close

थाहा पाइराख्नुहोस् उपयोगी सेटिङ, जीमेल-फेसबुकको पासवर्ड बिर्सिंदा काम लाग्छ

टेकपाना टेकपाना

भदौ १३, २०७७ १५:६

थाहा पाइराख्नुहोस् उपयोगी सेटिङ, जीमेल-फेसबुकको पासवर्ड बिर्सिंदा काम लाग्छ

काठमाडौं । वर्क फ्रम होमको अहिलेको समयमा मानिसहरु अफिसयल ल्यापटप वा डेक्सटपमा काम गरिरहेका हुन्छन् । यदि तपाईंले अफिसको ल्यापटप वा पीसी प्रयोग गरिरहनुभएको छ भने यसलाई फिर्ता दिनुअघि तपाईंले त्यसमा रहेको आफ्नो डेटा तथा पासवर्ड मेटाउन एकदमै जरुरी हुन्छ । 

ब्राउजर सेटिङमा जानुभयो भने त्यहाँ तपाईंका कयौं पासवर्ड सेभ भएर बसेको देख्नुहुनेछ । जसलाई डिलिट गर्न आवश्यक छ ।

गूगल क्रोम, मोजिला फायरफक्स वा अन्य कुनै ब्राउजरमा काम गर्नुहुन्छ भने लगईन गर्न आवश्यक हरेक वेबसाइटको पासवर्ड सेभ गर्न सोध्ने गर्छन् । यस्तोमा यदि तपाईंले ती सबै पासवर्ड सेभ गर्नुभएको छ भने, त्यहाँबाट चोरी हुने खतरा पनि रहन्छ । 

कति पासवर्ड सेभ छन्, यसरी हेर्नुहोस् ?

जब तपाईं गूगल क्रोम वा मोजिला फायरफक्समा जीमेल वा अन्य कुनै ईमेल आईडी लगईन गर्नुहुन्छ, त्यतिखेर तपाईलाई पासवर्ड सेभ गर्ने विषयमा सोधिन्छ । ठीक यसैगरी अन्यप्रकारका वेबसाइट वा प्लेटफर्म, जसमा पासवर्डबाट लगईन गर्नुहुन्छ, त्यसमा पनि सोध्ने गरिन्छ । 

यस्तोमा तपाईंको ईकमर्स, फेसबुक, ट्वीटर आदि कयौं पासवर्ड समेत सेभ भएर बस्छन् । यदि तपाईं गूगल क्रोम ब्राउजरको प्रयोग गर्नुहुन्छ भने यसको सेटिङभित्र पासवर्ड सेक्सनमा गएर तपाईंले सेभ भएका पासवर्ड हेर्न सक्नुहुन्छ । साथै यसरी सेभ भएका पासवर्डलाई डिलिट गर्न पनि मिल्छ । 

पासवर्ड हेर्न पछ्याउनुहोस् यी चरण 

  • सबैभन्दा पहिला गूगल क्रोमको सेटिमा जानुहोस् । 
  • अब पासवर्ड सेक्सनमा जानुहोस् वा माथि रहेको सर्च सेटिङमा गएर Password लेखेर सर्च गर्नुहोस् । 
  • पासवर्डको अगाडि दिइएको एरोमा क्लिक गर्नुहोस् । 
  • अब तलतर्फ स्क्रोल गर्नुहोस्, त्यहाँ तपाईंले सेभ भएका सबै पासवर्डको लिस्ट देख्नुहुनेछ । 
  • सबै पासवर्डहरु डट (थोप्लैथोप्ला भएको) को रुपमा देखा पर्नेछन् । जसको अगाडि रहेको आई बटन (आँखा जस्तो देखिने बटन) मा क्लिक गरी आफ्नो पासवर्ड हेर्न सक्नुहुन्छ । 
  • आई बटनमा क्लिक गरेपछि सिस्टमको पासवर्ड राख्नुपर्ने हुन्छ । अन्यथा जो कसैले यहाँबाट पासवर्ड हेर्न सक्छ । 
  • यदि तपाईंले कुनै पासवर्ड बिर्सिनु भएको छ भने यो तपाईंका लागि उपयोगी पनि हुनसक्छ ।
  • सँगसँगै यसको नकारात्मक पक्ष पनि छ । यदि कम्प्युटरको सिस्टम पासवर्ड कसैलाई थाहा छ भने  यहाँबाट तपाईंका पासवर्डहरु चोरी हुन सक्छन् । 

ब्राउजरमा रहेको पासवर्ड सुरक्षित गर्ने तरिका

जब तपाईं गूगल क्रोम, मोजिला पायरफक्स वा अन्य कुनै ब्राउजरमा काम गरिरहनु भएको हुन्छ, तब तपाईंले केही विशेष कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । जसबाट तपाईं आफ्नो पासवर्ड सुरक्षित राख्न सक्नुहुन्छ । 

आफ्नो ल्यापटप, पीसीको पासवर्ड सदैव बलियो बनाएर राख्नुहोस् । त्यसका लागि नम्बर, अल्फाबेट र स्पेसल क्यारेक्टरको प्रयोग गर्नुहोस् ।

यति गरेपछि पनि तपाईंलाई पासवर्ड सेभ गर्न ब्राउजरले सोध्नेछ । यस्तोमा त्यस्तो चिजमात्र सेभ गर्नुहोस्, जुन चोरी हुने खतरा छैन ।

गूगल क्रोमको सेटिङबाट पासवर्डमा गएर अफर टु सेभ पासवर्ड वा अटो साइन ईनलाई अफ गरिदिनुहोस् । क्रोमको सेफ्टीको लागि मास्टर पासवर्ड फर क्रोम एक्स्टेन्सनको प्रयोग गर्न पनि सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०