close

काठमाडौंका सीडीओसँगको अन्तर्वार्ताः मःमः र पिज्जा नखाँदैमा मरिँदैन

टेकपाना टेकपाना

भदौ १३, २०७७ १६:१२

काठमाडौंका सीडीओसँगको अन्तर्वार्ताः मःमः र पिज्जा नखाँदैमा मरिँदैन

कोरोना भाइरसको अहिलेको महामारीको समयमा अन्य मुलुकहरुमा किनमेलको नयाँ विकल्पको रुपमा ईकमर्सले अतुलनिय प्रगति गरेको छ । हालै मात्र अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोस महामारीमा भएको व्यवसाय वृद्धिकै कारण दुई सय अर्ब अमेरिकी डलर सम्पत्ति भएको संसारकै पहिलो व्यक्ति बने । तर नेपालमा भने फरक परिदृश्य देखा परेको छ । बिहीबार एकाएक काठमाडौंमा ईकमर्सको डेलिभरीमा हिँडेका कर्मचारीदेखि सञ्चालकसम्मलाई प्रहरीले एकााएक धरपकड गर्‍यो । निषेधाज्ञाकै अघिल्लो दिनसम्म निर्वाध रुपमा होम डेलिभरीको सेवा दिइरहेका उनीहरुलाई पूर्व सूचना समेत नदिएर प्रहरीले पक्राउ गरियो । जसको आधार उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बाट जारी निषेधाज्ञाको आदेश नै थियो । यसै पृष्ठभूमिमा रहेर काठमाडौंका सीडीओ जनकराज दाहालसँग टेकपानाले कुराकानी गरेको छ ।

यो महामारीको समयमा सर्वसाधारणको जनजीवनमा सघाइरहेका ईकमर्सको व्यवसाय बन्द गराउनुपर्ने अवस्थामा कसरी पुग्नु भयो ?

कारण महामारीबाट जोगाउनकै लागि हो । महामारीमा कुनै तर्कको अर्थ छैन । विज्ञहरुले अहिले चेन ब्रेक गरेर मान्छेहरुको आवतजावत ठप्प पार्नु पर्‍यो, हामी संक्रमण नियन्त्रण गर्छौं भनेर दाबी गरिरहेका छन् । त्यसै हिसावले हामीले निषेधाज्ञा जारी गरेका छौं । 

अहिलेको निषेधाज्ञाकाे बीचमा बिहान पाँच बजेदेखि सवा ९ बजेसम्म सबै खाद्यान्न पसलहरु निर्वाध रुपमा खुलेकै छन् । 

अहिले घरघरमा त्यस्ता पसलहरु छन् । नजिककैको पसलमा गएर दाल, चामल, तरकारी सजिलै किन्न सकिने अवस्था छ । यदि त्यो समेत नभएको भए होम डेलिभरी चाहिन्थ्यो होला ।

एक हप्तालाई मःमः पिज्जा नखाऔं, केही फरक पर्दैन । मरिँदैन । अहिले ईकमर्सका मानिसहरु प्रोटोकलको कुरा गरिरहेका छन् । उनीहरुको डेलिभरीमा हिँड्ने मान्छे मोटरसाइकलमा दशतिर दौडिन्छन् । यदि एकजनामा संक्रमण रहेछ भने २० घरमा संक्रमण फैलिने जोखिम हुन्छ । 

दोस्रो निषेधाज्ञाको तेस्रो दिन भइसक्यो । छलफल गरेरै अहिलेको अवस्थामा यो आवश्यक छैन भन्ने निश्कर्षमा पुगेका हौं । त्यसैले सीडओको आदेशमा पनि उहाँहरुको विषय नसमेटिएको हो । 

अहिले व्यवसायभन्दा पनि स्वास्थ्यको कुरा महत्वपूर्ण हो । सधैंभरी यसरी निषेधाज्ञा लगाएर ठप्पै पार्न सम्भव पनि नहोला । त्यस्तो अवस्थामा भोलि यो नीति परिवर्तन पनि हुनसक्छ । परिस्थितिले ईकमर्सको आवश्यकता पनि देखाउन सक्ला । अहिलेको अवस्थामा त्यो त्यति जरुरी छैन भन्ने लागेर हामीले सूचनामा उल्लेख गरेनौं । सूचनामा उल्लेख नभएका कामहरु बर्जित हुन्छन् ।

भनेपछि सवा नौं बजेसम्मको निर्धारित समयमा पनि ईकमर्सले डेलिभरी दिन नपाउने हो ?

