close

प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश मोबाइल एपमा, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

असार १७, २०७७ १४:५२

प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश मोबाइल एपमा, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । भाषा सबैका लागि एउटा महत्वपूर्ण चिनारी हो । त्यसैले त भाषामा प्रयोग हुने शब्दका आ-आफ्नै अर्थ हुन्छन् ।

त्यसो त एउटै शब्दले पनि समय र सन्दर्भ अनुसार फरक भाव बोकिरहेको हुन्छ । यस्तो अवस्थामा सञ्चारको पूर्णताका लागि समेत शब्दको अर्थ बुझ्नु सबैका लागि महत्वपूर्ण विषय हुन जान्छ ।

नेपालजस्तो बहु जाती, भाषा, धर्म र संस्कृति भएको देशमा भाषा र त्यसमा प्रयोग हुने शब्दले छुट्टै महत्व राख्छ । यहाँ समुदाय अनुसार कतिपय शब्दले दिने भाव पनि फरक फरक हुनपुग्छ । त्यसैले त नेपालको शब्दभण्डार नै ठूलो छ ।

नेपालमा प्रयोग हुने शब्दको संख्या लाखौंमा छ । यीनै शब्दहरुको संकलन गरेर नेपाल प्रज्ञा प्रतिष्ठानले विक्रम सम्बत् २०४० सालदेखि नेपाली बृहत् शब्दकोश प्रकाशन गर्दै आएको छ । जुन नेपाली भाषाको आधिकारिक शब्दकोश समेत हो ।

यो शब्दकोश समयक्रमसँगै विभिन्न चरणमा संशोधन, परिमार्जन र पुनःमुद्रण हुँदै १० औं संस्करणमा आइपुगेको छ । प्रतिष्ठानका अनुसार हालसम्म यसमा ६५ हजार भन्दा बढी शब्द रहेका छन् । यसको मुद्रण प्रति नै ६० हजारभन्दा बढी बिक्री भइसकेको छ ।

यसरी लोकप्रियता बटुलेको शब्दकोशलाई पाठकमाझ सहज तथा निःशूल्क रुपमा पुर्‍याउने उद्देश्यका साथ प्रतिष्ठानले मोबाइल एप तयार पारेको छ । नयाँ यात्रा प्रालिको प्राविधिक सहयोगमा प्रतिष्ठाले विकास गरेको शब्दकोश गूगल प्ले स्टोरमा सार्वजनिक भइसकेको छ ।

पूर्णतः अफलाइन प्रयोग गर्न सकिने याे एपमार्फत प्रयोगकर्ताले सहज रुपमा शब्दहरु खोज्न र त्यसको अर्थ थाहा पाउन सक्नेछन् । त्यसका लागि वर्ण सूची र सङ्केत सूची पनि उपलब्ध गराइएको छ ।

अ, आ, इ, ई, क, ख, ग, घ जस्ता वर्ण सूचीमार्फत प्रयोगकर्ताले उक्त वर्णबाट आउने शब्दहरुको खोजी गर्न सक्ने गरी एप डिजाइन गरिएको छ । साथै तपाईंले सङ्केत सूचीमार्फत संकेतको अर्थ समेत थाहा पाउन सक्नुहुन्छ ।

यतिसम्म कि तपाईंले खोज्नुभएको शब्द फेला परेन भने त्यससँग मिल्दोजुल्दो सब्दहरु समेत तपाईंलाई एपले नै सजेस्ट गर्नेछ । यदि तपाईंले खाेज्नु भएकाे शब्द शब्दकोशमा फेला नपरेकाे अवस्थामा अपुग शब्दहरु समेट्ने सुझाव समेत दिन सक्नुहुन्छ ।

यो एपमा हाल ६५ हजार भन्दा बढी शब्द रहेको उल्लेख गरिएको छ । एक महिना अघिमात्रै सार्वजनिक भएको यो एपमा सामयीक रुपमा नयाँ शब्दहरु थप्दै नयाँ नयाँ भर्सन सार्वजनिक गरिने प्रतिष्ठानले जनाएको छ । यो एप हाल एन्ड्रोइड भर्सनमा मात्रै उपलब्ध रहेकाे छ । आईओएसमा समेत चाँडै यो एप उपलब्ध हुने बताइएको छ ।

नेपाली बृहत् शब्दकोश एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३