close

नेपालमै आविष्कार भयो सुरक्षित रुपमा कोरोनाको ज्वरो नाप्ने थर्मोग्राफिक सेन्सर

टेकपाना टेकपाना

भदौ ९, २०७७ १३:५९

नेपालमै आविष्कार भयो सुरक्षित रुपमा कोरोनाको ज्वरो नाप्ने थर्मोग्राफिक सेन्सर

काठमाडौं । नेपालमै सस्तो मूल्यको कोरोनाको ज्वरो नाप्ने उपकरणको रुपमा थर्मोग्राफिक सेन्सर विकास भएको छ । नेपालको प्रविधि बजारमा राम लक्ष्मण दाजुभाइको नामले सुपरिचित आविष्कारकहरुले यस्तो उपकरण तयार पारेका हुन् । 

एक महिना लामो लगातारको प्रयास स्वरुप यस किसिमको इकोनोमी मोडल तयार पार्न सकिएको आविष्कारक राम रिमाल बताउँछन् । आरएलटीआई ०.८ भर्सनको यो सेन्सर सार्वजनिक यातायात, होटेल तथा रेस्टुरेन्ट, शपिङ मल, स्कूल, सरकारी कार्यालय, बैंक, क्वारेन्टिन स्थल जस्ता ठाउँहरुमा प्रयोग गर्न सकिने छ ।

यो उपकरणले आठदेखि १५ सेन्टिमिटरको दुरीमा आउने कुनै पनि व्यक्ति तथा वस्तुको तापक्रम दुई सेकेन्डमै नाप्न सक्ने आविष्कारक रामप्रसाद रिमालले टेकपानालाई जानकारी दिए ।

उनका अनुसार थर्मोग्राफिक सेन्सरलाई ब्लूटूथमार्फत कुनै पनि एण्ड्रोइड मोबाइल तथा ट्याब्लेटसँग कनेक्ट गराउन सकिन्छ । यसका लागि छुट्टै एण्ड्रोइड एप समेत बनाइएको छ । दिनभर कति जना ज्वरो भएका मान्छे आए भन्ने कुराको रेकर्ड मोबाइल एपमै हेर्न मिल्छ । 

उपकरणले स्क्यान गरेका सबै विवरण लगातार रुपमा मोबाइलमा एपमा लाइभ हेर्न सकिन्छ । यति मात्र होइन, मोबाइलमा इन्टरनेट कनेक्सन छ भने यसरी संकलन भएको डेटा सोझै ‘नेशनल फिबर डेटा बेस’ को क्लाउडमा पठाउने सुविधा समेत यसमा छ ।

सरकारले विभिन्न स्थानमा यो उपकरण राखेर राष्ट्रिय स्तरमा ज्वरोको तथ्याङ्क संकलन गर्न सक्ने रिमालको भनाई छ । ‘हामी यो डेटा बेस सरकारलाई हस्तान्तरण गर्न चाहन्छौं,’ उनले भने, ‘सरकारले नलिएसम्म हामीले जति राम्रो उपकरण बनाए पनि यसले खासै अर्थ राख्दैन ।’ 

हालको डिभाइसले ब्लूटूथ बाहेक अन्य नेटवर्कलाई भने सपोर्ट गर्दैन । त्यसो त मोबाइल बिना नै यो उपकरणलाई स्वतन्त्र रुपमा प्रयोग गर्न भने सकिन्छ । यसमा पछिल्लो २० जनाको शरीरको तापक्रम रेकर्ड गरेर राख्न सकिने गरी २५६ बाइटको मेमोरी राखिएको छ । 

निषेधाज्ञाको बेला सञ्चालनमा रहेका बैंक तथा विभिन्न सरकारी कार्यालयहरुमा थर्मो गनले व्यक्तिहरुको तापक्रम नाप्ने गरिएको छ । जसले गर्दा सेक्युरिटी गार्ड तथा ज्वोरो नाप्ने व्यक्तिमा संक्रमणको जोखिम बढाएको छ । यस्ता व्यक्तिमा संक्रमण भएको खण्डमा कोभिड थप छिटो फैलिन सक्ने चिन्ता गर्न थालिएको छ ।