मैले अघि पनि भने अहिलेको समय तपाईंले सुविधा खोज्ने होइन । एकछाक जाउलो खाएर भए पनि घरमा बसिदिनुहोस् भन्ने हाम्रो आग्रह हो । मानिसहरुलाई सहज होस् भनेरै बिहान सवा ९ बजेसम्म अत्यावश्यक खाद्यवस्तु विक्री गर्ने पसलहरु खोल्न दिएका छौं । त्यसैले नै हामीले अहिलेलाई होम डेलिभरी आवश्यक ठानेनौं । 

अहिले निश्चित समयसम्म पसल खुलिरहेका छन् । सीमित समयका लागि मात्रै पसलहरु खोल्दा त्यहाँ भिडभाड बढेको छ । मास्क, स्यानिटाइजर समेत प्रयोग नगरी पसलबाट हुने खरिद बिक्रीभन्दा मास्क, स्यानिटाइजर, पीपीई लगायतको सुरक्षा सावधानी अपनाएर दिइने होम डेलिभरी सुरक्षित होला नि हैन ?

यो विकल्प पनि हामीले सोचेका हौं । त्यसका लागि कि त सबै पसलहरु बन्द गरौं, होम डेलिभरी मात्रै खुल्ला छोड्नुपर्‍यो भनेर छलफल पनि भएको थियो । त्यसो गर्दा ज्यालादारीमा काम गर्नेहरुलाई समस्या पर्न सक्ने देखियो । यसरी एसएमएस पठाउन र अनलाइन चलाउन नजान्नेहरु भोकै मरुन भनेर सोच्न पनि मिल्दैन । 

त्यस्ता मानिसहरुले त पसलमै गएर किन्नुपर्ने होला नि ! 

एकथरीलाई यो निषेधाज्ञामा मःमः खान, पिज्जा खान सुविधा दिनु पर्‍यो । अर्कोथरी भोकै बस्नुपर्‍यो । त्यसो हुन सक्दैन । सबैका लागि पसल नै व्यवहारिक हुन्छ । दुवै थरी खुल्ला छोड्ने कुराले झन् धेरै भिडभाड बढ्छ । 

यदि होम डेलिभरी खुल्ला छोड्ने हो भने काठमाडौंमा पाँच सय मोटरसाइकल कुद्न थाल्छन् । 

सामाजिक दुरी कायम गर्न सरकारले गरेको आग्रह खोई ? यही नभएर त यो निषेधाज्ञा लगाउनु परेको हो । 

अहिले बिहान तरकारी बजारमा जानु भयो भने त्यहाँ मेलामा जस्तो भिडभाड देखिन्छ । अनि तपाईहरुको यस किसिमको व्यवस्थापनले कोरोना नियन्त्रण हुन्छ त ?

८० प्रतिशत जिम्मेवारी व्यक्तिको हुन्छ । २० प्रतिशत मात्रै हाम्रो हो । यदि तपाईं अनुशासित हुनु भएन भने लकडाउन गरे पनि निषेधाज्ञा जारी गरे पनि काम नै छैन । त्यसैले यी कुराहरु आफैले ख्याल राख्न जरुरी हुन्छ । 

यस्तोमा सुरक्षा सावधानीमा कडाई गरेर ईकमर्स परिचालन गर्दा उपयुक्त हुन्थ्यो होला नि त ?

त्यो विकल्प पनि हामी सोचिरहेका छौं । तर यो सीमित अवधिलाई चाहिँ बन्द गरौं भन्नेमा छौं । 

हुन त यहाँहरु संक्रमण फैलिन नदिने प्रयासमै हुनुहुन्छ । तर यस किसिमको निर्णयले होम डेलिभरीको बढी सुरक्षात्मक उपायलाई रोकेर कम सुरक्षात्मक उपाय अपनाएको जस्तो भयो नि होइन र ?

होम डेलिभरी खुल्ला राख्ने हो भने पसल बन्द गर्नुपर्छ । पसल खुल्ला छोड्ने हो भने होम डेलिभरी रोक्नुपर्ने हुन्छ । होम डेलिभरी चाहिँ हुनेखानेहरुको सुविधाको विषय मात्रै बन्न जान्छ । त्यसैले यस्तो गरिएको हो ।

पसलहरुलाई अहिलेकै अवस्थामा राखेर होम डेलिभरी खुल्ला राख्दा पसलको भिड कम हुनसक्थ्यो होला नि ?

त्यसो हुँदैन । हामीले त्यो अभ्यास पनि अपनाएर हेरिसकेका छौं । हामीले अभ्यास र अनुभवकै आधारमा यो निर्णय गरेका हौं । त्यसैले अहिले केही समयका लागि होम डेलिभरी नहुँदा पहाड नै खस्ने केही पनि छैन ।

तरकारी दैनिक रुपमा किन्न पर्ने भएको हुँदा त्यहाँ भिड भइरहेको हुन्छ । बाँकी चामल, चिनी, सलाई, दाल जस्ता खाद्यवस्तु तपाईं दिनहुँ त किन्नु हुन्न नि !  यस्ता सामान तपाईं दश दिनसम्म पुग्ने गरी एकै दिन किनेर राख्न सक्नुहुन्छ । 

चीनले ईकमर्स लगायतको प्रविधि प्रयोग गरैर कोरोना संक्रमण नियन्त्रण गर्‍यो । लकडाउनले गर्दा ईकमर्स फस्टाएर अमेरिकामा एलोन मस्कले किर्तिमानी रुपमा विश्वधनाढ्यको रुपमा उदाए । नेपालमा चाहिँ त्यही प्रविधि आत्मसाथ गर्ने कुरामा किन रोक ?

