close

ट्रम्पको टिकटक प्रतिबन्धबाट किन चिन्तित छ फेसबुक ?

टेकपाना टेकपाना

भदौ १०, २०७७ १९:१५

ट्रम्पको टिकटक प्रतिबन्धबाट किन चिन्तित छ फेसबुक ?

काठमाडौं । वर्तमान प्रविधिको क्षेत्रमा तात्तिएको विषय हो, चिनियाँ एप टिकटक र अमेरिकी सरकारबीचको द्वन्द्व । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अभिभावक कम्पनी बाइटड्यान्ससँग टिकटकको स्वामित्व अमेरिकी कम्पनीलाई बिक्री गर्न ९० दिनसम्मकाे अल्टिमेटम दिएका छन् ।

यसबीच सोमबार मात्र टिकटकले ट्रम्प प्रशासन विरुद्ध मूद्दा दायर गरेको छ । टिकटकले दायर गरेको मुद्दामा अमेरिकी सरकारी निकायले आफ्नो कम्पनीबारे पहिल्यै अनुसन्धान गरेर कुनै पनि गैरकानुनी काम नगरेको पुष्टि भइसकेको दाबी गरिएकाे छ ।

यता ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउनुअघि ड्यु प्रोसेसका लागि टिकटकलाई समय दिइएको थियो वा थिएन, यो अझै पनि अस्पष्ट छ । ट्रम्पको सुरुवाती कदम नै कार्यकारी आदेशको रुपमा आयो ।

ट्रम्पका अन्य धेरै कार्यकारी आदेशजस्तै यो पनि हचुवाको भरमा लेखिएको थियो र यसलाई समर्थन गर्ने कुनै पनि दशी प्रमाण त्यसमा राखिएको थिएन ।

अमेरिकाको वैदेशिक लगानी परिषदले वर्षौं समय लगाएर एउटा छुट्टै अनुसन्धान गरेको थियो । तर त्यसको प्रतिवेदन सधै गुपचुपमा राखियो, कहिल्यै सार्वजनिक गरिएन । 

ट्रम्पको कदमलाई निष्पक्ष आँखाले हेर्दा अनुचित मानिन्छ । तर, राष्ट्र सुरक्षाको कारण देखाएको हुँदा अमेरिकी कानुन विज्ञहरु याे कदमकाे समर्थन गर्छन् ।

अदालतले अहिलेका लागि ट्रम्पको कार्यकारी निर्देशनलाई भने बाइटड्यान्सको निवेदनमा सैद्दान्तिक रुपमा रोकिदिन सक्छ । यद्यपि टिकटक आफ्नो स्वामित्व बिक्रीका लागि लगातार वार्तामा छ । 

यसबीच कतै एउटा आशंका पनि उब्जिएको छ कि ट्रम्पको कार्यकारी आदेशको पछाडि कतै फेसबुकका सीईओ मार्क जुकरवर्गको त हात छैन ? वाल स्ट्रीट जर्नलमा प्रकाशित एउटा लेखमा गत वर्ष जुकरवर्गको वासिङटन लबीलाई लिएर यस्तो संकेत दिइएको छ ।

विश्वभर अमेरिकी टेक कम्पनीहरुको ‘सफ्टपावर प्रोजेक्सन’को महत्वलाई लिएर उक्त लबिङ केन्द्रित थियो । अझ बाइटड्यान्सको निषेधात्मक अभिव्यक्ति नीतिलाई लिएर जुकरवर्गले सार्वजनिक रुपमै आलोचनात्मक टिप्पणी गर्दै आइरहेका छन् ।

रह्यो कुरा फेसबुकको । अमेरिकी कंग्रेसको एन्टीट्रस्ट अनुसन्धानले पनि फेसबुकको भविष्यलाई असर पार्ने छैन भन्ने कुरा जुकरवर्ग र उनको कम्पनीले बुझिसकेको छ । तर जसै ट्रम्पले सशक्तरुपमा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी गरे र यसको असर देखिन सुरु भयो ।

यो नजिरबाट अहिले जुकरवर्ग पनि आतंकित छन् । यसअघि जुकरवर्गकाे फेसबुकले पनि एन्टीट्रस्टको प्रमाण र डेटा अमेरिकाको राष्ट्रिय स्वार्थमा प्रयोग हुनेसक्ने ललिपप ट्रम्प प्रशासनलाई देखाउँदै आइरहेको थियो ।

सोही अभियोगमा टिकटकले भने विश्वव्यापी आलोचना र बहिष्करण खेप्नुपर्‍यो । यद्यपि अमेरिका वा विदेशी भूमिको सत्ताधारी दललाई रुष्ट बनाएको खण्डमा आफ्नो अस्तित्वलाई संकट पर्ने त्रास जुकरवर्गलाई छ । 

यसैबीच गत सोमबार रोयटर्सको रिपोर्टअनुसार थाइल्याण्डका राजाबारे कुराकानी गर्ने करिब १० लाख सदस्य रहेको एउटा पेजलाई फेसबुकले ब्लक गरिदिएको थियो । उक्त ग्रुपमा राजा विरोधी पोस्टहरु राखिएकाे सरकारबाट गुनासो आएपछि फेसबुकले त्यस्तो कदम उठाएको हो ।

नि:सन्देह फेसबुकले त्यो ग्रुपमाथि आफ्नो इच्छाविपरित प्रतिबन्ध लगाएको थियो । मानिसहरुको आवाज बन्ने फेसबुकको उद्देश्य यस्ताे कदमले सफल हुनेमा शंका उब्जिएकाे छ । थाइल्यान्डमा फेसबुककाे चर्काे विराेध भइरहेकाे छ ।

अमेरिकामा टिकटकको दूर्भाग्यबाट फेसबुकलगायत उसका समकक्षी टेक कम्पनीहरुले नियामक (राज्य) सँगकाे सम्बन्धलाई व्यवस्थापन गर्नुपर्ने अचुक पाठ सिक्नुपर्नेछ ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३