close

पठाओमाथि डेटा बिक्रीको आरोप, यस्तो छ वास्तविकता

टेकपाना टेकपाना

बैशाख ३१, २०७७ १४:२

पठाओमाथि डेटा बिक्रीको आरोप, यस्तो छ वास्तविकता

काठमाडौं । मंगलबार सामाजिक सञ्जालमा राइड सेयरिङ एप पठाओले मिनिसो नामक कम्पनीलाई प्रयोगकर्ताको जानकारी बेचेको आरोप लाग्यो । पठाओबाट मिनिसो नामक कम्पनीका उत्पादन खरीदका लागि म्यासेज आएपछि प्रयोगकर्ताले आफ्नो कम्पनीले आफ्नो सूचनाको दुरुपयोग गरेको आशंका व्यक्त गर्न थाले ।

यो विषय चर्चामा आएसँगै हामीले यसको यथार्तता बुझ्ने प्रयास गरेका छौं । प्रयोगकर्तालाई आएको म्यासेजको स्क्रीनसटहरुको अध्यय गर्दा ती म्यासेज मिनिसोको नभएर इन्फी स्टोरको रहेको देखिएको छ ।

वास्तवमा इन्फी स्टोरबाट मिनिसोका सामग्री खरिद गर्न सकिने भन्दै त्यस्ता म्यासेज प्रयोगकर्ताले पाइरहेका छन् । यस अर्थमा मिनिसोले म्यासेज पठाएको आरोप गलत देखिएको छ ।

सामाजिक सञ्जालमा स्क्रीनसट शेयर गर्नेहरुले पठाओले मिनिसोलाई प्रयोगकर्ताको जानकारी बचेको र मिनिसो बंगलादेशी कम्पनी तथा उक्त कम्पनी पठाओको लगानीकर्ता समेत रहेको बताइरहेका छन। तर मिनिसो बंगलादेशी कम्पनी नभएर चिनियाँ कम्पनी हो ।

इन्फी स्टोर भने नेपाली कम्पनी नै हो । अर्कोतर्फ उक्त म्यासेज अरु कसैले नभएर पठाओबाटै प्रयोगकर्तालाई गएको छ । पठाओबाटै म्यासेज गएपछि उसले जानकारी बेचेको भन्ने प्रश्न नै रहेन ।

तर, यहाँ अर्को प्रश्न भने खडा भएको छ । एउटा सेवाका लागि संकलन गरिएको प्रयोगकर्ताको विवरण अर्को प्रयोजनमा प्रयोग गर्न मिल्छ कि मिल्दैन ?

राइड सेवा लिने क्रममा कम्पनीमा पुगेको डेटा विज्ञापनका लागि प्रयोग हुनु कति सान्दर्भिक हो ? यो विषयमा हामीले पठाओका क्षेत्रीय निर्देशक असिममानसिंह बस्न्यातसँग प्रश्न गर्‍यौं । उनले यो कम्पनीको टर्म्स एण्ड कन्डिसन भित्र रहेरै गरिएको बताए ।

‘कम्पनीको टर्म्स एण्ड कन्डिसनमा प्रयोगकर्ताको जानकारी कम्पनीभित्रै प्रयोग गर्न सक्ने भनेर उल्लेख गरेका छौं,’ उनले भने, ‘वास्तवमा यो पठाओले कोरोनाभाइरसको महामारीको समयमा ग्राहकको सहजताको लागि उपलब्ध गराएको नयाँ सेवा हो ।’

पठाओले लकडाउनको समयमा सवारी साधान नभएका साना ईकमर्श कम्पनीसँग उनीहरुको डेलिभरीका लागि सहकार्य गरिरहेको छ । बस्न्यातले भने, ‘त्यस्ता साना कम्पनीलाई सवारीसाधन उपलब्ध गराउँदा उनीहरुलाई पनि सहयोग पुग्ने र हाम्रो पनि नयाँ अनुभव हुने देखियो । अर्कोतर्फ ग्राहकले पनि घरमै खाद्यान्न लगायतका सामग्री सहजै प्राप्त गर्न सक्छन् ।’

यहि परियोजना अन्तर्गत पठाओले अहिलेसम्म चार वटा यस्तै साना अरु ईकमर्श कम्पनीसँग समेत पठाओले सहकार्य गरिसकेको समेत उनले बताए । ‘यसै क्रममा हामीले इन्फी स्टोरसँग सहकार्य गरेका छौं । उक्त कम्पनीसँगको सहकार्य भएकाले हामीले पठाओमार्फत प्रयोगकर्तालाई यसको जानकारी गराउने काम गरेका मात्र हौं,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१