अर्कोतर्फ यसरी नापिएको तापक्रमको रेकर्ड अनलाइनमा नभएर ढड्डामा राख्ने गरिन्छ । जसलाई न कम्प्युटरमा चढाइन्छ न त सरकारलाई नै बुझाउने गरिएको छ । यस किसिमको जोखिम र समस्यालाई समेत राम लक्ष्मणले विकास गरेको थर्मोग्राफिक सेन्सरले हल गर्न सक्ने देखिन्छ ।

यो उपकरणमा क्यामेरा प्रयोग गरिएको छैन । त्यसो त भिडभाडमा समेत कोरोनाको ज्वोरो नाप्न सकिने गरी उनीहरुले थर्मोग्राफिक क्यामेरा यस अघि नै विकास गरिसकेका छन् । उक्त उपकरण हालसम्म १८ थानमा मात्र प्रयोगमा आउन सकेको छ । 

 उक्त उपकरणको लागत महंगो भएका कारण सस्तो विकल्पको रुपमा क्यामेरा बिनाको थर्मोग्राफिक सेन्सर विकास गरिएको राम रिमालले प्रष्ट्याए ।  

 ‘क्यामेरा नभएकाले यसबाट फेस डिटेक्सन गर्न भने सकिँदैन,’ उनले भने, ‘व्यक्तिको पहिचानका लागि यसमा उनीहरुको युनिक आईडीको रुपमा सम्पर्क नम्बर राख्नुपर्ने बनाएका छौं । ब्लूटूथमार्फत कनेक्सन भएको मोबाइल तथा ट्याब्लेटमार्फत यसमा मोबाइल नम्बर राख्नुपर्ने हुन्छ । नाम, ठेगाना जस्ता विवरण समेत राख्न सकिने फिचर पनि यसमा छ ।’

मोबाइल नम्बर राख्दा त्यसले कोरोनाका बिरामी ट्रेसिङ गर्न समेत सकिने रिमालको बुझाई छ । ‘वास्तवमा सुरक्षा गार्डलाई संक्रमणबाट जोगाउन सकियोस् भन्ने उद्देश्यका साथ नै यो डिभाइस तयार पारेका हौं,’ उनले भने । 

नेपालमा आविष्कारलाई नवप्रवर्तकको रुपमा नभएर व्यवसायीको रुपमा व्यवहार गरिने प्रवृत्ति देखेर राम रिमाल खिन्नता प्रकट गर्छन् । ‘हाम्रो खोज आविष्कारलाई व्यवसायको रुपमा नभएर यसले पार्ने प्रभावको रुपमा मात्रै बुझिदिए पनि हुन्थ्यो,’ उनी अपेक्षा मिश्रित रुपमा भन्छन् ।

नेपालमा पछिल्लो समय ज्वरो नाप्ने नाममा कमसल किसिमका थर्मल गन भित्रिरहेका छन् । त्यसको परीक्षण गर्ने अभ्यास छैन । त्यसैले बेलाबखत त्यस्ता उपकरणको गुणस्तर र प्रभावकारिताको विषयमा प्रश्न समेत उठ्ने गरेको छ ।

तर राम लक्ष्मणले विकास गरेको थर्मल क्यामेराले नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट मान्यता पाइसकेको छ । सोही किसिमको सेन्सर पछिल्लो पटक विकास गरिएको यो उपकरणमा समेत प्रयोग गरिएको छ । रिमालका अनुसार यसको एक्युरेसी लेभल प्लस/माइनस ०.३ डिग्री सेल्सियस छ ।

भिडियो

थर्मल क्यामेराले आधा सेकेन्डमै ६/७ जनाको शरीरको तापक्रम डिटेक्ट गर्न सक्ने भए पनि यसले चाहिँ दुई सेकेन्डमा एक जनाको तापक्रम मात्र मापन गर्न सक्छ ।

