close

यसरी तयार भयो, नयाँ पुस्ताको ‘नेपाली पात्रो’

रन्जन कोइराला रन्जन कोइराला

असार २३, २०७७ १९:५९

यसरी तयार भयो, नयाँ पुस्ताको ‘नेपाली पात्रो’

काठमाडौं । आजभन्दा १३ वर्ष अगाडिको समय । नेपालको प्रविधि बजारमा त्यति साह्रो चहलपहल पनि सुरु भइसकेको थिएन । मोबाइल र ल्यापटप भर्खर भर्खर भित्रिन थालेका थिए ।

तर बिगबिगी भने डेक्सटप कम्प्युटरकै थियो । यस्तोमा डिजिटल क्यालेन्डर अर्थात् पात्रो सायदै कसैले कल्पना गरेका थिए । तिथि मिति बार्नुपर्ने नेपाली समुदायका लागि पात्रो एउटा अभिन्न अंगजस्तै थियो । तर, पनि यसको सहज उपलब्धता भने थिएन ।

बजारमा ज्योतिषले सार्वजनिक गर्ने भित्ते पात्रो, कार्यालयमा सिमित हुने टेबल क्यालेन्डर र गोजीपात्रो नै विकल्पमा हाजिर थिए । तिथि मिति हेर्नुपर्दा पण्डितलाई सम्झिनु हिन्दू धर्मसम्प्रदायको बाहुल्यता रहेको नेपाली समाजको एउटा प्रचलनकै विषय थियो ।

बल्ल बल्ल बजारमा भित्रिन थालेका स्मार्टफोन र कम्प्युटहरुमा अंग्रेजी क्यालेन्डर मात्रै थिए । नेपाली तिथि र मितिका लागि हरेक महिना भित्तेपात्रोको पत्र पल्टाउनु नियमित तालिका जस्तै थियो । डिजिटल प्रविधि जीवनको अभिन्न अङ्ग बनिसक्दा यसले पछौटेपनको झल्को दिइरहेको थियो । बिरिजन महर्जन पनि यही समस्या भोगिरहेका थिए ।

वातावरण विज्ञान अर्थात इन्भाइरोमेन्टल साइन्सका विद्यार्थी थिए, महर्जन । तर, उनको रुची सधैं प्राविधिक विषयमै हुन्थ्यो । त्यही रुचीकै कारण उनी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकमा पीएचपी डेभलपरका रुपमा नियुक्त भए । स्वःअध्ययनले नै उनलाई सन् २००५ ताका आफ्नो रुची अनुसारको काम गर्ने अवसर दिलायो ।

महर्जन अनुभूत गर्छन्, ‘वर्ल्डलिंकमा पीएचपी डेभलपरको रुपमा काम गर्नु नै मेरा लागि आफूलाई उजागर गर्ने सबैभन्दा ठूलो मौका बन्यो ।’ काम सँगसँगै उनले आफ्नो स्वःअध्ययनलाई निरन्तरता दिँदै गए । ओराकलबाट सर्टिफिकेट सहितका विभिन्न कोर्षहरु पुरा गरे ।

त्यतिञ्जेल वर्ल्डलिङ्कमा जागिर गर्न थालेको पनि दुई वर्ष बितिसकेको थियो । ‘त्यस्तै सन् २००७ तिरको कुरा हो,’ उनी सम्झिन्छन्, ‘वर्ल्डलिंकमा काम गर्दैगर्दा आफ्नो व्यक्तिगत प्रयोजनका लागि क्यालेण्डरको डेट म्यापिङ सिस्टम बनाएको थिएँ । त्यसताका नेपालमा फेसबुक भर्खर भर्खर सुरु भएको थियो । मैले आफूसँग भएको डेट म्यापिङ सिस्टम प्रयोग गरी कम्प्युटरका लागि ‘साइडबार विजेट’ तयार गरें ।’ कम्प्युटरका लागि तयार भएको यही साइडबार विजेट नै नेपाली पात्रोको सुरुवात थियो ।

