close

अंग्रेजीजस्तै आईटी पनि अब अनिवार्य रुपमा पढाउनु पर्छ

गोपाल साउद गोपाल साउद

भदौ ८, २०७७ १९:३७

अंग्रेजीजस्तै आईटी पनि अब अनिवार्य रुपमा पढाउनु पर्छ

केही वर्षयता नेपालमा आईटी शिक्षाले निकै राम्रो प्रगति गरेको छ । यद्यपी तीव्र रुपमा विकास र परिवर्तन भइरहेको यो क्षेत्रसँगसँगै नेपालको शिक्षा क्षेत्रलाई अगाडि बढाउने सवालमा थुप्रै किसिमका समस्या र चुनौती विद्यमान छन् । यसै सेरोफेरोमा डिजी स्कूलले कक्षा १ देखि नै आईटीका कोर्षहरु पढाउने योजनाका साथ विशिष्ट किसिमको अभियान सुरु गरेको छ । कोभिड १९ को महामारीले अस्तव्यस्त शेक्षिक क्षेत्रमा केही हदसम्म भए पनि उत्साह भर्ने योजनाका साथ अहिले डिजी स्कूलले ५० हजार विद्यार्थीलाई निःशूल्क रुपमा आईटी कोर्ष पढाउने घोषणा गरेको छ । यसै सन्दर्भमा डिजी स्कूलको स्थापना, नेपालको आईटी शिक्षाको अवस्था, यस क्षेत्रमा आवश्यक परिवर्तन र विकास आदि सवालमा टेकपानाका लागि गोपाल साउदले डिजी स्कूलका संस्थापक तथा सफ्टवेरिका कलेका अध्यक्ष विज्ञान श्रेष्ठसँग गरेको कुराकानीः

केही वर्ष अघिसम्म आईटीको पढाई कहाँबाट सुरु गर्ने, पढ्न विदेश नै जानुपर्ने हो कि भन्ने किसिमको अवस्था थियो । तर अहिले आएर कक्षा १ देखि नै आईटीको पढाई सुरु हुन थालेको छ । यो छोटो समयमा आएको परिवर्तनलाई कसरी नियालिराख्नु भएको छ ?

 हामीसँग भएका सफ्टवेरिका कलेज, डिजी स्कूल, सनवे इन्टरनेशनल विजनेस स्कुलहरु शिक्षा प्रदान गर्ने स्कूल तथा कलेजहरु हुन् । तर हाम्रो अभियान भनेको कक्षा १ देखि स्नातकोत्तर तहसम्मका कोर्षहरु सुरुवात गर्ने भन्नेमा छ । 

ब्याचलर तहका कोर्ष कलेजले उपलब्ध गराउँछ भने स्कूल तहका कोर्षहरु डिजी स्कूलमार्फत दिँदै छौं । अहिले नेपालमा धेरै आईटी कलेजहरु खुलिसकेका छन् । हामीले नयाँ नयाँ कोर्षहरु ल्याइरहेका छौं । 

उदाहरणका लागि साइबर सेक्युरिटी विषयको कोर्ष नेपालमा थिएन । हामीले ल्यायौं । अहिलेको विश्वमा साइबर सेक्युरिटी निकै महत्वपूर्ण बनेको छ । कति बैंकको सिस्टम ह्याक भएको, एटीएम ह्याक गरेको, सरकारकै वेबसाइट ह्याक भएका अनेक समाचारहरु हामीले सुनिरहेका हुन्छौं ।

नेपालमा आर्टिफिसियल इन्टेलिजन्स (एआई), डेटा साइन्स, डेटा एनालिटिक्स, भर्चुअल रियालिटी, अग्मेन्टेड रियालिटी जस्ता नयाँ विषयका कोर्षको खाँचो छ

यस्तोमा डेटाहरु कसरी सुरक्षित गर्ने भन्ने सवालमा साइबर सुरक्षा जस्ता नयाँ नयाँ कोर्षहरु नेपालमा चाहिन्छ । हाम्रो नेपालमा भएका विश्वविद्यालयहरुले पनि यस्ता नयाँ नयाँ कोर्षहरु विकास गर्नुपर्छ । 

त्यस्तै अहिलेको विश्वमा नयाँ ट्रेन्डको रुपमा आर्टिफिसियल इन्टेलिजन्स (एआई), डेटा साइन्स, डेटा एनालिटिक्स, भर्चुअल रियालिटी, अग्मेन्टेड रियालिटी जस्ता प्रविधिहरु देखा परिरहेका छन् । नेपालमा यस्ता नयाँ नयाँ कोर्षहरुको खाँचो छ । 

तर अहिले धेरै कलेजहरुमा आधारभूत किसिमका कोर्षहरु मात्र छन् । तर स्पेसलाइज्ड (विशिष्टिकृत) कोर्षहरु छैनन् । सफ्टवेरिका कलेजमार्फत कोभेन्ट्री युनिभर्सिटीसँग सहकार्य गरेर आर्टिफिसियल इन्टेलिजेन्स विषयको कोर्ष नेपालमा ल्याइसकेका छौं । शिक्षा मन्त्रालयको स्वीकृति आएसँगै हामी त्यो कोर्ष पढाउन सुरु गर्छौं । 

हामीजस्ता कलेजहरुलाई सरकारको साथ हुने हो भने यहाँ थुप्रै नयाँ कोर्षहरु ल्याउन सक्छौं । भर्चुअल रियालिटीमा पनि हामी इच्छुक छौं । सनवे बिजनेस स्कूलमा डेटा साइन्स एण्ड डिजिटल मार्केटिङको कोर्ष ल्याइसकेका छौं ।

हामीले त्यसको फाइल पनि शिक्षा मन्त्रालयमा पेश गरेका छौं । नेपालमा यस्ता नयाँ नयाँ कोर्ष ल्याउने कार्यमा सरकारले समेत प्रोत्साहन गर्न आवश्यक छ । यसो हुन सक्यो भने हामीले नेपालाई शिक्षाको उत्कृष्ट गन्तव्य समेत बनाउन सक्छौं । यसले सरकारको डिजिटल नेपाललाई सार्थक तुल्याउने मात्र होइन, देशमा विकासको लहर नै ल्याउन सक्छ ।

स्कूल भनिसकेपछि धेरैलाई यो छुट्टै खालको एउटा भौतिक स्वरुपकै स्कूल हो किन भन्ने लाग्न सक्छ । खासमा डिजी स्कूल के हो यसबारेमा बताइदिनुहुन्छ ?

