close

५० हजार विद्यार्थीलाई नि:शुल्क कम्प्युटर कोर्ष पढाउँदै डिजी स्कूल, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

साउन ३२, २०७७ १४:५५

५० हजार विद्यार्थीलाई नि:शुल्क कम्प्युटर कोर्ष पढाउँदै डिजी स्कूल, यसरी बन्नुहोस् सहभागी


काठमाडौं । डिजी स्कूलले ५० हजार विद्यार्थीलाई अनलाइनबाटै निःशुल्क रुपमा कम्प्युटर शिक्षा दिने अभियान सुरु गरेको छ । कोभिड–१९ का कारण शैक्षिक गतिविधि ठप्प प्रायः रहेको अहिलेको विषम परिस्थितिमा विद्यालय तहमा कम्प्युटर कोर्ष अध्यापन गराउने डिजी स्कूलले यस्तो अभियान थालेको हो ।

बेलायत सरकार मातहत दर्ता भइ विद्यालय र उच्च शिक्षा सम्बन्धी पठ्यक्रम निर्माण गर्ने एनसीसी एजुकेसनले विद्यालय तहका लागि तयार पारेका कम्प्युटर कोर्ष डिजी प्रोग्रामलाई नेपालमा डिजी स्कूल नाम दिइएको छ । लामो समयदेखि आईटी र व्यवस्थापन विषयको अध्यापन गराउँदै आएको सफ्ट्वेरिका कलेज अफ आईटी एन्ड ईकमर्स र सनवे कलेजको सहकार्यमा डिजी स्कूल नेपालमा संचालित छ। 

हालसम्म नेपालका करिब ५० भन्दा बढी स्कूलहरू डिजी स्कूलको कम्प्युटर पाठ्यक्रमबाट लाभान्वित भएका छन् । डिजी स्कूलको सहयोगमा नेपालका विद्यालयहरुले उक्त पाठ्यक्रम अनलाइन कक्षामार्फत पढाउँदै आएका छन् ।

डिजी स्कूलले निःशुल्क शिक्षा व्यवस्थापन प्रणालीसँगै विद्यालयहरुलाई अनलाइन कक्षा, अनलाइन परीक्षा, अनलाइन प्रगति, अनलाइन नतिजा, क्वीज र प्रमाणपत्रसहित विद्यालय व्यवस्थापन सफ्टवेयर पनि प्रदान गर्दै आएको छ ।

कोभिड–१९ को महामारीको अवस्थामा डिजी स्कूलले कम्प्युटर कोर्षको भिडियो कक्षा, अनलाइन असाइनमेन्ट, अध्ययन सामग्री र परीक्षाको व्यवस्थापन सबै अनलाइनबाटै उपलब्ध गराउँदै आएको छ । विद्यार्थीहरुले प्रत्येक पाठ्यक्रम पुरा गरे बापत प्रमाणपत्र समेत प्राप्त गर्नेछन् ।

यो समय प्रविधिको भएको उल्लेख गर्दै डिजी स्कूलका संस्थापक एवम् सीइओ विज्ञान श्रेष्ठले कम्प्युटर सीप आधारभूत बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । ‘स्कूलस्तरबाटै कम्प्युटर सम्बन्धि सीप सिकाउन जरुरी छ,’ उनले भने, ‘आजका बालबालिकाहरूले कम उमेरमै कोडिङ, ग्राफिक्स, भिडियो सम्पादन सिकिरहेका छन् । नेपालका स्कूलका विद्यार्थीहरू पनि त्यस्तो अवसरबाट वञ्चित हुनु हुँदैन ।’

प्रविधिको प्रयोग गरी स्कूल स्तरमा कम्प्युटर शिक्षा र डिजिटल नेपालको सपना साकार पार्ने अवधारणाका साथ डिजी स्कूल सञ्चालन भइरहेको श्रेष्ठको भनाई छ । यद्यपि प्रायः जसो विद्यालयहरू चुनौती र कठिनाइहरूको सामना गर्दै पाठ्यक्रम वितरण गर्न शिक्षकहरू समेत खोजिरहेका छन् ।

कोभिड–१९ को महामारीले देशभरका सबै विद्यालय बन्द छन् । कतिपय विद्यालयहरूसँग पर्याप्त कम्प्युटर प्रयोगशाला र शिक्षकहरू समेत छैनन् । त्यसैले प्रविधिको सदुपयोग गरी वेबसाइटमा लगईन गरेर डिजी स्कूलको पाठ्यक्रम अध्ययन गर्न सकिने श्रेष्ठ बताउँछन् ।

यसबाट विद्यार्थीले विद्यालय तहमै वेबसाइट, र मोबाइल एप बनाउन सक्षम हुने श्रेष्ठको भनाई छ । सीपमुखी पढाई भएकाले आईटी अध्ययन गर्नेहरु स्वरोजगार बन्ने र इन्टरनेटले पुरै विश्व एउटा गाउँ बनाएको समयमा घरबाटै देश विदेशका विभिन्न काम गर्न सकिन्छ ।

अनलाइनमा उपलब्ध हुने भएकाले डिजी स्कुल विश्वव्यापी अभियान भएको श्रेष्ठ बताउँछन् । विदेशमा रहेका नेपाली बालबालिकालाई समेत आवद्ध गराउन सुरु गरिएको उनको भनाई छ ।

अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, दुबई, मलेसिया लगायत देशमा बसोबास गरिरहेका अभिभावकहरूले पनि आफ्ना बालबालिकाहरुलाई डिजी स्कूलको पाठ्यक्रममा भर्ना गराउन सक्ने डिजी स्कूलका सहसंस्थापक घनश्याम घिमिरेले बताए । ‘उनीहरूलाई पाउनु पर्ने उत्तम आईटी शिक्षा दिन डिजी स्कूल सक्षम छ,’ उनले भने । 

डिजी स्कूलमार्फत कम्प्युटर कोर्ष गर्न चाहने विद्यालय एवम् विद्यार्थीले यहाँ क्लिक गरी आफ्नो जानकारी सहित दर्ता गराउन सक्नेछन् । ९८०१२२४२५५ मा सम्पर्क गरेर तथा यहाँ क्लिक गरी ईमेल पठाएर समेत यो कार्यक्रममा सहभागी हुन सकिने डिजी स्कूलले जनाएको छ ।

कस्ता छन् कोर्ष ?

कक्षा १ देखि कक्षा ११ सम्मका विद्यार्थीका लागि आवश्यक सम्पूर्ण कोर्षहरु डीजी स्कूलले तयार पारेको छ । जसमा डिजिटल लिट्रेसी, साइबर सेक्युरिटी, कोडिङ, नेटवर्किङ सबै किसिमको कोर्षहरु समेटिएको श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘हामीले नेपालमा पढ्नुपर्ने कोर्षहरुलाई समेत इन्ट्रिगेट गर्दै लगेका छौं ।’ सामान्यतयाः डीजीले निःशूल्क रुपमा उपलब्ध गराएका हरेक कोर्ष ६० घण्टाका छन् । यसको मतलव दिनमा एक वा दुई घण्टा समय दिँदा दुई देखि तीन महिनामा यी कोर्षहरु पुरा गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०