close

स्मार्टफोन नचिन्ने ग्राहक समेत ठग्दै एनसेल, घटना सार्वजनिक भएपछि ब्यालेन्स फिर्ता

रन्जन कोइराला रन्जन कोइराला

जेठ ९, २०७७ १४:७

स्मार्टफोन नचिन्ने ग्राहक समेत ठग्दै एनसेल, घटना सार्वजनिक भएपछि ब्यालेन्स फिर्ता

काठमाडौं । गएको हप्ता एनसेलले ग्राहकलाई जानकारी नै नदिई दैनिक १५ रुपैंयाभन्दा बढी ब्यालेन्स काटिरहेको विषयमा टेकपानाले समाचार प्रकाशित गरेको थियो । जसमा कम्पनीले ह्वावे गेम कन्टेन्ट र विजनेश ह्याण्डलिङ शूल्कको नाममा दैनिक १५ रुपैयाँ ३२ पैसासम्म ब्यालेन्स काटिएको देखिएको थियो । 

टेकपानामा समाचार प्रकाशित भएसँगै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले छानविन सुरु गरेको छ । अहिले उक्त अनुसन्धान अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ । 

तर, यसैबिच एनसेलको अर्को ठूलो ठगी फेला परेको छ । यसअघिको समाचारमा ग्राहकको जानकारी बिना ह्वावे गेम कन्टेन्ट र विजनेश ह्याण्डलिङ शूल्कको नाममा ब्यालेन्स काटिएको विषयमा टेकपानाले एनसेल प्रतिनिधिसँग प्रश्न गरेको थियो । 

जवाफमा एनसेलले भने ‘प्रयोगकर्ताहरुले फेसबुक, एन्ड्रोइड ह्याण्डसेटको एपीपी वा गूगल पेजहरुमा डिजिटल विज्ञापन देखिरहेका हुनसक्ने र प्रयोगकर्ताले त्यसमा क्लिक गरेपछि सेवा सब्स्क्राइभ भएको बताएको थियो । 

यतिमात्रै ह‍ोइन, एनसेलले लिखित रुपमा दिएको जवाफमा अगाडि भनिएको छ, ‘त्यहाँ शूल्क लाग्ने तौरतरिका बारे विस्तृत जानकारी हुने र पार्टनरको पेजमा सेवाग्राहीहरुले कन्फर्म गरेपछि एनसेलको सहमति प्राप्त पेज खुल्ने छ । त्यहाँ एनसेलले पुनः निश्चित गरेर प्रयोगकर्ताबाट निश्चित शूल्कमा निश्चित सेवा सब्स्क्राइब गरेको जानकारी गराउँ छ ।’ 

यो प्रक्रिया पुरा भइसकेपछि प्रयोगकर्ताले तीनओटा विकल्प छान्न पाउने एनसेलले बताएको थियो । एनसेलका अनुसार त्यहाँ एउटा कन्फर्म भन्ने विकल्प हुन्छ । यदि प्रयोगकर्ता कम्पनीका सबै शर्तसँग सहमत छ भने उसले ती शर्तको बटनमा क्लिक गर्नुपर्ने हुन्छ ।

कम्पनीका अनुसार दोस्रो विकल्प नट नाउ पनि हुन्छ । ‘यसमा क्लिक गर्दा ब्यालेन्स काटिँदैन । यस्तै अर्को तेस्रो अप्सन हुन्छ, नो एक्सन । यसमा क्लिक गरेको खण्डमा प्रयोगकर्ता उक्त पेजबाट बाहिरिन सक्छन् ।

यस्तोमा  शूल्क पनि काटिँदैन’, एनसेलले आफ्नो स्पष्टिकरणमा भनेको छ, ‘हामीले गेम, मनोरञ्जन तथा युटिलिटी उपलब्ध गराउने स्थानीय तथा अन्तर्राष्ट्रिय भ्याल्यु एडेड सर्भिस अर्थात भ्यास  सेवाप्रदायकहरुसँग साझेदारी गरेका छौं ।’ 

यस्ता भ्यास सेवाप्रदायकले एनसेलका प्रयोगकर्तालाई दिने सेवा एक्सक्लुसिभ र विज्ञापन रहीत हुने कम्पनीको दाबी छ । 

