close

फेसबुक, भिस्टापछि जियोको शेयर खरीद गर्दै जनरल एट्लान्टिक

टेकपाना टेकपाना

जेठ ५, २०७७ १३:७

फेसबुक, भिस्टापछि जियोको शेयर खरीद गर्दै जनरल एट्लान्टिक

काठमाडौं । सस्तो मूल्यमा डेटा उपलब्ध गराएर भारतको इन्टरनेट बजारको स्वाद नै फेरिदिएको रिलायन्स जियोमा अर्को अमेरिकी कम्पनीले लगानी गर्ने भएको छ । अमेरिकाको प्राइभेट इक्युटी कम्पनी जनरल एट्लान्टिकले जियोको १.३४ प्रतिशत शेयर खरिद गर्ने भएको हो ।

कम्पनीले ८७० मिलियन डलर अर्थात एक खर्ब पाँच अर्ब लगानीमा उक्त शेयर खरीद गर्ने भएको हो । त्यसका लागि जियोका मालिक मुकेश अम्बानी सहमत भइसकेका छन् ।

पछिल्लो एक महिनामा एकपछि अर्को गर्दै तीन वटा अमेरिकन कम्पनीले जियोमा लागनी गरिसकेका छन् । अघिल्लो सातामात्रै अमेरिकन इक्युटी कम्पनी भिस्टाले ११ हजार ३६७ करोड भारुमा जियोको २.३२ प्रतिशत सेयर खरिद गरेको थियो ।

त्यसअघि अम्बानीको रिलायन्स इन्डष्ट्रिज अन्तर्गतको जियोमा फेसबुकले ४ खर्ब ३५ अर्ब ७४ करोड भारतीय रुपैयाँ लगानी गरी ९.९ प्रतिशत शेयर खरिद गरिसकेको छ । सिल्भरलेकले समेत ७४ करोड ७० लाख डलरमा १.१५ प्रतिशत स्वामित्व खरिद गरेको थियो ।

फेसबुकको लगानीसँगै जियोले आफ्नो शेयर बिक्री बन्द गर्न सक्ने अपेक्षा गरिएको अवस्थामा अम्बानीले एकपछि अर्को गर्दै कम्पनीको शेयर बिक्रीलाई निरन्तरता दिएका छन् । यसले कम्पनीको भ्याल्युलाई अझ बढाएको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३