डिजी स्कुल नेपालमा सञ्चालन भइरहेका अन्य भाैतिक स्कुल जस्ताे स्कूल होइन । याे चाहीँ अरु स्कूलसँग सहकार्य गरेर उनीहरुलाई आईटी कोर्ष तथा सफ्टवेयर सिस्टम दिने र उनीहरुलाई डिजिटल रुपम विकास गर्ने एउटा प्लेटफर्म हो । 

अहिले पुरे विश्व नै डिजिटल हुँदै गइरहेको छ । त्यसैले हामीलै स्कूल पनि डिजिटल बनाउनु पर्छ भनेर यसकाे नाम डिजी स्कूल राखेका हाैँ । 

वास्तवमा हामीले नेपालमा डिजी स्कूलको नामबाट नयाँ अवधारणा सुरु गर्न खोजेका हौं । विद्यालय तहमा पढ्ने जतिपनि विद्यार्थीहरु छन्, उनीहरुलाई राम्रो आईटी शिक्षा दिने हाम्रो उद्देश्य हो ।

यसले कसरी काम गर्छ, के के विषयहरु पढाउनुहुन्छ ?  

यसका लागि हामीले एनसीसी यूकेसँग सहकार्य गरेका छौं । यूकेका बच्चाहरुले पढ्ने कोर्षलाई नै हामीले नेपालमा डिजी स्कूलको नाममा भित्र्याएका छौं ।

खासगरी विद्यालय तहका बालबालिकाहरुले यसबाट डिजिटल लिट्रेसी, अनलाइन सेफ्टी, कोडिङ, कम्प्युटेसनल थिङ्किङ, लगायत स्कील डेभलप गर्न सक्छन् ।

यी कोर्षहरु कक्षा एकदेखि ११ सम्मका विद्यार्थीलाई लक्षित गरी बनाइएका छन् । तर यो कक्षा १२ का विद्यार्थीहरुलाई समेत पढाउन मिल्छ । 

यसका लागि हामीलाई यूके बोर्डले एउटा प्रोग्राम ह्याण्डबुक उपलब्ध गराएको छ । जुन विद्यार्थीहरुका लागि एकदमै कलरफुल र रुचिलाग्दो स्वरुपमा छ । त्यसमा रहेर विद्यार्थीहरुले निश्चित टास्कहरु पुरा गर्नुपर्ने हुन्छ । 

हरेक लेसनमा टास्कहरु पुरा गर्दै गइसकेपछि विद्यार्थीहरुमा सिकाई उपलब्धि भयो वा भएन भन्ने कुरा थाहा पाउन परीक्षा पनि हुन्छ । त्यस्तै गरेर हामीले स्कुलहरुलाई डिजिटलरुपमा ससक्त बनाउने गरी एउटा स्मार्ट स्कूल भन्ने अवधारणा पनि ल्याएका छौं ।

जसमा हामीले स्कूलका लागि स्कूल म्यानेजमेन्ट सफ्टवेयर विकास गरेका छौं । यसमा विद्यालयहरुले अनलाइन कोर्षहरु पनि पढाउन तथा अनलाइनबाटै परीक्षा सञ्चालन गर्न सकिन्छ । अनलाइनबाटै प्रोग्रेस रिपोर्टहरु पनि निकाल्न मिल्छ । 

यसरी प्रविधिको प्रयोग गरेर विद्यालयको काम प्रभावकारी र छिटो तथा छरितो बनाउन सकिन्छ । यो सफ्टवेयर सिस्टम पनि अहिले हामी विद्यालयहरुलाई निःशुल्क रुपमा उपलब्ध गराइरहेका छौं । यो प्रविधिको प्रयोग गरेर सबै स्कूलहरुले पेपरलेस रुपमा आफ्ना गतिविधिहरु सञ्चालन गर्न सक्छन् । 

कोभिडका कारण अहिले स्कूलहरुले आफ्ना विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा सहभागी गराएर कक्षा सञ्चालन गर्न सकिरहेका छैनन् । त्यसैले नै हामीले उनीहरुका लागि अनलाइनमा भिडियो सामग्रीहरु राखेका छौं ।

स्कूलहरु खुलिसकेपछिको अवस्थामा यी कोर्षहरु कक्षा कोठामा समेत पढाउन मिल्छ । यसमा हरेक विद्यालयलाई हामी बेलायतमा डिजाइन भएका कोर्ष तथा पुस्तक उपलब्ध गराउछौं । 

डिजी स्कूलको सफ्टवेरिका कलेजसँगकाे सम्बद्धता चाहिँ कस्ताे किसिमको हो ?