एनसेल भन्छ, ‘अन्तर्राष्ट्रिय डिजिटल विज्ञापन एजेन्सीहरुले प्रयोगकर्ताको ह्याण्डसेटमा डिजिटल विज्ञापन पठाउने काम गर्दछन् । उदाहरणका लागि प्रयोगकर्ताहरुले एकपटक विज्ञापन पाएपछि उनीहरुले भाइबर तथा ह्वाट्सएप कल समाप्त भएपछि फेसबुक, गूगल लगायतका विभिन्न प्लेटफर्ममा ती विज्ञापनहरु देखिन्छन् ।’

यदि कोही यस किसिमका सब्स्क्रिप्सनहरुबाट बच्न चाहन्छन् भने उनीहरुले विज्ञापनको नोटिफिकेसन राम्ररी पढ्नुपर्ने एनसेलको भनाई छ । सब्स्क्रिप्सन बटन क्लिक नगर्ने र राम्ररी नपढी कुनै पनि विज्ञापनलाई कन्फर्म गर्न नहुने उसको जवाफ थियो । 

एनसेलको यो जवाफबाट प्रस्ट हुन्छ, स्मार्टफोनमा इन्टरनेट चलाउँदा आउने विज्ञापनमा क्लिक गर्दा यस्ता सेवा सब्स्क्राइब हुन्छ र पैसा काटिन्छ । तर नियामक निकायले भने ग्राहकले नचाहँदा नचाहँदै यस्तो सेवा सब्स्क्राइब भएर पैसा काट्नु नै गलत भएको बताएको छ । 

पछिल्लो पटक एनसेलको गम्भीर कमजोरी फेला परेको छ । यसअघि स्मार्टफोन प्रयोगकर्ताले सेवा सब्स्क्राइब गरेकाले पैसा काटिएको बताउँदै आएको एनसेलले बारफोन अर्थात किप्याड युक्त मोबाइल बोक्ने प्रयोगकर्ताबाट पनि सोही शिर्षकमा त्योभन्दा झन् बढी पैसा काटिरहेको घटना सार्वजनिक भएको छ ।

सागरको फेसबुक पोस्ट

बुधबार, साँझ ७ बजेर ५५ मिनेट जाँदा सागर पौडेलले आफ्नो फेसबुक वालमा एनसेलको बदामासीको विषयमा एउटा पोष्ट गरे । टेकपानाको सम्पर्कमा आएका उनले बुधबार बिहान ९ बजेतिर एक जना गाउँले बुबा आफ्नो पसलमा बारफोन बोकेर रिचार्जका लागि आएको बताए । उनले भने, ‘मैले खल्ती मोबाइल वालेमार्फत उहाँको मोबाइलमा सय रुपैयाँ रिचार्ज गरिदिएँ ।’

एनसेलको एपमा देखिएको स्टेटमेन्टमा पनि रिचार्ज बिहान ९ बजरे १८ मिनेट जाँदा भएको देखिन्छ । रिचार्ज भएपछि ग्राहक फर्किए । तर तिनै ग्राहक रिचार्ज नभएको भन्दै दिउँसो पुनः उनको पसलमा फर्किए । 

सागरले उनको मोबाइलको ब्यालेन्स चेक गरे । ३१ रुपैयाँको हाराहारीमा मात्रै थियो । उनले भने ‘मैले उहाँलाई तपाईंले कसैलाई फोन गर्नु भएको थियो भनेर पनि सोधें, तर उनले कसैलाई पनि कल नगरेको जवाफ दिएपछि आश्चर्यमा परें ।’

खल्ती वालेटबाट पैसा काटिएको छ, तर ग्राहकको मोबाइलमा ३१ रुपैयाँमात्र रिचार्ज भएको छ ।त्यसपछि उनले आफ्नो मोबाइलमा एनसेलको एप डाउनलोड गरेर ग्राहकको नम्बरबाट लगईन हिस्ट्री हेरे ।

हिस्ट्रिमा म्युजिक मिटर कन्टेन्ट, भिडियो प्लस कन्टेन्ट र ह्वावे गेम कन्टेन्टको नाममा क्रमसः ३८.३१, १२.७७ र १५.३२ रुपैयाँ काटिएको देखियो । बारफोन बोक्ने ग्राहकको सिमबाट यस्तो सेवा कसरी एक्टिभ भयो ? ती ग्राहक उनले पहिलेदेखि चिनेजानेकै मान्छे थिए । ग्राहकले कहिल्यै स्मार्टफोन नबोकेको बताए ।

