close

एनसेलले लकडाउनको २ महिनामै गुमायो ९ लाख ग्राहक

टेकपाना टेकपाना

असार १२, २०७७ १२:४९

एनसेलले लकडाउनको २ महिनामै गुमायो ९ लाख ग्राहक

काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले दुई महिनाको अवधिमा करिब नौ लाख प्रयोगकर्ता गुमाएको छ । कम्पनीले कोरोना भाइरसको महामारी सुरु भए यताको दुई महिनाको अवधिमा कूल ८ लाख ७९ हजार ६८७ प्रयोगकर्ता गुमाएको हो । 

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार गत फागुन मसान्तमा एनसेलका प्रयोगकर्ता एक करोड ७१ लाख ७१ हजार ६७५ प्रयोगकर्ता रहेकोमा वैशाख मसान्तसम्म आइपुग्दा एक करोड ६२ लाख ९१ हजार ९९७ मा सीमित भएको हो । 

मोबाइल प्रयोगकर्तासँगै कम्पनीको फोरजी तथा थ्रीजी डेटा प्रयोग गर्ने ग्राहकको संख्यामा पनि उल्लेख्य रुपमा गिरावट आएको छ । कम्पनीले यस अवधिमा थ्रीजीमा दुई लाख १७ हजार ३२० र फोरजीमा ८२ हजार ४४३ गरी कूल दुई लाख ९९ हजार ७६३ मोबाइल इन्टरनेट प्रयोगकर्ता गुमाएको हो । 

त्यसो त अर्को निजी मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट सेलले समेत भारी मात्रामा मोबाइल इन्टरनेट प्रयोगकर्ता गुमाएको छ । दुई महिना अघि कम्पनीका फोरजी प्रयोगकर्ता दुई लाख ९० हजार ३९२ रहेकोमा वैशाख मसान्तसम्म आइपुग्दा एक लाख छ हजार २२ मा सीमित भएका छन् । यद्यपी कम्पनीको भ्वाइस सेवा प्रयोग गर्नेको संख‍या भने २५ हजार १९१ ले बढेको छ ।

तर सरकारी स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भने यस अवधिमा उल्टै ग्राहक संख्या बढाउन सफल भएको छ । प्राधिकरणका अनुसार दुई महिनाको अवधिमा कम्पनीको जीएसएम मोबाइल सेवा प्रयोग गर्नेको संख्या सात लाख २० हजार १८२ ले बढेको छ ।  त्यस्तै कम्पनीको थ्रीजी सेवाका प्रयोगकर्ता ३६ हजार ९०१ तथा फोरजी प्रयोगकर्ता २०६ को संख्यामा बढेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३