close

किन घटाइरहेको छैन भारतले नेपालमा कल गर्दा लाग्ने शुल्क ?

टेकपाना टेकपाना

भदौ १, २०७७ ११:३७

किन घटाइरहेको छैन भारतले नेपालमा कल गर्दा लाग्ने शुल्क ?

काठमाडौं । नेपालका लागि छिमेकी मुलुक भारत रोजगारीको हिसाबले एक प्रमुख गन्तव्य हो । भारतमा लाखौं नेपाली छन् । ठूुलो संख्यामा नेपाली बसोबास गर्ने भएतापनि त्यहाँबाट नेपाल कल गर्दा लाग्ने शुल्क भने निकै महंगो रहेको छ ।

पछिल्लो तथ्याङ्कअनुसार नेपालबाट भारत कल गर्दा अहिले प्रतिमिनेट २ रुपैयाँ ९० पैसा पर्छ । अझ प्याक प्रयोग गरेको खण्डमा यो मूल्य एक रुपैयाँको हाराहारीमा आउँछ । तर, भारतबाट नेपाल कल गर्दा भारतीय ७ रुपैयाँ पर्छ ।

प्याक नै उपलब्ध भएको खण्डमा केही सस्तो होला भनी सामान्य अनुमान गर्न सकिन्छ । तर, सेवाप्रदायक र नियामकको कुरालाई आधारमा मान्ने हो भने पछिल्लो समय भारतले नेपालको हकमा त्यस्तो खालको कुनै प्याक पनि उपलब्ध गराइरहेको छैन ।

लामो समयदेखि भारतबाट आउने कलको दर घटाउन दुईपक्षीय छलफल भएपनि कुनै निश्कर्ष निस्किन सकेको छैन । यसको कारण के हो त ?

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्य भन्छन, ‘दुई देशको सेवा प्रदायकबीचको अन्तर्क्रियामार्फत यो विषयमा निर्णय गर्न सकिने हो । हामीले २०७४ सालमै यो विषयलाई अघि बढाएका थियौं । त्यो समयमा छलफल पनि भएको हो । तर, भारतीय सेवाप्रदायकले नेपाल उनीहरुको लागि ठूलो बजार नभएकाले त्यो सम्भव नहुने बताएका थिए ।’

अर्कोतर्फ नेपाली सेवाप्रदायकले पनि त्यो शुल्क घटाएको खण्डमा अरबलगायतका देशबाट आउने कल भारतीय सेवा प्रदायकले रिफाइल गरेर यहाँ पठाउने भएकाले घाटा लाग्छ भन्ने बताएकाे उनले सुनाए ।

आचार्य भन्छन, ‘तर, पनि सानो कदमको रुपमा भारतबाट नेपालमा कल गर्दा प्याक व्यवस्था गरेर सामान्य कलको तुलनमा सस्तो सेवा दिने कुरा भएको थियो । त्यो गर्दा पनि कलको भोल्युम नबढेको भन्दै भारतीय सेवाप्रदायकले पछि गुनासो गरेको थिए ।’

त्यसपछिका दिनमा यो विषय सेलाएजस्तै भएको छ । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अघिकारी भन्छन, ‘पछिल्लो समय यो विषयमा केही कुरा अघि बढेको छैन । त्यो बेला भारतीय सेवाप्रदायकले नेपालमा प्याकेजमा कल गर्दा सस्तोमा उपलब्ध गराएका हुन् । पछिल्लो समय त्यो पनि बन्द भएको छ ।’

उनीहरुको लागि नेपाल सानो बजार भएको र नेपालको लागि मूल्य समायोजन गर्दा अन्य देशमा पनि समस्या हुन्छ भन्ने उनीहरुको राय रहेकाे अधिकारीले बताए ।

उनी भन्छन, ‘अर्कोतर्फ भारतीय सेवाप्रदायकले फ्रड कल डिटेक्सन सिस्टम लागू गरेका छैनन् । यदि भारतबाट आउने कल सस्तोमा ल्याएको खण्डमा हाम्रोमा कुनै देशबाट प्रतिमिनेट एक डलरमा कल आउँछ भने उक्त कललाई समेत उनीहरुले आफ्नो नेटर्वकमार्फत यहाँ पठाउन सक्छन् । त्यसैले फ्रड कल डिटेक्सन सिस्टम लागु गर्नुपर्छ भनेको हो । तर भारतीय सेवाप्रदायक त्यसमा सहमत छैनन् ।’

जस्तो अहिले मलेसिया, युएई र कतारबाट नेपालमा कल गर्दा एकदमै सस्तो दर कायम छ । त्यो सम्भव हुनुका कारण उनीहरुले फ्रड कल डिटेक्सन सिस्टम जडान गरेका छन् । तर, साउदी अरब, भारत लगायतका देशमा यो सिस्टम लागू नभएको अघिकारी बताउँछन् ।

उनी भन्छन, ‘यो विषयमा हामीले सिस्टमा लागू गरौं भनेर पनि भनेको हो । तर भएन । अहिले भारतबाट १० लाख कल आउँछ भने त्यसमा पाँच लाख अन्य देशबाट आउने कललाई मिसाएर पठाउने खालको प्रवृत्ति त्यहाँ छ ।’

उनी थप्छन्, ‘अझ सस्ताे बनाउने हो भने यसको ठूलो असर नेपाली सेवाप्रदायकलाई पर्छ । हेर्दा यहाँ भारतको नम्बरबाट आउँछ तर फोन चैं अमेरिका, क्यानडा लगायतका देशबाट आउने गरेको हुन्छ । त्यसरी कल आफ्नो नटर्वकबाट पठाउँदा उनीहरुले ठूलो रकम आम्दानी गर्ने अघिकारी बताउँछन् ।’

यसलाई कलर लाइन आइडेन्टीफिकेशन म्यानुपुलेशन भनिन्छ । यदि यसलाई रोक्ने हो भने नेपाली सेवा प्रदायकले पनि उनीहरुलाई एकदम सस्तो रेट दिनसक्ने अघिकारीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०