म सफ्टवेरिका कलेजकाे पनि संस्थापक र सीईओ‌ हुँ ।  सफ्टोरिका कलेजले पनि यूकेका युनिभर्सिटीहरुसँग मिलेर काम गर्छ । हामीले यूकेको कोभिन्ट्री युनिभर्सिटीको उच्च शिक्षातर्फको ब्याच डिग्री ईन कम्प्युटिङ, बीएससी ईन एथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटी काेर्ष पढाउँदै आएका छौं ।

यो नेपालमा साइबर सेक्युरिटीकाे पहिलो कोर्ष हो । हामीले उच्च शिक्षातर्फ नयाँ नयाँ काेर्षहरु पनि ल्याउँदै छौं । आर्टिफिसियल ईन्टेलिजेन्स (कृतिम बाैद्धिकता) र डेटा साइन्समा स्नातकाेत्तर तहका काेर्षहरुको पढाई अब छिट्टै सुरु गर्दै छौं । 

सफ्टवेरिका उच्च शिक्षा प्रदान गर्ने कलेज भएकाले हामीले स्कूल तहमा काम गर्न डिजी स्कूलकाे अवधारणा ल्याएका हाैँ । यसमा स्कूलहरुसँग सहकार्य गर्ने र हामीसँग भएको प्राविधिक सीप तथा दक्षता उनीहरुलाई प्रदान गरेर डिजिटल स्कूल बनाउने अभियान जोडिएको छ ।

वास्तवमा भन्ने हो भने सफ्टवेरिका कलेज र सबवे ईन्टेरनेसनल बिजनेस स्कूलकाे सहयोगमा नै डिजी स्कूल चलिरहेको छ ।

कुनै विद्यालयले तपाईंहरुसँग सहकार्य गर्न चाहे त्यसको प्रक्रिया के हुन्छ ?

जो स्कूलहरु हामीसँग आईटी कोर्षका लागि सहकार्य गर्न चाहन्छन्, उनीहरुले हामीसँग सम्पर्क गर्नुपर्ने हुन्छ । त्यसपछि हामीसँग भएको एफिलेसन फर्म भर्न लगाएर यूके पठाउछौं । 

त्यसपछि त्यस्तो स्कूल यूकेको एनसीएच एजुकेसन बोर्डबाट अप्रुभ सेन्टर हुनुपर्छ ।  त्यसपछि उहाँहरुले हाम्रा कोर्षहरु राख्न पाउनुहुन्छ । उहाँहरुलाई लगईन, ह्याण्डबुक, कोर्षबुक सबै सामग्रीहरु उपलब्ध गराउछौं । 

कसरी पढाउने भन्ने लेसन प्लानहरुदेखि सबै चिज यसैमा समावेश हुन्छन् । सँगसँगै स्कूलहरुलाई तालिम पनि दिन्छौं ।

ग्लोबल ट्रेण्डमा बालबालिकाहरुले जुन किसिमको कोर्षहरु पढिरहेका छन्, हाम्रा बालबालिकाहरुले पनि त्यसै स्तरको कोर्ष पढ्न पाउनुपर्छ भन्ने उद्देश्यले नै यो डिजी स्कूल सुरु गरिएको हो । 

त्यसमा कोर्षहरु कसरी पढाउने र परीक्षा कसरी लिने भन्ने बारेका तालिमहरु छन् । त्यसपछि बल्ल उहाँहरुले पढाउन पाउनु हुन्छ । 

नेपाली विद्यालयहरुको आफ्नै किसिमको स्थानीय पाठ्यक्रम छ । अन्तर्राष्ट्रिय स्तरकाे पाठ्यक्रमलाई समायोजन गर्ने विषय कत्तिको चुनौतिपूर्ण देख्नुहुन्छ ?

यहाँकाे स्थानीय काेर्षहरु सबै स्कूलहरुले पढाउनु परिहाल्छ । नेपाली लोकल कोर्षहरु पनि राम्रै छ । डिजी स्कूलले उपलब्ध गराउने कोर्ष चाहिँ अतिरीक्त कोर्षको रुपमा रहन्छ ।

त्यसैले हामीले लोकल कोर्षहरुसँग यसलाई एकीकृत गर्दै लैजान खोजिरहेका छौं । कतिपय कुराहरु यहाँकाे लोकल काेर्षमा छैनन् । जुन डिजी स्कूलको कोर्षमा रहेका छन् । 

त्यसैले ग्लोबल ट्रेण्डमा बालबालिकाहरुले जुन किसिमको कोर्षहरु पढिरहेका छन्, हाम्रा बालबालिकाहरुले पनि त्यसै स्तरको कोर्ष पढ्न पाउनुपर्छ भन्ने उद्देश्यले नै यो डिजी स्कूल सुरु गरिएको हो । 

हामीसँग आवद्ध हुने विद्यालयहरुले यहाँको स्थानीय कोर्षसँग यूकेको कोर्षलाई इन्टिग्रेट गरेर पढाउनुपर्ने हुन्छ । अनि अर्को कुरा आईटी एकदमै छिटो परिवर्तन र विकास हुने क्षेत्र हो ।

त्यसैले एकदमै अपडेट हुन जरुरी छ । यस्तो कुरामा हामीले ढिलाई गर्नु हुँदैन । अहिले ग्लोबल सिटिजन (विश्व नागरिक) को अवधारणा आइसकेको छ ।

इन्टरनेटले गर्दा विश्व नै एउटा गाउँ जस्तो भइसकेको छ । एउटै समुदाय जस्तो भइसक्या छ । 

सबै देशहरु एउटै देशजस्तो भइसके । यस्तो बेलामा हामीले हाम्रा बच्चाहरुलाई विश्वस्तरको अवसर दिने हो भने हामीले त्यही स्तरका पाठ्यक्रमहरु ल्याउनु र परिमार्जन गर्नुपर्ने आवश्यकता छ ।  

यहाँहरुले कोभिड १९ को यो महामारीको समयलाई लक्षित गर्दै ५० हजार विद्यार्थीलाई निःशुल्क रुपमा आईटी कोर्ष पढाउने घोषणा गर्नु भएको छ । यो प्रयासकाे बारेमा विस्तारपूर्वक बताइदिनु हुन्छ कि !

