close

फेक लाइक बिक्री गर्ने साइटविरुद्ध फेसबुकको मुद्दा, प्रयोगकर्ताको डेटा चोरी गरेको आरोप

टेकपाना टेकपाना

असार ५, २०७७ १५:९

फेक लाइक बिक्री गर्ने साइटविरुद्ध फेसबुकको मुद्दा, प्रयोगकर्ताको डेटा चोरी गरेको आरोप

एजेन्सी । फेसबुकले यसै साता दुई वेबसाइटका सञ्चाकहरु विरुद्ध मुद्दा दायर गरेको छ । ती वेबसाइटहरुले इन्स्टाग्रामको लाइक बेचेको र फेसबुक प्रयोगकर्ताहरुको पासवर्ड र जानकारीहरु चोरी गरेको फेसबुकको आरोप छ । 

विगत डेढ वर्षदेखि फेसबुकले श्रृंखलाबद्ध रुपमा विभिन्न कम्पनीहरुमाथि मूद्दा दायर गर्दै आइरहेको छ । फेसबुकले सबैभन्दा पहिले स्पेनको मड्रिडमा पहिलो मूद्दा दर्ता गरेको थियो । 

त्यस बेला कम्पनीले स्पेनको स्थानीय कम्पनी एमजीपी २५ साइबरिन्ट सर्भिस विरुद्ध मूद्दा दायर गरेको थियो । उक्त कम्पनीले पनि इन्स्टाग्रामको लाइक र कमेन्ट बेचेको फेसबुकको आरोप थियो ।

प्लेटफर्म इन्फरमेसन तथा लिटिगेसनका निर्देशक जेसिका रोमेरोका अनुसार एमजीपी २५ साइबरिन्ट सर्भिसले इन्स्टाग्रामको आधिकारिक एपको नक्कल गरेर भ्रामक संलग्नतालाई रोक्न फेसबुकले लागु गरेको प्रतिबन्धलाई तोडेर इन्स्टाग्रामको सिस्टममा कनेक्ट गराएको थियो । 

त्यस्तो गैरकानूनी गतिविधिलाई रोक्न धेरैपटक पत्र पठाइए पनि सो कम्पनीले फाइदाका लागि आफ्नो गतिविधिलाई निरन्तरता दिएको थियो । 

त्यस्तै फेसबुकले अमेरिकामा दोस्रो मूद्दा दायर गरेको थियो  । उसले मासरुट एट डट कमका स्वामित्वकर्ता मोहम्मद जाघर विरुद्ध सान फ्रान्सिस्कोको एउटा अदालतमा मूद्दा दायर गरेको थियो । 

उक्त वेबसाइटले एकैपटकमा धेरैओटा फेसबुक अकाउन्टहरुलाई व्यवस्थापन गर्न प्रयोगकर्ताहरुलाई मद्दत गर्दथ्यो । तर जाघरको सो सेवाले प्रयोगकर्ताले एकपटक अकाउन्ट साइनअप गरेपछि उनीहरुको पासवर्ड चोरी गर्दथ्यो ।

फेसबुकका अनुसार जाघरले ती पासवर्ड प्रयोग गरेर गोप्य रुपमा प्रयोगकर्ताको अकाउन्टमा पहुच बनाउँथ्यो । साथै प्रयोगकर्ताका साथीहरुको डेटा समेत संकलन गर्दथ्यो । 

अदालती दस्तावेज अनुसार जाघरको कम्पनीले ५५ सयभन्दा धेरै अकाउन्टहरुमा एक्सेस पाइसकेको थियो । त्यस्तो गतिविधिले कम्प्युटर जालसाँझी तथा दुरुपयोग ऐनको उल्लंघन गरेको आरोप लागेको थियो ।

उक्त ऐनले अमेरिकामा ह्याकिङ अपराधहरुलाई नियमन गर्दछ । जाघरको सेवा आजसम्म पनि निरन्तर छ । मासरुट एट सञ्चालन गर्नु अघि जाघरले फास्ट लाइकर्स डट कम र फास्ट अटो लाइकर्स डट कम समेत सञ्चालन गरेको थियो ।