चीनसँग नेपाललाई तुलना गर्नै मिल्दैन । त्यहाँका मानिसहरुको अनुशासन र यहाँको अनुशासनको स्तर मिल्छ र ? सामान्य तीन वटा किसिमको सावधानी अपनाउन सरकारले आग्रह गरेको थियो । त्यो सावधान नअपनाएकै कारण लकडाउन र निषेधाज्ञा लगाउनु परेको हो । 

यसमा विभिन्न कोणबाट अनेक कुराहरु आइरहेका छन् । हामीले स्वास्थ्य मन्त्रालयसँगको परामर्शपछि सबै निकायहरुसँग छलफल गरेपछि नै यस्तो कदम उठाएका हौं । त्यसै अनुरुप होम डेलिभरी अहिले हाम्रो प्राथमिकतामा नपरेको हो । 

सूचना प्रविधिको आत्मसाथ गर्नु नै अहिलेको यो महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो भन्ने कुरा विश्वव्यापी रुपमा सबैले स्वीकारिसकेको विषय हो । यो तथ्य हामी नेपालमा  स्वीकार गर्न तयार छौं कि छैनौं ?

छौं । हामी त्यो तथ्य स्वीकार गर्न शत प्रतिशत तयार छौं । 

अनि प्रतिबन्ध लगाएर, निषेध गरेर त्यसलाई स्वीकार गरिएको ठहरिन्छ ?

प्रतिबन्ध लगाइएको चाहिँ होइन । अहिले यो महामारीको समयमा होम डेलिभरी नहुँदैमा खान नपाएर मान्छे मर्ने भन्ने अवस्था छैन । 

छ महिना भइसक्यो, सबैजसो गतिविधि ठप्प छन् । सधैंभरी यसरी मुलुकलाई ठप्प राख्नु समाधान त होइन होला नि ! खुल्ला छोड्ने भनेपछि सबै एकसाथ खोल्ला छोडिदिने अनि बन्द गर्ने भनेपछि सम्पूर्ण रुपमा ठप्प पारिदिने । यसलाई त उचित व्यवस्थापनको रुपमा मान्न सकिन्न नि होइन ?

 यसका  लागि विभिन्न तहमा र चणमा हामीले छलफल गरिरहेका छौं । सुरुमा सबै गतिविधि ठप्पा पारियो । बीचमा आर्थिक गतिविधि चलायमान बनाउनुपर्‍यो भनियो । त्यसै आधारमा बीचमा लकडाउन खोलिएको थियो । यस्ता सबै अनुभवको आधारमा नै अगाडि बढिरहेका छौं । 

अहिलेलाई हामीले १४ दिनका लागि अनुसासनमा बसिदिन भनिरहेका छौं । विज्ञहरुको परामर्शकै आधारमा अहिले यसरी ठप्प पार्नुपर्ने अवस्था आएको हो । सधैैभरी यसरी ठप्प पारेर पनि हुँदैन । यसको विकल्प खोज्नुपर्नेमा हामी पनि छौं । 

आपूर्ति मन्त्रालयले निषेधाज्ञाको समयमा ईकमर्स सञ्चालनका लागि गृहलाई पत्राचार गरेको भन्ने कुरा छ । गृहबाट त्यस किसिमको कुनै निर्देशन यहाँहरुलाई छ कि छैन ?

त्यस किसिमको कुनै निर्देशन आएको छैन । हामीले उपत्यकाका तीन वटै जिल्लाका सीडिओ, स्थानिय सरकार सबैसँगको छलफलका आधारमा नै अहिलेको निषेधाज्ञा जारी गरिएको हो । 

भाटभटेनी लगायत डिपार्टमेन्टल स्टोरको व्यवसाय घटेका कारण ईकमर्समाथि कडिकडाउ गरिएको भन्ने चर्चाहरु पनि सुनिन थालेका छन् । यसमा कत्तिको सत्यता छ ?

 त्यस्तो केही पनि होइन । हाम्रो सरोकार भनेको संक्रमण नियन्त्रण गर्नु हो । अरु कसको स्वार्थ कता जोडिएको छ भन्ने कुरामा पनि हामीलाई कुनै मतलव छैन । 

मानिसहरुको आवतजावत बढ्दा संक्रमणको जोखिम पनि बढ्छ भनिएको हुँदा त्यसलाई कम गर्नका लागि नै यस्तो नीति लिइएको हो । त्यसै अनुरुप नै अहिलेका लागि निषेधाज्ञालाई प्रभावकारी बनाउनु हाम्रो एक मात्र उद्देश्य हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०