चैतमा लकडाउन सुरु भएपछि हामीसँग जोडिएका जति पनि साझेदार स्कूलहरु थिए, हामीले उनीहरुलाई निःशुल्क तालिमहरु दियौं । अनलाइन कक्षा कसरी सञ्चालन गर्ने, कसरी पढाउने, जूम जस्तो सफ्टवेयर कसरी प्रयोग गर्ने, गूगल मीट कसरी चलाउने, माइक्रोसफ्ट टिम्स भन्ने अर्को प्लेटफर्म छ, त्यसको उपयोग कसरी गर्ने भन्ने बारेमा सकायौं । 

यस्ता प्लेटफर्मको बारेमा धेरै शिक्षकहरुलाई थाहा नभएको हुँदा हामीले थुप्रै स्कूलहरुलाई ट्रेनिङ दियौं । त्यसबेला हामीले करीब ५०० शिक्षकहरुलाई यस्तो ट्रेनिङ दिएका थियौं । हाम्री सामाजिक उत्तरदायीत्वको रुपमा त्यो तालिम पूर्णतः निःशुल्क रुपमा उपलब्ध गराएका थियौं । 

त्यसबाट उहाँहरुलाई कसरी पढाउने, कति घण्टा पढाउने, पढाईलाई कसरी प्रभावकारी बनाउने भन्ने विषय पनि हामीले त्यो ट्रेनिङ समेटेका थियौं । त्यसले धेरै स्कूलहरुलाई सपोर्ट भयो । 

कोभिडको यो संकट एक दुई महिना होला, अब केही समयपछि स्कूल पुनः सुचार होलान् भन्दाभन्दै निकै धेरै समय गइसक्यो । त्यसैले स्कूलहरुलाई हामीले अनलाइनबाट सपोर्ट गर्नुपर्छ भनेर भिडियो कक्षाहरु सुरु गरेका छौं । 

जसबाट बालबालिकाहरुले घरमै बसेर पढ्न पाउनेछन् । पढ्नु त पर्छ नै, समय त्यत्तिकै खेर जान दिनु हुँदैन । त्यसैले यस्तो अवस्थामा बालबालिकाहरुलाई कसरी पढाउन सकिन्छ भनेर हामीले धेरै नै होमवर्क गरेका छौं ।

त्यसैअनुसार हामीले सामाजिक उत्तरदायीत्वको रुपबाट सबै स्कूलहरुलाई हाम्रो सेवा निःशूल्क रुपमा दिइरहेका छौं । अब यो अवस्था कहिलेसम्म रहन्छ र हामीले कतिसम्म सक्छौं, त्यसअनुसार यी कोर्ष निःशुल्क नै हुन्छन् ।

कोभिडको अन्त्य भएर स्कूलहरु पुनः सुचारु नहुञ्जेलसम्म निःशूल्क रुपमा कोर्षहरु उपलब्ध गराउन हाम्रो पुरा टिम लागिपरेको छ । कोभिड १९ को अवस्थाले गर्दा अहिले सबै स्कूलहरु बन्द भएका छन् ।

सबै विद्यार्थीहरु घरमै बसेको अवस्थालाई मध्यनजर गर्दै हामीले अनलाइनमै पढाउन सकिने गरी ईलर्निङ मोडेलमा यसलाई लैजान खोजेका छौं । हामी कक्षाका भिडियो रेकर्डिङ गरेर हाम्रो वेबसाइटमा अपलोड गर्दै छौं ।

कोभिड १९ को अवस्थामा विद्यार्थीहरुले यी कोर्षहरु निःशूल्क रुपमा पढ्न पाउने छन् । वेबसाइटमा राखिका भिडियो क्लासहरुमा सहभागी हुन विद्यार्थीहरुले लगईन गर्नुपर्ने हुन्छ । यसमा विद्यार्थीले पढेको कुराहरुको मूल्याङ्कन हुन्छ ।

उनीहरुले हाम्रा शिक्षकहरुसँग च्याट तथा ईमेलमार्फत सम्पर्क गर्न पाउँछन् । केही सन्दर्भमा हामी लाइभ क्लासहरु पनि यसमा दिन्छौं । बालबालिकाहरुले सिक्न सके वा सकेनन् भन्नेमा ती लाइभ कक्षाहरु केन्द्रीत हुनेछन् ।   

हरेक भिडियो कक्षासँगै अनिवार्य रुपमा परीक्षा हुन्छ । त्यसमा उनीहरुले टास्क बेस परीक्षा दिनुपर्ने हुन्छ । चरणवद्ध रुपमा परीक्षाहरु पुरा हुँदै गइसकेपछि उनीहरु पास भए भने हामीले सर्टिफिकेट पनि निःशूल्क रुपमा दिने व्यवस्था मिलाएका छौं । 

यसअनुसार कक्षा १ देखि कक्षा ११ सम्मका बालबालिकाहरुले अहिलेदेखि नै अनलाइनमा हाम्रा कोर्षहरु पढ्न सक्छन् । यसका लागि हाम्रो प्लेटफर्म तयार भइसकेको छ । यसलाई केही दिन अघि मात्र सार्वजनिक गरेरका छौं । 

खासमा यो चाहिँ ‘स्टडी एनी टाइम, एनिह्वेर’ (जहाँ पनि जहिले पनि पढ्न सकिने) अवधारणा हो । यसमा लाइभ ट्युटर हुँदैनन्, लिङ्क ट्युटर हुन्छ । 

 त्यसका लागि हाम्रा अभिमावकसँग पर्याप्त किसिमका श्रोत सामग्री हुनैपर्छ भन्ने पनि छैन । मोबाइल ल्यापटप ट्याब्लेट आदिबाट हेर्न मिल्ने गरी यसको डिजाइन गरिएको छ ।

हाई इक्वीप्ड डिभाइस (महंगा र शक्तिशाली उपकरण) नचाहिने भएकाले पनि यो कोर्ष पढ्न एकदमै सजिलो छ । इन्टरनेट पनि साधारण तथा आधारभूत किसिमको भए पुग्छ । तर एकदमै स्लो पनि हुनु भएन । 

वर्ड, एक्सेल र पावर प्वाइन्ट मात्रै पढाएर हुँदैन, कोडिङहरु सिकाएर उनीहरुलाई आफ्नै ससाना एप्लिकेसनहरु बनाउन सक्ने बनाउनुपर्छ

