close

आफ्ना बालबालिकाको फोनमा नियन्त्रण राख्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

जेठ २, २०७७ १७:४०

आफ्ना बालबालिकाको फोनमा नियन्त्रण राख्न चाहनुहुन्छ ? यसो  गर्नुहोस्

काठमाडौं । विगत करिब दुई महिनादेखि देश लकडाउनमा थुनिएको छ । सबै शैक्षिक संस्थाहरु बन्द छन् । बालबालिकाहरु पनि घरभित्रै थुनिएका छन् । यस्तो बेलामा स्मार्टफोन र ट्याबलेट बालबालिकाको समय बिताउने माध्यम बनेका छन् ।

उनीहरुले स्क्रीनमा बिताउने समय दैनिक रुपमा बढिरहेको छ । बुबाआमाको नियन्त्रणबाहिर गइरहेको बालबालिकाको स्क्रीनमा बिताउने समय उनीहरुको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यका लागि हानिकारक छ । 

तर तपाईंका बालबालिकाले एन्ड्रोइड डिभाइस प्रयोग गर्दैछन् भने अब तपाईं ढुक्क हुनुहोस् । गूगल फ्यामिली लिंकले एन्ड्रोइड डिभाइसमा प्यारेन्टल कन्ट्रोल अर्थात अभिभावकको नियन्त्रण तयार पारेको छ । 

यदि तपाईंको बच्चा १३ वर्षभन्दा कम उमेरको छ भने तपाईंले फ्यामिली लिंकबाट उसको एन्ड्रोइड फोन नियन्त्रण गर्नसक्नुहुन्छ । त्यसो त १३ वर्षभन्दा माथिका बालबालिकाको डिभाइसलाई पनि तपाईंले नियन्त्रण गर्न सक्नुहुन्छ । 

तर उनीहरुले त्यस्तो फिचरलाई डिसेबल गर्न सक्छन् । यदि उनीहरुले यस्ता फिचर डिसेबल गरेनन् भने तपाईंले त्यसको नोटिफिकेसन वा अलर्ट म्यासेज पाउन सक्नुहुन्छ । 

फ्यामिली एप प्रयोग गरेर तपाईंले आफ्ना छोराछोरीहरुका लागि कुन एपमा कति समय तोक्ने वा पुरै डिभाइसमा नै नियन्त्रण गर्ने भन्ने लगायतका यावत् काम गर्न सक्नुहुन्छ । 

फ्यामिली लिंक फ्री एन्ड्रोइड एप हो । एन्ड्रोइड ७.० वा त्यसभन्दा पछिका एन्ड्रोइड भर्सन चल्ने सबै फोन तथा ट्याबलेटहरुमा यो एप सजिलै प्रयोग गर्न सकिन्छ । सबैभन्दा पहिले आफ्नो एन्ड्रोइड भर्सन चेक गर्नुहोस् । सेटिङबाट अबाउट फोनमा गएर त्यसलाई चेक गर्नसक्नुहुन्छ । 

गूगलका अनुसार यो एप एन्ड्रोइड ५.० र ६.० भर्सनमा पनि चल्छ । यदि तपाईंको बच्चाको डिभाइसमा एन्ड्रोइड १० चल्छ भने यो डेडिडेकेटेड एप बिना पनि फ्यामिली लिंक तयार पार्न सकिन्छ । 

तपाईंले एन्ड्रोइड ५.० वा त्यसमाथिको एन्ड्रोइड भर्सन चल्ने डिभाइस वा आईओएस ९ वा त्यसभन्दा नयाँ जुनसुकै डिभाइसबाट पनि फ्यामिली लिंक अकाउन्टलाई व्यवस्थापन गर्न सक्नुहुन्छ । 

तर यो एप सुरु गर्नु अघि तपाईसँग आफ्नो र बच्चाको गूगल अकाउन्टको सबै जानकारी भने हुन जरुरी छ । तर तपाईंको बच्चाको छुट्टै गूगल अकाउन्ट बनेको छैन भने त्यो आवश्यक पर्दैन ।

फ्यामिली लिंक एपमा गएर तपाईंले सेटिङ तथा साइन अप गर्नुपर्ने हुन्छ । सेटिङ गर्दाको बखत दुवै एप एकअर्कासँग नजिक हुनुपर्छ ।