यस्ता छन् फिचर

थर्मोग्राफिक सेन्सरभित्र आईआर सेन्सर राखिएको छ, जसले व्यक्ति तथा वस्तु नजिक आएको डिटेक्ट गर्छ । ५०० ग्राम तौल रहेको यो उपकरणमा एसटीएमको माइक्रो प्रोसेसर राखिएको छ । 

यसमा राखिएको सिंगल पिक्सेलको थर्मल माइक्रोबोलोमिटर सेन्सरले तापक्रम डिटेक्ट (पत्ता लगाउने) गर्छ । उपकरणमा कलर टेम्प्रेचर समेत राखिएको छ । जसले तापक्रम अनुसार ज्वोरोको मात्रालाई बुझ्न सघाउँछ ।

यसमा ३२ देखि ३७.३ डिग्री सेल्सियससम्मको तापक्रम डिटेक्ट हुँदा हरियो बत्ती बल्छ । यस्तोमा ‘सामान्य तापक्रम’ को आवाज निस्किन्छ ।

३७.४ देखि ३८.५ डिग्री सेल्सयस तापक्रमलाई मध्यम तापक्रमको रुपमा पहेँलो कलरले जनाउँछ र चेतावनी स्वरुप अलार्म दिने गर्दछ । यसैगरी ३८.६ देखि ४२.९ डिग्री सेल्सियससम्मको तापक्रम फेला परेको खण्डमा भने रातो बत्ती बल्छ र सँगै जोखिमपूर्ण रहेको संकेतको रुपमा अलार्मको आवाज निस्किन्छ । 

यसमा बत्तीको कलर अनुसार साइरनको आवाज मिलाइएको छ । सँगसँगै मोबाइल एपमा समेत तापक्रमको मात्रा, कलर टेम्प्रेचर सँगसँगै अलार्म आउँछ । मोबाइलमा आफूले चाहेअनुसारको साउण्ड छनौट गर्न सकिने सुविधा दिइएको छ । 

तापक्रमको युनिट फरेनहाइट र सेल्सियसमा परिवर्तन गर्न मिल्ने विकल्प थर्मल सेन्सरमा राखिएको छ । यसमा छुट्टै ब्याट्री भने छैन । स्ट्याण्डबाई पावर सप्लाई ५० मिलिवाट मात्र रहेको यो उपकरण पावर ब्याङ्क र मोबाइलमा जोडेर चलाउन सकिन्छ । 

१०००० हजार एमएएचको पावरब्याङ्कको सहायताले यसलाई लगातार दुई दिनसम्म प्रयोग गर्न सकिने रिमालको भनाई छ । डीसी पाँच भोल्टको पावर सप्लाई सिस्टम रहेको यो उपकरणमा यूएसबी पोर्ट दिइएको छ । जसमार्फत मोबाइलको चार्जरमार्फत यसमा पावर पठाउन सकिन्छ ।

ब्लूटूथ मार्फत खुल्ला ठाउँमा यसले २०/३० मीटरसम्मको दुरीमा रहेको मोबाइलमा डेटा पठाउन सक्छ । जसले गर्दा सिसाभित्र बसेर सुरक्षित रुपमा अन्य व्यक्तिको शरीरको तापक्रम मापन गर्न सकिन्छ ।

कति छ मूल्य ?

खास गरी यो उपकरण सस्तो मूल्यमा बजारमा उपलब्ध गराउने प्रयास स्वरुप नै आविष्कार गरिएको राम रिमाल बताउँछन् । त्यसैले हाल यसको मूल्य १५ हजार रुपैयाँ देखि १८ हजार रुपैयाँ मात्र राखिएको छ । सकेसम्म यसलाई अझ सस्तो मूल्यमा बजारमा ल्याउने प्रयासमा राम लक्ष्मण लागिपरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३