ती दुई साइटले फेसबुको लाइक र फलोअरलाई बिक्री गर्दै आएको थियो । फेसबुकले २०१९ यता विभिन्न कम्पनीहरुमाथि मूद्दा दायर गर्दै आइरहेका छ ।

यीमध्ये अधिकांश  एप डेभलपर र वेबसाइट ‌अपरेटर छन् । यस्ता कम्पनीहरुले प्रयोगर्कताको अकाउन्टमा माल्वेयर इन्जेक्ट गरेर डेटाहरु चोरी गरेका थिए । 

मूद्दा दायरको छोटो विवरण यहाँ छ 

  • मार्च २०१९ : फेसबुकले युक्रेनको ब्राउजर एक्स्टेन्सन निर्माता ग्लेब स्लचभेस्की र एन्ड्रे गोर्बाचोभविरुद्ध डेटा चोरी गरेको आरोपमा मूद्दा दायर गरेको थियो । 
  • मे २०१९ : फेसबुकले र्‍यांकवेब नामक दक्षिण कोरियाली कम्पनीमाथि विज्ञापन प्लेटफर्मको नियम उल्लंघन गरेको र फेसबुक अडिटको पालना नगरेको आरोपमा मूद्दा दायर गरेको थियो ।
  • अगस्ट २०१९ : एडभर्टाइजिङ क्लिक फ्रडको आरोपमा फेसबुकले दुई एन्ड्रोइड एप डेभलपर  लायनमोबी र जेडीमोबि विरुद्ध मूद्दा दर्ता गराएको थियो ।
  • अक्टोबर २०१९: फेसबुकले इजरायली सर्भिलेन्स भेन्डर कम्पनी एनएसओ ग्रुपविरुद्ध मूद्दा दायर गरेको थियो । सो कम्पनीमाथि ह्वाट्सएप जिरो डे डेभलप गरेको र बेचेको आरोप थियो । मे २०१९ मा न्यायाधिवक्ता, पत्रकार, मानव अधिकार अभियान्ता, राजनीतिक रुपमा असन्तुष्ट समूह, कूटनीतिज्ञ र सरकारी अधिकारीहरुमाथि हमला गर्न जिरो डे प्रयोग भएको थियो । 
  • डिसेम्बर २०१९ : फेसबुकले आईलाइक एड र दुई चिनियाँ नागरिकमाथि फेसबुकको एड प्रयोग गरेर माल्वेयर डाउनलोड गराएको आरोपमा मूद्दा दायर गरेको थियो ।
  • फेब्रवर २०२० : फेसबुकले वान अडियन्स माथि मूद्दा दायर गरेको थियो । सफ्टवेयर डेभलपमेन्ट किट निर्माण गर्ने सो कम्पनीले गोप्यरुपमा फेसबुक प्रयोगकर्ताहरुको डेटा संकलन गर्दथ्यो । 
  • मार्च २०२०: फेसबुकले नेमचिप कम्पनीविरुद्ध मूद्दा दायर गरेको थियो । फेसबुक ब्राण्डको नक्कल गर्दै यो साइटले मालिसियस डोमेन दर्ता गराएको थियो ।
  • अप्रिल २०२०: फेसबुकले लिडक्लाकविरुद्ध मूद्दा दायर गरेको थियो । सो कम्पनीले कोभिड १९ सम्बन्धी फर्मास्युटिलक्स, डाइट पिल्स जस्ता स्क्यामलाई प्रचार गर्ने सफ्टवेयर प्रदान गर्दथ्यो । 
  • जुन २०२०: फेसबुकले १२ भन्दा धेरै डोमेनमाथि हस्तक्षेप गर्नुका साथै त्यसलाई खुलासा गरेको थियो । ती डोमेनहरुले फेसबुक ब्राण्ड प्रयोग गरेर फेसबुक प्रयोगकर्ताहरुलाई स्याक पठाएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१