close

जूम निःशूल्क प्रयोग गर्नेलाई पनि इण्ड टु इण्ड इन्क्रिप्सन

टेकपाना टेकपाना

असार ४, २०७७ १५:६

जूम निःशूल्क प्रयोग गर्नेलाई पनि इण्ड टु इण्ड इन्क्रिप्सन

एजेन्सी । कोरोनाभाइरसको समयमा चर्चित बन्न पुगेको भिडियो कन्फ्रेन्सिङ सफ्टवेयर जूमका सबै प्रयोगकर्ताहरुले अब इण्ड टु इण्ड इन्क्रिप्सन सुविधा प्रयोग गर्न पाउने भएका छन् । बुधबार जूमले अर्को महिनादेखि बेटा भर्सन प्रयोग गर्ने सम्पूर्ण प्रयोगकर्ताहरुलाई यस्तो सुविधा दिने घोषणा गरेको हो । 

जूमले यो सुविधा निःशूल्क र पैसा तिरेर जूम प्रयोग गर्ने दुवै किसिमका प्रयोगकर्तालाई उपलब्ध गराउने बताएको छ । इण्ड टु इण्ड इन्क्रिप्सनलाई मिटिङको दौरान आयोजकले टोगलको मद्दतबाट ईनेबल र डिसेबल गर्न सक्ने छ ।

यसै महिनाको सुरुवातमा कम्पनीले गैरकानूनी गतिविधिमा प्रयोग हुनसक्ने जोखिम औंल्याउँदै पैसा नतिर्ने प्रयोगकर्ताहरुलाई इण्ड टु इण्ड इन्क्रिप्सन सुविधा नदिने बताएको थियो । 

बलियो इन्क्रिप्सनले निःशूल्क कलहरुको डेटा एक्सेस गर्न अनुसन्धानमा संलग्न प्रहरी लगायतका निकायहरुलाई अप्ठ्यारो बनाउने तर्क कम्पनीले गरेको थियो । जूमले एपको सुरक्षालाई लिएर आलोचना बढ्दै गएपछि इन्ड टु इन्क्रिप्सन सुविधा ल्याएको हो ।

जूमले मिटिङको डेटामाथि निगरानी नराख्ने र जानकारीहरु अन्य निकायसँग सेयर नगर्ने तर बाल यौन दुराचार सम्बन्धी घटनाहरुको जानकारी भने अनुसन्धान निकायहरुसँग सेयर गर्ने कम्पनीका प्रवक्ताले बताएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१