‘यो मैले मेरो व्यक्तिगत प्रयोजनका लागि बनाएको थिएँ । तर, विस्तारै साथीभाइहुँदै यो फैलिन थाल्यो र प्रयोगकर्ताको एउटा डेटावेश नै बन्न पुग्यो । धेरैतिरबाट सकारात्मक प्रतिक्रिया आउन थाले । त्यसपछि फेसबुकमै एउटा एप बनाएँ । त्यसबेला फेसबुकले आफ्नो फ्रेमवर्कमा रहेर साधारण एप बनाउन दिन्थ्यो । त्यसमा बनाएको एप पनि प्रयोगकर्ताले रुचाए । त्यतिबेलै यसका प्रयोगकर्ता हजारौंको संख्यामा थिए,’ उनी स्मरण गर्छन् ।

सन् २००९ मा मर्कण्टायल कम्युनिकेसनमा ‘नेपालीपात्रो डट कम डट एनपी’ नामक डोमेन दर्ता गरी वेबसाइट सार्वजनिक गरे । उक्त वेब भर्सनमा पनि प्रयोगकर्ता आकर्षित भए । बिरीजन भन्छन्, ‘प्रयोगकर्ताको मायाले गर्दा नेपाली पात्रोको काम छुटेन । यो जीवन उपयोगी छ भन्ने खालका प्रतिक्रिया आउन थाले । प्रयोगकर्ताबाट आएका त्यस्ता प्रतिक्रियाले हौस्याउँदै लग्यो । समग्रमा नेपाली पात्रोलाई आजसम्मको यात्रा तय गर्न प्रयोगकर्ताको मायाले नै सघाएको हो ।’

वेब भर्सनमा पनि प्रयोगकर्ताको उल्लेख्य सहभागीता हुन थालेसँगै उनले मोबाइल एप बनाउने परिकल्पना गरे । यो त्यस्तै सन् २०११ तिरको कुरा हो । जुन समयमा एन्ड्रोइड फोन भर्खरै मात्र नेपाल भित्रिएका थिए ।

बिरीजन सम्झिंदै भन्छन्, ‘नेपालमा त्यतिबेला एचटीसीको एन्ड्रोइड फोन राम्रो बिक्री भइरहेको थियो । एन्ड्रोइड फोनले पाएको लोकप्रियताले गर्दा मोबाइल एप अबको भविष्य हो भन्ने बुझाईबाट नै नेपाली पात्रोको एप तयार भयो ।’

पहिलो पटक सार्वजनिक भएको उक्त एप एन्ड्रोइड १.६ मा आधारित थियो । विस्तारै स्मार्टफोनको प्रयोग बढ्दै जाँदा नेपाली पात्रो प्रयोग गर्नेको संख्या दिनानुदिन बढ्दै गयो । यो मान्छेको युटिलिटी एपको रुपमा स्थापित हुँदै गयो । नेपाली पात्रोको एप यसरी हरेक नेपालीले स्मार्टफोन किन्ने बित्तिकै डाउनलोड गर्ने एप बन्यो ।

तर आईओएस एपका लागि भने सन् २०१३ सम्म नै कुर्नुपर्‍यो । आईओएसमा एप उपलब्ध भएसँगै विभिभन्न युटिलिटी फिचरहरु थपिँदै गए । ‘सुरुमा क्यालेण्डर मात्रै थियो,’ उनी भन्छन्, ‘हामीले म्याकको लागि स्टाटस बार युटिलिटी, क्रोमको एक्सटेन्सन, विन्डोजको ग्याजेट लगायतका फिचरहरु थप्दै गयौं । प्रयोगकर्ताको संख्या उच्च थियो । ग्रोथ रेट पनि उल्लेख्य थियो ।’

उनी वर्ल्डलिंकमा सर्भर कसरी मेन्टेन गर्ने, कसरी एपीआई मिलाउने भन्ने सबैकुरा नियमित रुपमै काम गरिरहेका थिए उनले । जुन कुरा साइड बाई साडड उनले नेपाली पात्रोमा पनि प्रयोग गरिरहेका थिए । कहिले कुन साथीलाई त कहिले अरु कसैलाई काम लगाएर जसोतसो नेपाली पात्रो व्यवस्थापन भइरहेको थियो ।

यसैबीच उनले आईटीमा स्नातकोत्तर पुरा गरे । मास्टर्स सकिएको केही समयसम्म त उनले वर्ल्डलिंकमै बिताए । झन्डै ११ वर्षे वर्ल्डलिंकसँगको उनको यात्रामा सन् २०१६ मा आएर पूर्ण बिराम लाग्यो । त्यसपछिका दुई वर्ष उनले एसियन डेभलपमेन्ट बैंक (एडीबी) को आईटी विज्ञको रुपमा भन्सार विभागमा बिताए ।

