close

काठमाडौं र पोखरामा पनि टेलिकमकाे फोरजी दोब्बर स्पिडमा

टेकपाना टेकपाना

असोज १५, २०७६ १५:५३

काठमाडौं र पोखरामा पनि टेलिकमकाे फोरजी दोब्बर स्पिडमा

काठमाडौं र पोखरामा समेत नेपाल टेलिकमको फोरजी इन्टरनेट दोब्बर हुने भएको छ । १८ सय ब्याण्ड मेगाहर्जमा यसअघि ५ मेगाहर्ज फ्रिक्वेन्सीमा चल्दै आएको फोरजीका लागि थप ५ मेगाहरेज फ्रिक्वेन्सी थप गरी १० मेगाहर्ज पुर्‍याइएको छ । यससँगै मुलुकको राजधानी काठमाडौं र पर्यटकीय राजधानी पोखरामा फोरजी इन्टरनेट स्पिड समेत दोब्बर हुने भएको हो ।

दुई वर्ष अघि सुरु भएको काठमाडौं र पोखराको फोरजीको स्पिड ३५ एमबीपीएस मात्रै छ । अहिलको देशभर फोरजी विस्तारको परियोजनालाई भने सुरुवाती चरणमा काठमाडौं र पोखरा बाहिर केन्द्रीत गरिएको छ ।

त्यसैले नै ८ सय मेगाहर्ज ब्याण्डमा रहेको फ्रिक्वेन्सीबाट नयाँ ठाउँको इन्टरनेट चल्ने र काठमाडौं र पोखरामा भने यस अघिकै १८ सय ब्याण्डकै फ्रिक्वेन्सीबाट चल्ने टेलिकमका सहायक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । ‘काठमाण्डौं र पोखरामा रहेका टेलिकमका बिटिएसमा समेत आजबाट सिस्टम अपग्रेडको काम भइरहेको छ,’ उनले भने, ‘यो काम क्रमशः भइरहेकाले सबै ठाउँमा अहिलेको भन्दा दोब्बर गतिमा इन्टरनेट चलाउन भने केही दिन कुर्नुपर्ने हुनसक्छ ।’

तर, काठमाडौं र पोखरा बाहेकका देशभरका ५० शहरमा भने आजैबाट एक सय देखि एक सय ३० एमबीपीएससम्मके गतिमा टेलिकमका उपभोक्ताले फोरजी इन्टरनेट प्रयोग गर्न सक्नेछन् कम्पनीले जनाएको छ ।

देशभर सातै प्रदेशमा सेवा सञ्चालनका लागि गत २० माघ २०७५ मा कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईसँग कम्पनीले सम्झौता गरेको थियो । कम्पनीले आगामी माघसम्ममा देशभर फोरजी नेटवर्क विस्तार गर्ने लक्ष्यका साथ तीब्रताका साथ काम काम भइरहेको जनाएको छ ।

काठमाडौं, पोखरा र आज फोरजी सेवा सुरु हुने ५० ओटा शहरमा तिहारसम्मा भ्वाइस ओभर एलटीई सेवा समेत सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ । उक्त सेवा सञ्चालनमा आएसँगै टेलिकमको भ्वाइस कल समेत एचडी क्वालिटीमा इन्टरनेबाटै गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३