यसरी बालबालिकाहरुका लागि हामीले अनलाइनबाट पढाउन सुरु गरेका छौं । यसमा बाललिकाहरुले केही प्रोग्रामिङ ल्याङ्वेज पनि पढ्नुपर्ने हुन्छ ।

जस्तो स्क्र्याच प्रोग्रामिङ ल्याङ्ग्वेज छ । यो कक्षा २ देखि कक्षा ६ सम्मका बालबालिकाहरुलाई पढाउन मिल्छ । त्यसपछि पाइथन, हुँदै कक्षा ११ सम्म जाभा पढ्नुपर्ने हुन्छ । 

हामी के चाहन्छौं भने सानैदेखि बालबालिकाहरुको कम्प्युटर स्किल विकास होस् । खालि वर्ड, एक्सेल र पावर प्वाइन्ट मात्रै होइन कि कोडिङहरु सिकाएर उनीहरुले आफ्नै साना साना एप्लिकेसनहरु बनाउन सकुन् ।

वेबसाइट र मोबाइल एपहरु कसरी बनाउने भनेर हामीले बालबालिकादेखि नै धरातल तयार पार्न सक्नुपर्छ । यसो हुन सक्यो भने नेपालमा आईटी एजुकेसन एकदमै मजबूत भएर जानेछ । 

यसका लागि हामीले धेरै स्कूलहरुसँग सहकार्य थालिसकेका छौं । हामी अझ धेरैभन्दा धेरै स्कूलहरुसँग पार्टनरशिप गरेर जान चाहन्छौं । अहिले कोभिड १९ को स्थितिमा हामीसँग सहकार्य गरेका र नगरेका सबै विद्यालयहरुलाई हाम्रो लगईन निःशुल्क रुपमा दिँदै छौं ।

जसबाट उनीहरुले आफ्ना विद्यार्थीहरुलाई यी सबै कुराहरु पढाउन सक्षम हुन सकुन् । किन भने सबै शिक्षकहरुसँग स्क्र्याच, पाइथन, जाभा लगायतका प्रोग्रामिङ ल्याङ्ग्वेजहरु जस्ता कोर्षहरु पढाउन आवश्यक क्षमता र दक्षता भएका शिक्षक नहुन सक्छन् । त्यस्तो अवस्थामा हाम्रो भिडियो सहितको कोर्ष एकदमै प्रभावकारी हुनसक्छ । 

५० हजार विद्यार्थीलाई एकसाथ पढाउन सक्ने सामर्थ्य डिजी स्कूलले बनाइसकेको छ त ? यसमा रुची देखाउने विद्यार्थी र स्कूलहरु बढी देखिए भने कसरी व्यवस्थापन गर्नुहुन्छ ?

हामीसँग इच्छा जाहेर गरेका करिब ५० स्कूलहरुमा पढ्ने करिब २५ हजार विद्यार्थीहरुलाई पढाउन हामी तयारी अवस्थामा नै छौं । हुन त नेपालमा हजारौं स्कूलहरु छन् ।

त्यसमा हामीले सय वटा स्कूलहरुसँग मात्रै सहकार्य गर्न सक्यौं भने पनि हामी ५० हजार विद्यार्थीलाई पढाउन सक्छौं भन्ने आँकलन हो । 

अझ धेरै विद्यालयहरु यसमा इच्छुक देखिनु भयो भने उहाँहरुसँग पनि सहकार्य गर्न हामी तयार नै छौं । हुन त त्यसका लागि हामीले श्रोत साधन थप गर्नुपर्ने हुनसक्छ । शिक्षकहरु थप्नुपर्ला । 

यद्यपी हामीले अहिलेलाई ५० हजार विद्यार्थीलाई लक्षित गरेका छौं । हेर्दै जाऔं, यसको माग कस्तो आउँछ, त्यसैअनुरुप हाम्रो क्षमता पनि बढाउँदै लैजानुपर्ने हुनसक्छ ।

यो कार्यक्रमा सहभागीता जनाउन वा अध्ययन गर्न विद्यार्थीहरुले कस्तो किसिमको प्रक्रिया पुरा गर्नुपर्छ, त्यस बारेमा पनि बताइदिनुहुन्छ कि ?

त्यसका लागि सुरुमा हाम्रो डिजी स्कूल ग्लोबल डटकम वेबसाइटमा जानुपर्ने हुन्छ ।  त्यहाँ रजिस्टर भन्ने बटन देख्न सक्नुहुन्छ । त्यसमा गएर रजिस्टर गरिसकेपछि उहाँहरुको ईमेलमा एउटा लिङ्क आउँछ ।  

हाम्रो डिजी स्कूलको लगईन युजरनेम, पासवर्ड तथा क्रेडेन्सयलहरु ईमेलमै आउँछ । त्यो युजरनेम र पासवर्ड प्रयोग गरेर उहाँहरु हाम्रो डिजी स्कूलको वेबसाइटमा लगईन गर्न सक्नुहुन्छ । त्यसमा विभिन्न खालका कोर्षहरु छन् ।

विद्यार्थीको उमेर समूहअनुसार हामीले कोर्षको डिजाइन गरेका छौं । साना बालबालिकाले त्यसमा भएका उच्च तहको कोर्षमा एक्सेस पाउन सक्दैनन् । अलि परिपक्व विद्यार्थी छन् भने उनीहरुलाई बालबालिकाहरुले पढ्ने कोर्ष एक्सेसिबल हुँदैनन् । 

एक्सेस पाइसकेपछि त्यहाँ ईनरोल नाउ भन्ने अप्सन हुन्छ । त्यो बटनमा उहाँहरुले थिचिसकेपछि सम्बन्धित कोर्षको अध्ययन सुरु गर्न मिल्छ । 