यो समयमा पनि नेपाली पात्रोलाई परिमार्जन गर्ने काम निरन्तर चलिरहेकै थियो । उनी भन्छन्, ‘एडीबीसँगको दुई वर्षे यात्रा सकिएसँगै मेरो जागिरे यात्राको अन्त्य भयो ।’ अब भने उनी के गर्ने भन्ने योजना बुनिरहेका थिए । नेपाली पात्रो बिक्री गरेर करौडौं आम्दानी गर्ने अवसर पनि जुटेको थियो । ‘कि त हामीलाई बच्नुस्, कि त विज्ञापन राखेर अघी बढाउनु भन्ने किसिमका धेरै अफरहरु आए,’ उनी सम्झिन्छन्, ‘तर आफूले हुर्काएको यो प्लेटफर्मलाई त्यसै बेचेर हिड्न सक्ने आँट कहिलै आएन ।’

उनी आफू प्रविधिमा झुकाव राख्ने भएकाले यसलाई प्राविधिक रुपमा कसरी उत्कृष्ट बनाउने भन्ने कुरा सोचिरहन्थे । तर बजारिकरणको विषय भने उनले कहिल्यै सोचेनन् । ढिलै भए पनि नेपाली पात्रोलाई व्यावसायिक रुपमा अघि बढाउने प्रस्ताव उनका साथीबाट आउन थाल्यो ।

यसरी अन्ततः दुई वर्षअघि जिनियस सिस्टम प्रालिको नाममा कम्पनी दर्ता भयो । त्यसै कम्पनी अन्तर्गत रहने गरी नेपाली पात्रोले नयाँ यात्रा सुरु गरेको छ ।

नेपाली पात्रोका पछिल्ला दुई वर्ष

दुई वर्ष अघिसम्म पनि नेपाली पात्रोलाई व्यावसायिक रुपमा अघि बढाउन बिरीजनसँग कुनै योजना थिएन । उनी भन्छन्, ‘तर, ५० लाखभन्दा बढी डाउनलोड र ११ लाखको हाराहारीमा सक्रिय प्रयोगकर्ता रहेको एपलाई एउटा स्वरुप दिनुपर्छ भन्ने चाहिँ उनलाई खड्किरहन्थ्यो ।’ तर, पात्रोको अस्तित्वमाथि खेल्न भने उनी चाहन्थेनन् । भन्छन्, ‘हामी चाहान्थ्यौं, प्रयोगकर्तालाई हामीले दिएको फिचरले सन्तुष्ट बनाउन सकोस् । त्यसैअनुसार पछिल्ला दुई वर्षमा धेरै काम भएका छन् ।’

नेपाली पात्रोले तिथिको आधारमा प्रयोगकर्तालाई जानकारी दिने सिस्टम विकास गरेको छ । जुन नेपालको परिवेशमा नवीनतम् प्रयास हो । अहिले कसैको घरमा श्राद्धको बारेमा जानकारी लिनुपर्‍यो भने हरेक पल्ट पण्डितसँग सरसल्लाह गर्नुपर्ने हुन्छ ।

तर अब नेपाली पात्रोको एपमा गएर आफ्ना पूर्वजको श्राद्धको तिथि मिलाएर राखेको खण्डमा वर्षाैंसम्म पात्रोले नै सम्झाउने छ । यो फिचर सुरु भएको केवल एक वर्ष मात्रै बितेको छ ।

बिरीजन भन्छन्, ‘हामी प्राविधिक मान्छे, तिथिको गणना र हिसाव किताब हामीबाट हुने कुरा होइन । विभिन्न गुरुहरुसँगको छलफलपछि त्यसलाई तयार पारेका हौं । यसबाट हाम्रो ब्याक ईण्डमा एउटा खालको डेटा तयार भएको छ । त्यसैमा रहेर सहजै तिथि मितिको हिसाब किताब गर्न सक्ने सिस्टम विकास गरेका छौ ।’

नेपाली पात्रो लोकप्रिय हुनुको अर्को महत्वपूर्ण कारण हो राशिफल । त्यसैले अझ परिस्कृत गरिएको छ । नेपाली पात्रोमा उपलब्ध जानकारीमूलक लेख, रचना, सूचना समेत प्रयोगकर्ताले रुचाएका विषय हुन् ।

