close

सूचना महामार्गको प्रगति न्यून, समयमै सक्न टेलिकमलाई निर्देशन

टेकपाना टेकपाना

जेठ १२, २०७७ १८:५६

सूचना महामार्गको प्रगति न्यून, समयमै सक्न टेलिकमलाई निर्देशन

काठमाडौं । संसदीय समितिले सूचना महामार्ग (अप्टिकल फाइबर) र ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार परियोजना समयमै सक्ने गरी काम गर्न नेपाल टेलिकमलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको सोमबारको बैठले टेलिकमलाई यस्तो निर्देशक दिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष र नेपाल टेलिकमका पदाधिकारीहरुसँग परियोजनाको अवस्थाबारे समितिमा छलफल भएको थियो ।

उक्त बैठकले प्राधिकरणबाट १ तथा २ नम्बर र बाग्मती प्रदेशमा ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सुरु भएको परियोजनाको प्रगति न्यून रहेको भन्दै स्पष्ट कार्ययोजना बनाएर समयमै सम्पन्न निर्देशन दिएको हो ।

समितिले देशभरका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायतका निकायमा ब्रोड ब्याण्ड इन्टरनेट सेवा विस्तार गर्ने परियोजना ४१ वटा जिल्लामा मात्र सीमित रहेको भन्दै त्यसलाई यथाशिघ्र देशभर विस्तार गर्न समेत भनेको छ ।

त्यसका लागि आगामी आर्थिक वर्षमा यसलाई मूख्य प्राथमिकतामा राखेर काम गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ ।

त्यस्तै समितिले कोरोनाभाइरस (कोभिड १९) का कारण सिर्जना भएको समस्यालाई न्यूनिकरण गर्न शिक्षा, उद्योग एवं राज्यका हरेक संरचना लगायत सम्पूर्ण क्षेत्रलाई प्रविधि मैत्री बनाउने गरी काम गर्न समेत निर्देश गरेको छ ।

त्यसका लागि मन्त्रालयलाई निर्देशन दिँदै समितिले आवश्यक कार्ययोजना अघि बढाउन भनेको छ । रोजगारी सिर्जना गर्ने वातावरण तयार पार्ने किसिमको कार्ययोजना बनाउन भन्दै समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेत निर्देशन दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३