यसमा उहाँहरुले कुन भिडियोमा कति घण्टा विताउनु भयो, कतिपटक पढ्नुभयो, त्यसमा रहेकाे ईअटेन्डेन्स सिस्टमले स्वचालित रुपमा निगरानी गरिरहेको हुन्छ । विद्यार्थीले पढिसकेपछि निश्चित टास्क पुरा गर्नुपर्ने हुन्छ । 

असाइनमेन्ट, ई इक्जाम गरिसकेपछि सम्बन्धित विद्यार्थीले कोर्ष पढेर भ्याइसक्यो र सिक्नुपर्ने कुरा जानिसक्यो भनेर हामीलाई जानकारी प्राप्त हुन्छ ।

तपाईंले भर्खरै त्यसमा उमेरअनुसार कोर्षहरुको एक्सेस हुने कुरा गर्नु भयो । तर कतिपय विद्यालयका विद्यार्थीहरु माथिल्ला कक्षाहरुमा पढ्ने भए पनि उनीहरुमा आईटीको आधारभूत ज्ञान समेत नहुन सक्छ । त्यस्तो अवस्थालाई चाहिँ कसरी सम्बोधन गर्नुहुन्छ ?

त्यो हामीले पनि महसुस गरेको विषय हो । कक्षा ९ मा पढ्ने बच्चाले कक्षा ६ देखि पढेको छैन भने कक्षा ९ को हाम्रो कोर्ष बुझ्न गाह्रो हुन सक्छ । हामीले स्कूलहरुसँग पनि यही कुरा गर्दै छौं । 

त्यस्तो अवस्थामा हामीले कक्षा ६ देखिकै पाठ्यक्रम फास्ट ट्र्याकमा पढाउनुपर्ने हुनसक्छ । त्यो चाहिँ विद्यार्थीमा पिन भर पर्ने कुरा हो । कति स्कूलहरुले आईटी तथा कम्प्युटर विषय पढाइरहेका पनि छन् । कयौं स्कूलहरुमा त्यसको पढाई नै भइरहेको छैन । 

त्यसैले यस्तो विषयमा हामीले स्कूलहरुसँग केस बाई केस डिल गर्नुपर्ने हुन्छ । तर फाउण्डेसन लेभल (आधारभूत स्तर) छैन भने त फेरी त्यही तहबाट नै उनीहरुलाई पढाउनुपर्ने हुन्छ ।

यस्तो अवस्थामा हामी शिक्षक तथा अभिभावकहरुसँग परामर्श गरेर माथिल्लो कक्षामा पढ्ने विद्यार्थीहरुलाई आधारभूत तहको कोर्षहरुमा एक्सेस दिन पनि सक्छौं ।

नेपालमा डिजी स्कूल खोल्नुपर्छ भनेर तपाईंलाई के कुराले प्रेरित गर्‍यो ? अहिले कुन मोडेलमा यसलाई सञ्चालन गरिरहनु भएको छ ?

गत वर्ष म यूके गएको थिएँ । त्यहाँ जाँदा एनसीएच यूके एजेुकेसनका प्रमुखहरुसँग मिटिङ हुँदाकै बखत डिजी स्कूलको अवधारणा बनेको हो । एनसीएच एजुकेसनले यूके तथा विश्वभरका बालबालिकाहरुका लागि कोर्ष डिजाइन गरेको रहेछ । 

त्यो कोर्ष एकदमै प्रभावकारी छ भन्ने कुराको महसुस भइसकेपछि हामीले नोभेम्बर २०१९ मा यसलाई नेपालमा सार्वजनिक गरेका हौं । वैशाख १ देखि नै स्कूलहरुमा यो कोर्ष सुरु गर्ने योजना बनाएका थियौं । 

तर चैतदेखि नै लकडाउन सुरु भयो । अब अहिले स्कूलहरु बन्द अवस्थामा छन् । जसले गर्दा हामी अनलाइनमा जानुपर्ने अवस्था बनेको छ ।

अहिले हामीले सेल्फ फण्डिङ (आफ्नै लगानी) मा डिजी स्कूल सञ्चालन गरिरहेका छौं । हामीसँग स्थापना गर्दा जुटाएको बजेट बाँकी नै छ । अहिले हामीले त्यही फण्डिङबाट डिजी स्कूल सञ्चालन गरिरहेका छौं ।

कोभिड १९ ले गर्दा यो वर्ष हाम्रा बिक्री सम्बन्धी कुनै पनि गतिविधि हुन नसक्ने अवस्था पैदा भएको छ । त्यसैले यो वर्ष हामी हाम्रै फण्डिङबाट यसलाई सञ्चालन गर्ने योजनामा छौं । 

अर्को वर्षदेखि भने स्कूलहरुसँग सहकार्य गर्दा उनीहरुबाट निश्चित किसिमको सपोर्ट लिन्छौं । त्यसैगरी भविष्यमा यसलाई अगाडि लैजाने भन्ने योजनामा छौं । 

अहिले तपाईंहरुसँग आवद्ध भएका विद्यालयहरु सबै निजी मात्रै छन् कि सामुदायिक तथा सरकारी स्तरका पनि छन् ?

अहिले हामीसँग आवद्ध हुने सबै ५० वटै विद्यालयहरु निजी स्तरका मात्रै छन् । त्यसो त हामीसँग सामुदायिक विद्यालयहरु पनि सम्पर्कमा आएका छन् । 

अहिले महामारीको समयमा हामीले हाम्रा सबै सेवा निःशूल्क गरेका छौं । त्यसैले हामीसँग व्यवसायिक स्तरमा सम्वद्ध नभइसकेका विद्यालयहरुलाई समेत त्यो सेवा उपलब्ध गराउछौं ।

सामुदायिक विद्यालयहरुलाई पनि कसरी सक्षम बनाउने भन्नेमा छौं । नेपालमा कति धेरै ‘ह्याण्डी क्याप’ स्कूलहरु पनि रहेछन् । त्यस्ता स्कूलहरुमा त झन् यस्तो अनलाइन शिक्षा अझ धेरै महत्वपूर्ण र आवश्यक हुन्छ ।