अहिले विभिन्न अनलाइन साइटमा प्रकाशित समाचार समेत उपलब्ध गराउँदै आएको नेपाली पात्रोले आगामी दिनमा थप व्यवस्थित बनाउँदै लैजाने योजना बनाएको छ । ‘तर, कुन मिडियाको समाचार दिने वा नदिने भन्ने विषय चाहिँ समाचार प्रदायकको न्युज अडिट गरेरमात्रै निर्धारण गर्छाै,’ बिरीजन भन्छन्, ‘यसको उद्देश्य नेपाली पात्रोमा आएका सूचना सही र विश्वसनीय हुन् भन्ने धारणा विकास गर्नु हो ।’

अझ प्रयोगकर्तामाझ समाचार पस्किने शैलिमा पनि आमुल परिवर्तन ल्याउने योजना नेपाली पात्रोले बनाएको छ । यो दुई वर्षको बीचमा समाचार डेलिभरीको हिसाबले नेपाली पात्रोमा निकै ठूलो काम भएको छ । अब उपलब्ध हुने नयाँ भर्सनको एपले नेपालको समाचार बजारलाई नै ‘बूम’ गराउने बिरीजनको विश्वास छ ।

उनी भन्छन्, ‘आज प्रयोगकर्ताले खेलकुद, अर्थसँग सम्बन्धित समाचार पढेका छन् भने भोलिबाट त्यस्ता प्रयोगकर्तालाई सोही अनुसारका समाचारहरु सजेस्ट गर्ने खालको सिस्टम तयार पारेका छौं । यसले प्रयोगकर्तालाई आफ्नो रुचीका आधारमा समाचार प्राप्त गर्न सहज हुने आशा हामीले लिएका छौं ।’

प्रयोगकर्ताबाट नै नेपाली पात्रोमा विभिन्न किसिमका फिचर थप गर्न सुझावहरु आउँछन् । तर सबैलाई समेट्न सक्ने अवस्था भने हुँदैन । प्रयोगकर्ताको सुझावअनुसार नै ज्योतिष शास्त्रको विषयमा परामर्श सेवा सुरुवात गर्ने योजना छ ।

सब्क्रिप्सन मोडलमा सेवा दिने अर्को नयाँ योजना पनि बिरीजनले सुनाए । ‘यदि कुनै प्रयोगकर्ताले विज्ञापन हेर्न चाहँदैनन् भने उनीहरुलाई विज्ञापन रहित कन्टेन्ट हेर्ने विकल्प दिनुपर्छ भन्ने हाम्रो उद्देश्य हो,’ उनी प्रस्ट्याउँदै भन्छन्, ‘ जुन हाम्रा लागि आम्दानीको एउटा सानो स्रोत समेत बन्न सक्छ ।’

अर्को असीमित समयसम्मको पंचाङ्ग हेर्न सकिने फिचर भने उपलब्ध भइसकेको छ । उदाहरणका लागि नेपाल पञ्चाङ्ग समितिले हरेक वर्ष एक वर्षको पात्रोको पुष्ट्याईं गर्छ ।

‘तर, हाम्रो सिस्टमले २०७८ सालको पञ्चाङग समेत अहिले नै देखाउँछ । त्यसमा यो पञ्चाङ्ग समितबाट पुस्टी भएको छैन भनेर जानकारी गराइन्छ,’ उनी भन्छन्, ‘पञ्चाङ्ग समितिले सार्वजनिक गर्ने पात्रो र हाम्रो सिस्टममा ठूलो अन्तर हुँदैन । हाम्रो बेञ्चमार्क अनुसार पञ्चाङ्गमा केवल तीन मिनेटको फरक पर्छ । जब पञ्चाङ्ग समितले नयाँ निर्णय गर्छ हामी त्यसमा सानो अपडेट गरेर तुरन्तै मिलाएर प्रयोगकर्तालाई उपलब्ध गराउँछौं ।’

साथै अर्को फिचरको रुपमा प्रायोगकर्ताले आफ्नो क्यालेन्डर बनाउन सक्ने सुविधा पनि नेपाली पात्रोले दिएको छ । विश्व परिवेशमा यो पुरानै कुरा भए पनि नेपालको परिवेशमा भने एउटा नयाँ आयाम हो । यदि कुनै कम्पनी अथवा बैंकले नेपाली पात्रोमा गएर क्यालेन्डर बनाएर सब्स्क्राइब गराउन सक्छन् । जुन अहिले निःशूल्क रुपमा उपलब्ध छ ।

