close

टेलिकमले हरेक वडामा वाईफाई पुर्याउने, ल्याण्डलाइन फोनको पनि सुविधा

टेकपाना टेकपाना

असार २९, २०७७ १०:२१

टेलिकमले हरेक वडामा वाईफाई पुर्याउने, ल्याण्डलाइन फोनको पनि सुविधा

काठमाडौं  । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले बताए ।

वडामा रहेका टेलिकमको बीटीएस टावरमार्फत विशेष ‘डिभाइस’को प्रयोग गरेर वाईफाई सुविधा उपलब्ध गराउने टेलिकमको योजना छ । टेलिकमलाई उपलब्ध आठ सय र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी प्रयोग गरेर वाईफाई उपलब्ध गराइने कम्पनीका इन्जिनियर अमृत नेपालले जानकारी दिए । कम्पनीले वाईफाईसँगै फिक्स्ड टेलिफोन सेवा पनि समाहित गरेर उपलब्ध गराउने तयारी गरेको छ । संस्थागत प्रयोगकर्तालाई फिक्स्ड टेलिफोन उत्तिकै आवश्यक र महìवपूर्ण हुने भएकाले यससँगै त्यो सुविधा पनि हुनेछ, उनले भने ।

टेलिकमले आफ्ना संस्थागत प्रयोगकर्तालाई उपलब्ध गराउने डिभाइसमा टेलिफोनको छुट्टै पोर्ट हुनेछ । त्यसैमार्फत सामान्य टेलिफोनमा जोडेर कुराकानीका लागि प्रयोग गर्न सकिने छ । उक्त डिभाइसमा सिमकार्ड प्रयोग हुनेछ । यद्यपि त्यसको नम्बर भने टेलिकमले अहिले जिल्लाअनुसार उपलब्ध गराइरहेको कोडबाट सुरु हुनेछ ।

इन्जिनियर नेपालका अनुसार चितवनको प्रयोगकर्ता हो भने ०५६ बाट फोन नम्बर सुरु हुनेछ । टेलिकमले गाउँगाउँसम्म विस्तार गरेको सीडीएमएको फिक्स्ड फोन विस्थापन गर्ने र वाइम्याक्स पनि प्रभावकारी हुन छाडेपछि यी दुवैलाई समाहित गरेर नयाँ योजना अगाडि सारेको हो ।

तत्काल संस्थागत प्रयोगकर्तालाई उपलब्ध गराइने यो सुविधा व्यक्तिगत प्रयोगकर्तालाई टेलिकमले उपलब्ध नगराइने प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । सर्वसाधारणमा व्यापक रूपमा गयौँ भने ब्यान्डविथ सबै यसमै प्रयोग हुन्छ, त्यसो हुँदा मोबाइल ब्रोडब्यान्ड महँगो हुन्छ, उनले भने – धेरै बाँडेर रिसोर्स सकियो भने फेरि रिसोर्स थप्नुपर्छ, जुन निकै सीमित छ ।

व्यक्तिगत प्रयोगकर्ताको हकमा मोबाइल ब्रोड ब्यान्डको पहुँच र गुणस्तरलाई पनि बढी जोड दिइने उनले स्पष्ट पारे । टेलिकमले संस्थागत प्रयोगकर्र्तालाई उपलब्ध गराउन लागेको वाईफाई सुविधाका लागि प्रयोग हुने डिभाइस तुलनात्मक रूपमा महँगो हुनेछ । यद्यपि सकेसम्म सस्तोमै सेवा उपलब्ध गराउने तयारी भइरहेको अधिकारीले जानकारी दिए ।

उनका अनुसार अहिले उक्त डिभाइसमा टेलिफोन परीक्षणको काम भइरहेको छ । आठ सय ब्यान्डको फ्रिक्वेन्सी उपयोग हुने भएकाले टावरबाट लामो दूरीमा पनि यो सुविधा उपलब्ध गराउन सकिने उनले बताए । कम्पनीले आगामी आर्थिक वर्षभित्रै हरेक वडामा यो सुविधा पुर्याउने गरी योजना तयार गरेको जनाएको छ ।

साभार : गोरखापत्र अनलाइन

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३