हामी सामुदायिक तथा सरकारी विद्यालयलाई समेत सक्षम बनाउन चाहन्छौं, त्यसका लागि सरकारको साथको खाँचो छ

किन भने त्यहाँ पढ्ने विद्यार्थीहरु शारीरिक रुपमा समस्याग्रस्त हुन्छन् र नियमित रुपमा स्कूल जान सक्ने अवस्थामा हुँदैनन् । त्यस्ता विद्यार्थीहरुका लागि यस्ता भिडियो र ईलर्निङ सामग्री एकदमै उपयोगी हुने हामीले महसुस गरेका छौं ।

त्यस्ता स्कूलहरु पनि हामीसँग जोडिन आएका छन् । उहाँहरुका लागि पनि यसै हप्तादेखि तालिम दिन सुरु गर्दै छौं ।

अहिले कोभिडको समयमा त यहाँहरुको सेवा निःशूल्क नै छ । तर सामान्य अवस्थामा संरचनागत व्यवस्थाका कारण सामुदायिक विद्यालहरुलाई डिजी स्कूलको कार्यक्रममा आवद्ध हुन कुनै किसिमको समस्या त हुँदैन ?

हामी सामुदायिक स्कूलहरुसँग सहकार्य गर्नका लागि एकदमै इच्छुक छौं । किन भन्दा खेरी हामीले निजी विद्यालयलाई मात्र नभएर सामुदायिक तथा सरकारी विद्यालयहरुलाई पनि सक्षम बनाउन आवश्यक छ । 

उहाँहरुलाई प्रभावकारी अध्ययन विधि, प्राविधिक सहायतादेखि हामीले बनाएका सफ्टवेयर उहाँहरुले प्रयोग गर्न सक्ने अवस्था बनोस् भन्ने हाम्रो चाहना हाे । 

तर डिजी स्कूल एउटा निजी स्तरबाट सञ्चालित संस्था हो । सरकारी संस्था हाेइन । त्यसका लागि कुनै सरकारी निकायसँग सहकार्य गर्नुपर्ने हुनसक्छ । यस किसिमको अवसर आएको खण्डमा निश्चित रुपमा सरकारी तथा सामुदायिक विद्यालयहरुसँग समेत सहकार्य गरेर जान सकिन्छ ।

नेपालमा यस किसिमको संस्था डिजी स्कूल मात्रै हो कि अरु पनि छन् ?

डिजी स्कूल विशुद्ध रुपमा आईटी विषयमा केन्द्रीत संस्था हो । अरु पनि संस्थाहरु छन्, म्याथ, साइन्स जस्ता विभिन्न विषयमा कोर्षहरु ल्याइरहेका छन् ।

तर आईटीमा मात्रै केन्द्रीत भएर प्राविधिक सीप सिकाउने गरी काम गर्नेमा डिजी स्कूल बाहेक अरु कुनै संस्था छ भन्ने जानकारी मलाई चाहिँ छैन । 

नेपाली विद्यार्थीहरुले आईटी शिक्षामा ध्यान दिन किन आवश्यक छ ? यसको महत्व र आवश्यकतालाई सजिलो गरी प्रष्ट्याइदिन सक्नुहुन्छ ?

मैले अघि पनि भने विश्व अहिले डिजिटल वर्ल्ड (विश्व) भइसक्यो । सरकारले पनि डिजिटल नेपालको अवधारणा ल्याइसकेको अवस्था छ । हामी ई गभर्मेन्ट तर्फ जाँदै छौं । 

अब हरेक क्षेत्रमा आईटी तथा टेक्नोलोजी प्रयोग हुने भइसक्यो । त्यसैले अङ्ग्रेजी अनिवार्य भएजत्तिकै आईटी पनि अनिवार्य आवश्यकताको विषय बनिसकेको अवस्था छ ।

एउटा विद्यार्थीले अंग्रेजी जानेन भने उसले पछि गएर आफ्नो करिअर बनाउन सक्दैन । अबको समयमा आईटी पनि अंग्रेजी जत्तिकै महत्वपूर्ण विषय हो । 

आईटी जानेनन् भने पछि गएर उनीहरुलाई डिजिटल विश्वमा आफ्नो स्थान कायम राख्न गाह्रो हुनसक्छ । त्यसैले आईटी कति महत्वपूर्ण छ भन्ने कुरा अब भनिराख्नुपर्ने विषय हो जस्तो लाग्दैन । यो सबैले जानिबुझिसकेको कुरा हो । 

तर त्यसै अनुरुपको कोर्ष पनि चाहिन्छ । सिकाई रमाइलो हुनुपर्छ । बालबालिकाहरुका लागि रुचिकर हुनुपर्‍यो । पढौं पढौं जस्तो हुनुपर्छ ।

बालबालिकाहरुलाई सानै देखि आईटी शिक्षा दिन सक्यौं भने भोलि प्लस टु सकाईसकेपछि बीबीए, बीएचएम, डक्टर, इन्जिनियर जे बने पनि त्यहाँ उनीहरुले प्रविधिको प्रयोग गर्न सक्छन् 

जस्तो हामीले बच्चाहरुलाई गेम बनाउन सिकाउँछौं । बनेको गेम प्रयोग गर्न होइन कि आफैं गेम बनाउन सिकाइरहेका हन्छौं ।

हाम्रा कति बच्चाहरुले ससाना गेमहरु बनाउन थालिसके । त्यसैले डिजी स्कूलको कोर्ष बालबालिकाहरुलाई प्रविधितर्फ अभिप्रेरित गर्ने र पढौं पढौं जस्तो लाग्ने किसिमले बनाएका छौं ।

अहिले तपाईंले अनलाइनमा धेरै भिडियोहरु पनि देख्नुहुन्छ होला । ७/८ कक्षामा पढ्ने बालबालिकाहरुले मोबाइल एप बनाउन थालिसके । वेबसाइट बनाउन थालिसके ।