यी सबै फिचर सहितको बेटा भर्सन अहिले सीमित प्रयोगकर्तालाई उपलब्ध गराइएको छ । आएको प्रतिक्रियाका आधारमा त्यसमा आवश्यक परिमार्जन सहित पहिलो चरणमा दुई हजार प्रयोगकर्ता र दोस्रो चरणमा सबै प्रयोकगर्तालाई उपलब्ध गराउने नेपाली पात्रोको योजना छ ।

‘यो सबै टिममा काम गर्दा प्राप्त भएको उपलब्धी हो,’ बिरीजन सहकर्मीसँग अनुग्रहित हुँदै भन्छन्, ‘सायद पहिले जस्तै म एक्लै हुन्थें भने, यति धेरै गर्न सम्भव थिएन ।’

नेपाली पात्रोले कसरी कमाउँछ पैसा ?

सन् २०१३ मा एन्ड्रोइड फोनको बजार बढ्दै जाँदा धेरै कम्पनीले नेपाली पात्रो खरिद गर्ने प्रस्ताव गरेका थिए । बिक्री नगर्ने भए विज्ञापन राख्न सुझाव पनि सँगसँगै आएको थियो । त्यससँगै नेपाली पात्रोले केही कम्पनीका विज्ञापन राख्न सुरु गरेको थियो ।

बिरीजन सम्झिन्छन्, ‘त्यसपछि आम्दानीका केही स्रोतहरु सिर्जना हुन थाले । तर, यसैबाट सस्टेन हुने योजना भने थिएन । नेपाली पात्रो कम्युनिटी एप भएकाले यसलाई कम्युनिटी एपकै रुपमा राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । हामी चाहन्छौं नेपाली पात्रोलाई प्रयोगकर्ताले आफ्नै क्यालेन्डरको रुपमा चिनुन् ।’

त्यसैले उनी पैसा आएर एप राम्रो बनाउने भन्दा एप राम्रो बनाएर पैसा आओस् भन्ने चाहान्छन् । जथाभावी सामग्री राख्दा एपको आवश्यकता र महत्व नै बिग्रिन सक्नेतर्फ नेपाली पात्रोको टिम सचेत छ । ‘त्यसैले हामी नेपाली पात्रोलाई पात्रोसँग सम्बन्धित नेपाली कला र संस्कृतिसँग जोडिरहेका छौं । नेपाली समुदायअनुसार यो एपलाई कसरी ढाल्न सकिन्छ भनेर काम गरिरहेका छौं ।’

आउँदा दिनमा समुदायअनुसार संस्कृति तथा चिनारी झल्किने सामग्री समेत पस्किने नेपाली पात्रोको योजना छ । अहिले कम्पनीमा ४५ जना डेभलपर कार्यरत छन् । सँगसँगै उनीहरुको खर्च धान्न जिनियस सिस्टममार्फत सफ्टवेयर निर्माण गर्ने काम गर्दै आएको छ । नेपाली पात्रोको टिमले आउट सोर्सिङमा सेवा दिने कार्य समेत गरिरहेको छ ।

आईपी टीभीका लागि आवश्यक प्ल्येटफर्म बनाएर सेवा पनि दिँदै आएको छ । जसको प्रयोग नेपालमा नेट टीभी लगायतका सेवा प्रदायकले गरिरहेका छन् । यसलाई विदेशमा समेत उपलब्ध गराउने तयारीमा बिरीजनको टिम सक्रिय छ । उनी अगाडि भन्छन्, ”सँगसँगै हामीले स्मार्ट टीभीका एप्लिकेसनहरु पनि विकास गरिरहेका छौं । तिनै हाम्रा आम्दानीका स्रोत हुन् ।’

प्रयोगकर्ताको जानकारी संकलनको प्रश्न ?

आफूहरुले ग्राहकलाई जानकारी दिएरै ईमेल आईडी भने राख्ने गरेको बिरीजन बताउँछन् । ‘त्यस बाहेक हामीले अरु कुनै पनि जानकारी लिने गरेको छैनौं,’ उनी भन्छन्, ‘रुची अनुसारका समाचार पठाउन सकिने फिचरको विषयमा मोबाइलमै भएको डेटाले काम गर्ने हो । यदि तपाईंले मोबाइलको क्यास एक पटक डिलिट हान्नु भयो भने तपाईंको समाचारको रेकर्ड मेटिन्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३