close

बालबालिकामैत्री एप र भिडियोका लागि अब एन्ड्रोइडमा छुट्टै ‘किड स्पेस’

टेकपाना टेकपाना

भदौ १७, २०७७ २१:३७

बालबालिकामैत्री एप र भिडियोका लागि अब एन्ड्रोइडमा छुट्टै ‘किड स्पेस’

काठमाडौं । गूगलले सोमबार बालबालिका जन्य सामग्रीको नयाँ हब सार्वजनिक गरेको छ । किड स्पेस नाम दिइएको यो हबमा विज्ञहरुले तयार पारेका एप, भिडियो र पुस्तकहरु रहनेछन् । 

किड स्पेस हब गूगलले गत अप्रिलमा सार्वजनिक गरेको कार्यक्रम ‘टिचर अप्रुभ्ड’ ब्याजबाट प्रमाणित छ । हबमा रहेका सम्पूर्ण सामग्रीलाई शिक्षकहरुले नै रेट गर्ने गरेका छन् । 

गूगलसँगको साझेदारीमा शिक्षकहरुले ती सामग्रीहरु उमेर अनुकूल, पठनीय र सकरात्मक सन्देशको क्राइटेरियामा रहेर चयन गरेका हुन् । 

यसमा हुने भिडियो युट्युव किड्सबाट लिइएको हो । यो गूगलको वृहत् भिडियो साइटको बालमैत्री संस्करण हो । साथै गूगलले उक्त हबमा चार सयभन्दा धेरै निःशुल्क पुस्तकहरु समेत उपलब्ध गराउन प्रकाशकहरुसँग कुरा गरिरहेको बताएको छ । 

गूगलका अनुसार यो हब नौ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका लागि तयार पारिएको हो । यो एन्ड्रोइडको ट्याब्लेट र गूगलको मोबाइल अपरेटिङ सिस्टममा मात्र रन हुन्छ । एप्पलको आईप्याडमा भने यसलाई प्रयोग गर्न सकिन्न । 

चिनियाँ कम्पनी लेनेभोका केही ट्याब्लेटमा भने यो प्रिलोडेड रुपमा नै उपलब्ध हुनेछ । सोमबार लेनेभोले सार्वजनिक गरेको नयाँ उपकरण ट्याब एम टेन एचडी जेन टू मा पनि यो प्रयोग गर्न सकिन्छ । 

किड स्पेसका सबै सामग्रीहरु प्रयोगकर्ता बालबालिका अनुरुप विशेषीकृत गर्न सकिन्छ । यो सेवामा बालबालिका लक्षित विज्ञापन समेत नदेखाइने गूगलको युजर एक्सपेरियन्सकी निर्देशक माइन्डी ब्रुक्सले बताएकी छिन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०