close

देशभर ५० जिल्लामा पुग्यो ब्रोडब्यान्ड इन्टरनेट, अहिलेसम्म एक अर्ब ६० करोड खर्च

टेकपाना टेकपाना

असार ६, २०७७ ९:३५

देशभर ५० जिल्लामा पुग्यो ब्रोडब्यान्ड इन्टरनेट, अहिलेसम्म एक अर्ब ६० करोड खर्च

काठमाडौं । देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत जेठमसान्तसम्म ५० जिल्लामा यसको पहुँँच पुगेको छ । प्राधिकरणका अनुसार यसमध्ये पनि ४१ जिल्लाहरुमा शतप्रतिशत र बाँकी ९ जिल्लाहरुमा ५० प्रतिशत काम पुरा भएर इन्टरनेट सेवा सञ्चालनमा आइसकेको छ ।

प्राधिकरण अन्तर्गको ग्रामिण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी प्राधिकरणले देशैभर ब्रोडब्यान्ड नेटवर्क विस्तारको काम गरिरहेको छ । यो परियोजना अन्तर्गत कुल १८ प्याकेजमा छुट्याएर नेटवर्क विस्तारको काम भइरहेको छ ।

पहिलो ११ प्याकेज अन्तर्गत ४१ जिल्लामा ब्रोडब्यान्ड नेटवर्क विस्तार भएर इन्टरनेट सञ्चालनमा आइसकेको हो । त्यसपछि दुई ओटा प्याकेज अन्तर्गत ९ जिल्लामा ५० प्रतिशत काम सम्पन्न भएर सेवा सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।

तीन ओटा प्याकेज अन्तर्गतका १४ जिल्लाहरुका लागि सेवा प्रदायक छनौट भएर नेटवर्क निर्माणका काम भइरहेको प्राधिकरणले जनाएको छ । बाँकी दुई ओटा प्याकेज अन्तर्गतका नौ ओटा जिल्लाहरुमा सेवा प्रदायक छनौटको काम भइरहेको पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सेवा प्रदायक छनोट गर्न बाँकी रहेका नौ जिल्लाहरु बाहेक बाँकी सबै जिल्लामा ब्रोडब्यान्ड नेटवर्क विस्तारका लागि ४ अर्ब ४८ करोड ५६ लाख रुपियाँ बराबरको रकम सम्झौता गरिसकेको छ । यसमध्ये अहिलेसम्म एक अर्ब ६० करोड ७० लाख रुपियाँ भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ ।

कोष अन्तर्गतको रकम परिचालन गरेर देशभरका स्थानीय निकायको कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थासम्म इन्टरनेट पुर्याउने लक्ष्य यो परियोजनाको छ । कुल १८ प्याकेज अन्तर्गत यी सबै स्थान गरी १६ हजार ६०१ साईट संख्या हुने प्राधिकरणको अनुमान छ । प्राधिकरणका अनुसार अहिलेसम्म इन्टरनेट जडान गर्नुपर्ने ७ सय १ स्थानीय निकायका कार्यालयमध्ये ४ सय ३१ ओटा कार्यालयमा इन्टरनेट जडान भइसकेको छ ।

त्यस्तै ५ हजार ९ सय ५२ ओटा वडा कार्यालयमा इन्टरनेट जडान गर्नुपर्नेमा जेठ मसान्तसम्म ३ हजार ६ सय १२ वडा कार्यालयमा इन्टरनेट जडान भएको छ । ५ हजार ५ सय ९७ माध्यमिक विद्यालयमा इन्टरनेट जडान गर्नुपर्नेमा हालसम्म २ हजार ९ सय ४८ विद्यालयमा जडान भएको छ । ४ हजार ३ सय ४१ स्वास्थ्य संस्थामा इन्टरनेट जडान गर्नुपर्नेमा २ हजार ५ सय ४६ संस्थामा जडान भएको छ ।

इन्टरनेट जडान गर्नुपर्ने अनुमानित साइटको आधारमा अहिलेसम्म ५७.४५ प्रतिशत स्थानमा इन्टरनेट जडान भएको प्राधिकरणले जनाएको छ । सम्झौता नै भइसकेका परियोजनाका आधारमा भने इन्टरनेट जडानको प्रगति ७०.८३ प्रतिशत पुगेको प्राधिकरणको तथ्यांक छ ।

सेवा प्रदायकहरुको आम्दानीबाट बार्षिक दुई प्रतिशत रकम प्राधिकरणको उक्त कोषमा राख्नुपर्ने प्रावधान छ । सोही कोष अन्तर्गत जम्मा भएको रकमबाट प्राधिकरणले देशैभरु ब्रोडब्यान्ड नेटवर्क तथा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने जस्ता ठूला परियोजना अघि बढाएको छ ।

ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजना अन्तर्गत छनौट भएका सेवा प्रदायकले सम्झौता भएको दुई बर्षभित्र काम सम्पन्न गर्नुपर्ने र दुई बर्षका लागि तोकिएको स्थानमा निःशूल्क इन्टरनेट दिनुपर्ने व्यवस्था छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१