यससँगै टेकपानाले समेत ती ग्राहकलाई नै सम्पर्क गरेको छ । (गोपनीयताका कारण यहाँ उनको नाम खुलाइएको छैन । आवश्यक परेमा सम्बन्धित निकायलाई उपलब्ध गराउन सकिनेछ) 

उनले रिचार्ज गरेपछि आफै पैसा सकिएको बारेमा अनविज्ञता पोखे । कहिल्यै स्मार्टफोन नबोकेका उनले स्मार्टफोन भनेकै बुझेका रहेनछन् । हेर्दा ठूलो औँला घिसारेर चलाउने मोबाइल कहिलै बोक्नु भएको छ भनेर सोधेपछि उनले अलिअलि बुझे । त्यस्तो फोन आफूले अहिलेसम्म छुँदा पनि नछोएको ती प्रयोगकर्ताले बताए । 

यो सबै हुँदासम्म बिहीबार ४ बजेको थियो । त्यसबेलासम्म ती ग्राहकको मोबाइलबाट काटिएको पैसा एनसेलले फिर्ता गरिसकेको थियो । सागरले फेसबुकमा पोष्ट गरेपछि एनसेलका एक कर्मचारीले उनलाई म्यासेज गरेर ती ग्राहकको नम्बर मागे ।

एनसेलले ठगेको पैसा फिर्ता गर्दै पठाएको म्यासेज

त्यसको केही घण्टापछि एनसेलको फेसबुक पेजबाट म्यासेज एसएम आयो । जसमा लेखिएको छ, ‘तपाईंको समस्या हल भएको छ । हामीले पैसा फिर्ता गरिदिएका छौं । आगामी दिनमा यस किसिमका समस्या आएको खण्डमा ईमेलमार्फत जानकारी गराउन आग्रह गर्दछौं ।’

सागरले फेरी आफ्नो मोबाइलमा उक्त नम्बर लग ईन गरेर हेरे । त्यहाँ ५२० रुपैंया ८८ पैसा एनसेलले फिर्ता गरेको थियो । ६६ रुपैयाँ ४ पैसा काटेको ठाउँमा पाँच सय २० रुपैंया फिर्ता आएपछि थाहा भयो एनसेलले त लामो समयदेखि ती ग्राहकको ब्यालेन्सबाट धमाधम पैसा काट्दै आएको रहेछ ।

एनसेलले ब्यालेन्स काटेको र पछि फिर्ता गरेको स्टेटमेन्टको स्क्रीन सट

यससँगै टेकपानाले एनसेलका प्रतिनिधिसँग ईमेलमार्फत यसको जवाफ मागेको थियो । यसअघि स्मार्टफोनमा मात्र काटिने भनिएकोमा इन्टरनेट नै नचलाउने बारफोन प्रयोगकर्ताबाट कसरी त्यस्तो सेवा एक्टिभ भयो र पैसा काटियो भनेर प्रश्न सोधिएको थियो ।

शुक्रबार एनसेलले उक्त ईमेलको जवाफ पठाएको छ । उसले ती ग्राहकको पैसा काटिएको स्वीकार समेत गरेको छ । उसले ईमेलमा अगाडि लेखेको छ, ‘हामीले त्यस विषयमा अध्ययन गर्‍यौं । ती ग्राहकको समस्या हल भएको छ । तपाईंहरुसँग अरुपनि यस किसिमको समस्या भोगिरहेका ग्राहकहरु सम्पर्कमा भए नम्बर उपलब्ध गराउनुहोला ।’

यो घटना बाहिर आएसँगै एनसेलले थामथुम पार्ने कोशिस गरेको छ । यस्ता लाखौं ग्राहक हुनसक्छन्, जसले आफ्नो ब्यालेन्स केमा कति काटियो भनेर चेक गर्नै जान्दैनन् । यस्तोमा एनसेलको गैर व्यवसायिक तथा गैरजिम्मेवार भूमिकालाई लिएर नियामकसँग समेत बुझ्ने कोशिस भएको छ । 

नियामकले यदि बारफोन प्रयोगकर्ताबाट समेत यस्ता सर्भिसको नाममा ब्यालेन्स काटिएको छ भने यो ज्यादति भएको बताएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘हामी यस विषयमा आवश्यक अध्ययन गर्छाैं । यदि गलत भएको खण्डमा कारबाही हुन्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३