close

भर्चुअल रुपमै आयोजना हुने भयो सूचना प्रविधिको विश्व महाकुम्भ सीईएस २०२१

टेकपाना टेकपाना

साउन १४, २०७७ १६:३३

भर्चुअल रुपमै आयोजना हुने भयो सूचना प्रविधिको विश्व महाकुम्भ सीईएस २०२१

काठमाडौं । कञ्जुमर टेक्नोलोजी एसोसिएसन-सीटीएले २०२१ को सीईएस (कञ्जुमर इलेक्ट्रोनिक्स शो) का सबै कार्यक्रम डिजिटल रुपमा आयोजना गर्ने भएको छ । आगामी वर्षको जनवरी ६ देखि ९ सम्म आयोजना हुने उक्त समारोहमा विश्वभरका प्रद्धर्शक र ग्राहकहरुले भौतिक सहभागिता नजनाउने आयोजक सीटीएले जनाएको छ । 

नयाँ ढाँचाको उक्त समारोहमा  सहभागीहरुले प्राविधिक अन्वेषकहरुबाट नयाँ युगिन प्रविधि, अत्याधुनिक वस्तुहरु, विश्वभरका स्टार्टअप कम्पनी तथा ग्लोबल ब्राण्डहरु देख्न पाउने छन् । 

हाल जारी कोभिड १९ को बढ्दो विश्व स्वास्थ्य संकटलाई मध्यनजर गर्दै प्रत्येक वर्ष लस भेगसमा आयोजना हुने उक्त समारोहलाई भर्चुअल माध्यमबाट आयोजना गर्न लागिएको सीटीएका प्रमुख कार्यकारी अधिकृत ग्यारी सापिरोले ईमेलमार्फत बताएका छन् । 

यस किसिमको नयाँ पूर्ण डिजिटल प्लेटफर्ममा स्थानान्तरण हुँदा फरक अनुभव प्रदान गरेर प्रदर्शक र नयाँ तथा पुराना ग्राहकहरुलाई एकअर्कासँग जोडिन सहयोग मिल्ने अपेक्षा गरिएको छ । 

विगत ५० वर्षदेखि आयोजना हुँदै आइरहेको सीईएस अन्वेषणका लागि एउटा ग्लोबल स्टेज हो । उक्त स्टेजले विभिन्न साना तथा ठूला कम्पनीहरुलाई आफ्ना प्राविधिका सामग्रीहरु सार्वजनिक गर्न, ब्राण्ड निर्माण गर्न तथा साझेदारी विकास गर्न ठाउँ उपलब्ध गराउँदै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०