close

विद्यार्थीलाई २५० रुपैयाँमा एनसेलको २० जिबी डेटा, हरेक दिन १२० मिनेट टकटाइम

टेकपाना टेकपाना

साउन १६, २०७७ १९:३८

विद्यार्थीलाई २५० रुपैयाँमा एनसेलको २० जिबी डेटा, हरेक दिन १२० मिनेट टकटाइम

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडले विद्यार्थीका लागि नयाँ योजना सार्वजनिक गरेको छ । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) र निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँगको सहकार्यमा कम्पनीले विद्यार्थीको अनलाइन कक्षा तथा सिकाईका लागि आकर्षक मासिक योजना ल्याएको हो ।

विद्यार्थी, शिक्षक तथा शिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडव्याण्डमा पहुँच सुनिश्चित गराउने उद्देश्यका साथ सहकार्य थालिएको एनसेलले जनाएको छ । यो मासिक योजनामा विद्यार्थी, शिक्षक तथा शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बण्डल प्याक प्राप्त गर्नेछन् ।

जसअनुसार विद्यार्थीले कर बाहेक मासिक २५० रुपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जूम, गूगल मीट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जीबी डेटा प्राप्त गर्नेछन् । त्यति मात्रै नभएर एक जीबी थ्रीजी तथा फोरजी डेटा, २ जीबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्नेछन् ।

‘कोभिड–१९ ले शिक्षा लगायत सबै क्षेत्रमा असर पारेको छ,’ एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘साथै अध्ययन अध्यापनमा इन्टरनेट प्रविधिको प्रयोग बढेको छ । हामी सबै विस्तारै अबको ‘न्यू नर्मल’सँग अभ्यस्त भइरहेको बेलामा दूरशिक्षा आवश्यकता बनेको छ र यसले प्रविधि र अनलाइन शिक्षाको महत्व स्पष्ट रुपमा दर्शाएको छ ।’

देशको शिक्षा क्षेत्रमा डिजिटाइजेसन र ई–लर्निङमा योगदान पुर्‍याउनका लागि एनप्याब्सन र प्याब्सनसँग सहकार्य गर्ने अवसर पाएकोमा आफूहरु हर्षित रहेको उनको भनाई छ ।

एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यालयहरुमा पठनपाठन कहिलेदेखि सञ्चालन हुने भन्ने कुरा निश्चित नभएको हालको अवस्थामा अनलाइनको माध्यमबाट विद्यार्थी र शिक्षक तथा शिक्षिकालाई अध्ययन अध्यापनमा सहयोग पुर्‍याउनका लागि एनसेलसँग यस विशेष योजनामा हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे ।

सहकार्यअनुसार एनप्याब्सन र प्याब्सनको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक तथा शिक्षिकाले यो योजनाबाट फाइदा लिन सक्नेछन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०