close

नेपालमै बनेको कोरोनाको ज्वरो नाप्ने थर्मोग्राफिक क्यामेरा एनएचआरसीबाट प्रमाणीत

टेकपाना टेकपाना

साउन २९, २०७७ १५:६

नेपालमै बनेको कोरोनाको ज्वरो नाप्ने थर्मोग्राफिक क्यामेरा एनएचआरसीबाट प्रमाणीत

काठमाडौं । नेपालको प्रविधि क्षेत्रका नामी जुम्ल्याहा दाजुभाइ राम लक्ष्मण रिमालले विकास गरेको कोरोनाको ज्वरो नाप्ने थर्मोग्राफिक क्यामेरालाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले प्रमाणीकरण गरेको छ । भिडभाडमा समेत उच्च ज्वरो भएका व्यक्तिहरुलाई पहिचान गर्न सक्ने उक्त क्यामेरा दाबी गरिए अनुरुप परिषदले गरेको अनुसन्धानबाट योग्य प्रमाणीत गरेको हो । 

परिषद्‌ले बिरामीहरुको तापमान रेकर्ड गर्ने थर्मोग्राफिक क्यामेरा, थर्मोमिटर गन र डिजिटल क्लिनिक थर्मोमिटरबीच तुलनात्मक अनुसन्धान गरेको थियो । जसमा थर्मल गन र क्लिनिकल थर्मोमिटरभन्दा पनि थर्मोग्राफिक क्यामेराले सही नतिजा दिएको छ । 

राम लक्ष्मणले तयार पारेको थर्मोग्राफिक क्यामेराको स्ट्याण्डर्ड डेभियसन १.२२ रहेको छ । जहाँ थर्मल गनको स्ट्याण्डर्ड डेभियसन १.२७ र क्लिनिकल थर्मोमिटरको स्ट्याण्डर्ड डेभियसन १.२३ पाइएको छ ।  

यस्तै थर्मोग्राफीक क्यामेरा र डिजिटल क्लिनिक थर्मोमिटरबीच ०.००४० मिनको फरक र थर्मोमिटर गन र डिजिट क्लिनिक थर्मोमिटरबीच ०.०६६७ मिनको फरक पाइएको छ । यस आधारमा अस्पताल जाने सेवाग्राहीहरुको ज्वरो र शारीरिक तापमान मापन गर्न राम लक्ष्मणले विकास गरेको प्रविधि एक्युरेट (वास्तविक) रहेको अध्ययन प्रतिवेदनको निश्कर्ष छ ।

अध्ययनका क्रममा राम लक्ष्मण इन्नोभेसन टेक्नोलोजिले विकास गरेको थर्मोग्राफिक क्यामेरा मोडल आरएल-टीआई०७ लाई बजारमा उपलब्ध कनटेक इन्फ्रारेड थर्मोमिटर मोडेल टीपी ५०० को थर्मल गन गन र माइक्रोलाइफ एजी ९४४४३ विडन्यू स्वीजरल्याण्ड लट २०२०-०१-०७ को डिजिटल क्लिनिकल थर्मोमिटर प्रयोग गरिएको थियो ।

राम लक्ष्मणको थर्मोग्राफिक क्यामेराले तीन देखि छ मिटरको दुरीबाट सहभागीहरुको शरीरको तापमान लिइएको थियो । जसमा उनीहरुको अनुहार र घाँटीको तस्वीरबाट तापक्रम नापिएको थियो ।

त्यसका लागि उनीहरुलाई चस्मा र टोपी निकाल्न लगाइएको थियो । त्यस्तै डिजिटल क्लिनिकल थर्मोमिटर बीप आवाज ननिस्किएसम्मका लागि सहभागीहरुको कोखिमा राख्न लगाइएको थियो भने थर्मोमिटर गनलाई पाँच देखि १५ सेन्टिमिटरको दुरीमा राखेर सहभागीहरुको शरीरको तापक्रम लिइएको थियो । 

परिषदले नन कन्ट्याक्ट इन्फ्रारेड थर्मोमिटर (एनसीआईटी) थर्मोग्राफिक क्यामेरा र व्यावसायिक रुपमा उपलब्ध थर्मोमिटर गनहरु ननइन्भासिभ (शरीरमा नछुवाई जाँच्न सकिने) स्क्रीनिङ उपकरणको रुपमा उपयोगी हुने अध्ययन प्रतिवेदनको निश्कर्ष छ । 

अध्ययनका क्रममा नवजात शिशुदेखि ८० वर्ष उमेर समूहबीचका मानिसहरुमाथि यी उपकरणहरु परीक्षण गरिएको थियो । अध्ययनमा त्रिभुवन विश्वविद्यालयको टिचिङ अस्पतालको ओपीडीमा आएका १०१ बिरामीहरुलाई सहभागी गराइएको थियो । 

विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी फैलिएसँगै संक्रमण रोक्न नेपालमा समेत लकडाउन लागेपछि रामलक्ष्मण दाजुभाइले भिडभाडमा सजिलै ज्वरो नाप्न सकिने गरी थर्मोग्राफिक क्यामेरा विकास गरेका थिए । 

उनीहरुले विकास गरेको क्यामेरा अहिले मास्क लगाएको अवस्थामा समेत ज्वरो नाप्न सकिने स्तरमा अपग्रेड भइसकेको छ । हाल यो क्यामेरा सिंहदरबार लगायतका दर्जनभन्दा बढी स्थानमा प्रयोगमा आइसकेको छ । 

यो सिस्टम विभिन्न नाकाबाट नेपाल छिर्ने नागरिकको ज्वरो नाप्ने कार्यमा समेत प्रयोग गर्न सकिने राम रिमाल बताउँछन् । ‘यसो गर्न सकिए नाकाहरुबाट नेपाल भित्रिने हरेक व्यक्तिको फोटो सहितको शरीरको तापक्रमको रेकर्ड सरकारको सर्भरमै जम्मा पार्न सकिन्छ,’ टेकपानासँगको कुराकानीमा उनले भने ।

राम लक्ष्मण दाजुभाइले स्थापना गरेको कम्पनी टेक्नोलोजी सेल्स नेपालमै हालसम्म विद्युतीय भोटिङ मेसिन सहित सय भन्दा बढी प्रविधि विकास गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०