close

सरकारी निकायमा प्रयोग हुने सफ्टवेयरको अप्रुभल र अडिट आईटी विभागबाट मात्रै

टेकपाना टेकपाना

साउन २८, २०७७ १७:२४

सरकारी निकायमा प्रयोग हुने सफ्टवेयरको अप्रुभल र अडिट आईटी विभागबाट मात्रै

काठमाडौं । अब सरकारी निकायमा प्रयोग हुने सफ्टवेयरको अप्रुभल (स्वीकृति) तथा सेक्युरिटी अडिट सूचना प्रविधि विभागबाट मात्रै गराउनुपर्ने भएको छ । नेपाल सरकारका विभिन्न मन्त्रालय, आयोग, सचिवालय, केन्द्रीय स्तरका कार्यालयहरु र अन्तर्गतका निकायहरुमा विकास तथा प्रयोग हुने सफ्टवेयरहरु अप्रुभल र अडिटका लागि यस्तो निर्णय लिइएको हो ।

हालै सम्पन्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकले यस किसिमको व्यवस्था मिलाउन सम्बन्धित निकायमा लेखी पठाउने निर्णय लिएको थियो ।

सोही अनुसार मन्त्रालयको सिनियर म्यानेजमेन्ट टिम (एसएमटी) को बैठकले मन्त्रालय अन्तर्गतको साइबर सुरक्षा शाखालाई यसको जिम्मेवारी सुम्पिएको हो । शाखाले सूचना प्रविधि महाशाखासँगको समन्वयमा एक साताभित्र सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, केन्द्रीय स्तरका कार्यालयहरुमा पत्राचार गर्नेछ ।

विभागबाट अप्रुभल तथा अडिट नगराएकै कारण सरकारी निकायका वेबसाइट तथा सर्भर सिस्टममा समस्या देखिने र ह्याक हुने घटना बढ्दै गएको निश्कर्षका साथ मन्त्रालयले यस्तो अग्रसरता देखाएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०