अब सुरुमा फ्यामिली लिंकलाई तपाईंको अकाउन्टमा सेट गर्नुहोस् । एन्ड्रोइड १० रन भएको डिभाइस चलाउँदै हुनुहुन्छ भने सबैभन्दा पहिले सेटिङ खोल्नुहोस् । गूगलमा जानुहोस् र त्यहाँबाट प्यारेन्टल कन्ट्रोल हुँदै गेट स्टार्टमा प्रवेश गर्नुहोस् । त्यहाँबाट प्यारेन्ट छनौट गर्नुहोस् । 

तपाईंको बच्चाको डिभाइसमा एन्ड्रोइड १० छ भने सेटिङ एपबाट फ्यामिली लिंक लञ्च गर्नुहोस् । त्यसको साटो प्ले स्टोरबाट फ्यामिली लिंक डाउनलोड गरेर खोल्न पनि सक्नुहुन्छ ।

त्यहाँ ‘डिभाइस फर अ चाइल्ड’ को अप्सन छान्नुहोस् । त्यसमा बच्चाको गूगल अकाउन्ट सेलेक्ट गर्नुहोस् र बाँकी प्रक्रिया पूरा गर्नुहोस् । त्यसपछि आफ्नो डिभाइसमा पनि आफ्नो गूगल अकाउन्ट ओपन गर्नुहोस् ।

ता कि बच्चाको अकाउन्टसँग त्यसलाई लिंक गराउन सकियोस् । त्यसपछि केही बेसिक अकाउन्ट कन्ट्रोल सेटअप मिलाउनुहोस् ।

प्राथमिक चरणको सेटअपका लागि एकदमै कम समय लाग्छ । तर एकपटक यो सेटअप भइसकेपछि टाढै बसेर पनि तपाईले आफ्नो बच्चाको डिभाइसको सेटिङ परिवर्तन गर्न तथा नियन्त्रण गर्नसक्नुहुन्छ ।

गूगल फ्यामिली लिंकले तपाईंलाई आवश्यक सबै किसिमको जानकारी दिन्छ । तपाईंको बच्चाले फोनमा कति लामो समय बिताइरहेको छ भन्ने लगायतका यावत् कुरा यो एपबाट हेर्न मिल्छ ।

यो एप खोलिसकेपछि तपाईंले आफ्नो बच्चाको एन्ड्रोइड फोनको लोकेसन पनि थाहा पाउन सक्नुहुन्छ । तपाईंले दिनको समय, राती सुत्ने समय, र सबै समयका लागि फोन सेटिङ मिलाउन सक्नुहुन्छ । 

साथै बच्चाको सुत्ने समय भएपछि फोन स्वचालित रुपमा लक हुने र बिहान अनलक हुने सेटिङ पनि यसमा रहेको छ । यो एपमा विभिन्न कार्डहरु हुन्छन्, जसमा विभिन्न किसिमका सेटिङ र क्षमता हुन्छ ।

प्रत्येक कार्डलाई ट्याप गर्दै तपाईंले त्यस अनुसारको सेटिङ मिलाएर बच्चाको डिभाइसलाई नियन्त्रण गर्नसक्नुहुन्छ । यो एपमा अझ धेरै एड्भान्स सेटिङ पनि रहेका छन् ।

एपमा रहेको फीडमा अर्को अप्सन लेबल म्यानेज सेटिङ रहेको छ । जसको माध्यमबाट तपाईंले फोनमा कुन एप इन्स्टल गर्ने वा नगर्ने भन्ने विषयमा समेत नियन्त्रण बनाउन सक्नुहुन्छ । 

तपाईंको एपमा भएको लोकेसन खण्डले तपाईंको बच्चाको फोन कहाँको सेलुलर वा वाईफाई नेटवर्कमा छ भन्ने समेत जानकारी समेत देखाउँछ ।

साथै तपाईंले बच्चाको लोकेसन चेक गरेको बखत बच्चाको फोनमा अलर्ट म्यासेज पनि आउँछ । यो एपले अभिभावक र बच्चाबीच सम्पर्क स्थापित गराएर विश्वासको वातावरण तयार गर्न मद्दत गर्छ । 

गूगल फ्यामिली लिङ्क एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१