यसरी उनीहरुले बच्चादेखि नै स्वआर्जनका कामहरु पनि गर्न सक्छन् । त्यसैगरी हामीले पनि नेपालमा पनि बच्चाहरुलाई तयार गर्नुपर्ने आवश्यकता छ । परम्परागत तरिकाले मात्रै गएर पनि हुँदैन ।

अहिलेको विश्व जतातर्फ जाँदैछ, हामीले पनि बालबालिकाहरुलाई सानै देखि त्यतै तर्फ ड्राइभ गर्न सक्यौं भने भोलि प्लस टु सकाईसकेपछि बीबीए पढ्लान्, बीएचएम पढ्लान्, कोही डक्टर बन्लान् अनि कोही इन्जिनियर होलान् ।

जता गए पनि जे भए पनि त्यहाँ उनीहरुले प्रविधि प्रयोग गर्न सक्छन् । त्यस किसिमको जनशक्ति तयार पार्नका लागि अहिलेदेखि नै कस्सिएर लाग्न जरुरी छ ।

ब्याचलर-डिग्रीमा मात्रै होइन, आईटी विषय बच्चादेखि नै पढाउनुपर्छ । यही सन्देश दिनका लागि नै हामीले डिजी स्कूल सुरु गरेका हौं । 

तपाईंहरुले आईटी कोर्ष पढ्न र पढाउन चाहने विद्यार्थी तथा विद्यालयलाई मात्र लक्षित गर्नु भएको हो कि अन्यका लागि पनि कुनै कार्यक्रम तयार पार्नु भएको छ ?

हामी गणित पढाउने शिक्षकलाई आईटी प्रयोग गरेर कसरी पढाउने भनेर तालिम दिन सक्छौं । हामी अनलाइनमै परीक्षा समेत सञ्चालन गर्न सक्छौं । 

परम्पारगत तरिकाबाट परीक्षा गर्दा कापी जाँचेर रिजल्ट प्रकाशन गर्न १०/१५ दिन लाग्छ । हामीले सफ्टवेयरको प्रयोग गर्‍यौं भने त्यस्तो नतिजा एक मिनेटमै निस्किन्छ । यसरी हामी समयको बचत गर्न सक्छौं । 

कम्प्युटर सिकाउने भनेको वर्ड, एक्सेल, पावरप्वाइन्ट कसरी सिकाउने भन्ने मात्र होइन । हामीले कम्प्युटरमा हुने डिजिटल फूटप्रिन्टहरु, अनलाइन सेफ्टी, साइबर सेक्युरिटी, डेटाका कुराहरु, भिडियो एडिटिङ, साउण्ड एडिटिङ, फोटो एडिट गर्ने लगायतका सीपहरु उनीहरुलाई बच्चादेखि नै सिकाउनुपर्ने

हरेक विषयमा आईटी प्रयोग गरेर पढाउन सकिन्छ । हामीले दिने सेवाहरुमा चाहिँ एउटा आईटी कोर्ष भयो, जुन हामी स्कूलहरुलाई दिन्छौं । आईटी बाहेकका कोर्षहरुमा पनि हामीले आईटी कसरी प्रयोग गर्ने भन्ने बारेमा सपोर्टका कार्यक्रम तयार पारेका छौं । 

अब स्कूलहरु प्रविधिक रुपमा सक्षम हुनुपर्छ । प्रविधिको भरपुर उपयोग गर्ने स्तरमा विकास हुनैपर्छ । त्यसले हाम्रो समयसँगै लागत पनि जोगाउँछ । 

अन्तिममा केही थप्न चाहनुहुन्छ ?

अन्तिममा म हाम्रा विद्यालय र अभिभावकहरुलाई यही भन्न चाहन्छु, अहिले हामी डिजिटल युगमा छौं । यो समयमा हामीले नेपाललाई डिजिटल बनाउने हाे भने हाम्रा बालबालिकाहरुलाई सुरु देखि नै कम्प्युटर सिकाउनुपर्ने हुन्छ । 

कम्प्युटर सिकाउने भनेको वर्ड, एक्सेल, पावरप्वाइन्ट कसरी सिकाउने भन्ने मात्र होइन । हामीले कम्प्युटरमा हुने डिजिटल फूटप्रिन्टहरु, अनलाइन सेफ्टी, साइबर सेक्युरिटी, डेटाका कुराहरु, भिडियो एडिटिङ, साउण्ड एडिटिङ, फोटो एडिट गर्ने लगायतका सीपहरु उनीहरुलाई बच्चादेखि नै सिकाउनुपर्ने हुन्छ । 

सँगसँगै हामीले सानैदेखि प्रोग्रामिङ ल्याङ्ग्वेजहरु सिकाउन सक्यौं भने त्यसले उनीहरुमा तर्कशक्ति वृद्ध गर्छ । गणित सम्बन्धी सीप विकास हुन्छ । 

प्रतिभावान विद्यार्थीहरु आफैले वेबसाइट बनाउन सक्छन् । कोडिङ गरेर मोबाइल एप पनि विकास गर्न सक्छन् । हामीले बच्चा हो, सिक्न सक्दैन भनेर नजरअन्दाज गर्नै मिल्दैन । 

किन भने विश्वपरिवेशमा सानै उमेरदेखि आईटीमा लागेका बालबालिकाहरु स्वरोजगार बन्नेदेखि आन्ट्रप्रेनर (उद्यमी) बनेका कयौं उदाहरणहरु हामीले पर्याप्त मात्रामा फेला पार्न सक्छौं । 

त्यसैले जमाना परिवर्तन भइसकेको छ । त्यसैअनुसार नेपालमा पनि हामीले परिवर्तन ल्याउन सक्नुपर्छ । अन्तिममा यही भन्न चाहन्छु, यो आईटी शिक्षालाई सबै मिलेर प्रवर्द्धन गरौं । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३