतिबन्ध

काठमाडौं । गूगलको स्वामित्वमा रहेको युट्युवले स्वास्थ्य विज्ञान प्रमाणीत नभएका सामग्रीहरुमा प्रतिबन्ध लगाउने भएको छ । 

युट्युवकी प्रमुख कार्यकारी सुसन वज्सिस्कीले एक अन्तर्वार्तामा प्लेटफर्ममा गलत सूचना तथा सामग्रीलाई हटाउन चाहेको बताएकी छन् । यसबाट युट्युवले फाइभजीसँग जोडिएका षड्यन्त्रकारी शिद्धान्तमा आधारित सामग्रीमा लगाएको प्रतिबन्ध विस्तार गर्ने भएको हो । 

कोरोनाभाइरसको महामारी सुरु भएयता पहिलो पटक बुधबार मिडिया अन्तर्वार्तामा वज्सिस्कीले यस्तो टिप्पणी गरेकी हुन् । 

‘मानिसहरुले भिटामिन सी, हल्दी, लिँदा त्यसले राम्रोसँग उपचार गर्ने भनिरहेका छन्  । यी केही उदाहरण मात्रै हुन् । यस्ता सामग्रीले हाम्रो नीतिको उलंघन गरेको मानिनेछ,’ सीएनएनसँग उनले भनेकी छिन्, ‘विश्व स्वास्थ्य संगठनको सल्लाह विरुद्ध हुन जुनसुकै कुरा हाम्रो नीतिको उलंघन ठहरिनेछ ।’

वज्सिस्कीले आधिकारिक श्रोतबाट समाचारको माग ७५ प्रतिशतले बृद्धि भएको बताएकी छन् । 

गत सातामात्रै फेसबुकले कोरोनाभाइरस सम्बन्धी गलत तथा भ्रामक सूचना पढ्ने हेर्ने र सेयर गर्नेलाई पपअप मार्फत अलर्ट गराउँदै डब्लु एचओको साइटमा पुर्‍याउने घोषणा गरेको थियो । 

जब कि फेसबुककै स्वामित्वमा रहेको म्यासेजिङ सर्भिस ह्वाट्सएपले प्रयोगकर्तालाई एउटै म्यासेज चारपटक भन्दा बढी शेयर गर्न रोक लगाइसकेको छ । ता कि एकै सममयमा कुनै म्यासेज धेरै समुदायमा नपुगोस् । 

सीएनएनबाट । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३