close

ग्यापुको भर्चुअल बार सञ्चालनमा आउँदै, एक घण्टामै डेलिभरी

टेकपाना टेकपाना

असार २४, २०७७ १३:१५

ग्यापुको भर्चुअल बार सञ्चालनमा आउँदै, एक घण्टामै डेलिभरी

काठमाडौं । लकडाउन सँगै सञ्चालनमा आएको ई–कमर्स कम्पनी ग्यापु मार्केटप्लेसले जी–बार सञ्चालनमा ल्याउने भएको छ । अल्कोहल र तयारी खाजा चौबीसै घण्टा डेलिभरी सुविधाका साथ कम्पनीले बिहीबारदेखि जी-बार खुल्ला गर्ने भएको हो ।

लकडाउनका कारण बार तथा रेस्टुरेन्ट बन्द भएको समयमा ग्राहकहरुलाई सेवा दिन कम्पनीले ‘भर्चुअल बार’ सञ्चालनमा ल्याएको हो । ग्यापु मार्केटप्लेसका संस्थापक ज्ञानेन्द्र खड्काले जी–बारको सेवा हप्तामा सातै दिन र चौबीसै घण्टा रहने खड्काले जानकारी दिएका छन् ।

ग्राहकले अर्डर गरेको एक घण्टामा घरमै डेलिभरी दिइने बताइको छ । जी–बार वास्तवमा एउटा भर्चुअल बार हो । जहाँ ग्राहकले घरमै मेनु पाउनेछन् र आफूलाई आवश्यक सामग्री ग्यापु डटकम बाट सोझै अर्डर गर्न सक्नेछन् ।

सहजताका लागि फेसबुक च्याट (कम्पनीको फेसबुक पेज) र ९८०१८५५५४९ मा फोन तथा ह्वाट्सएप म्यासेज गरेर समेत अर्डर गर्न सकिने उल्लेख छ । जी–बारमा ओपनिङ अफर अन्तर्गत २५ र २६ गते एक हजार दुई सयभन्दा माथिको खरिद गर्ने सबै ग्राहकलाई दुई सय रुपैँया बराबरको सपिङ भौचर प्रदान गरिने कम्पनीले जनाएको छ ।

विभिन्न ब्राण्डका अल्कोहल, चिसो पेय पदार्थ, कक्टेल, मोक्टेल, हुक्कासँगै तयारी खाजामा मःमः, सुकुटी फ्राइ, बफर चिकेन चिल्ली, फ्राइड राइस, बदाम साँधेको उपलब्ध हुनेछ । त्यस्तै लेज, कुर्कुरे, दालमोठ पनि डेलिभरी दिइनेछ ।

खड्काका अनुसार ग्यापु मार्केटप्लेस सुरु भएको ९० दिन भित्र नै १५ हजारभन्दा बढी सामानहरु घर घरमा डेलिभरी गर्न कमेवनफ सफल भएको छ । हाल सात हजारभन्दा धेरै सामान अनलाइनबाट सजिलै खरिद गर्न सकिन्छ । हरेक दिन पाँच सयभन्दा बढी नयाँ नयाँ सामान थप भइरहेको खड्काले बताए ।

ग्राहकले सामान खरिद गर्दा फोनपे, कनेक्ट आईपीएस, ई–सेवा, खल्ती, प्रभु पे र आईएमई पेबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् । डेलिभरिकै बेला बिश्वभरका कुनै पनि डेबिटर तथा क्रेडिट कार्ड स्वाइप गर्ने सुबिधा समेत उपलब्ध हुनेछ । साथै ग्राहकले डेलिभरीको समयमा नगद भुक्तानी समेत दिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३