close

लकडाउनपछिको ५ महिनामै एनसेलले गुमायो १४ लाखभन्दा बढी ग्राहक

टेकपाना टेकपाना

भदौ २४, २०७७ १२:१७

लकडाउनपछिको ५ महिनामै एनसेलले गुमायो १४ लाखभन्दा बढी ग्राहक

काठमाडौं । निजी मोबाइल सेवा प्रदाय कम्पनी एनसेलले लगातार रुपमा आफ्ना ग्राहक गुमाउँदै गएको छ । लकडाउन सुरु भएयता असार मसान्तसम्मको पाँच महिनाको अवधिमै कम्पनीले १४ लाख नौ हजार ७७२ ग्राहक गुमाएको छ । 

कम्पनीको सिम कार्ड नेपालमा काम गर्न आउने भारतीयले प्रयोग गर्ने गरेको र कोरोना महामारीका कारण उनीहरु आफ्नो देश फर्किएपछि त्यसको असर कम्पनीको ग्राहक आधार र आम्दानीमा परेको हुनसक्ने आँकलन गर्न थालिएको छ । 

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हरेक महिना प्रकाशित गर्दै आएको एमआईएस रिपोर्ट (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) मा कम्पनीका ग्राहक फागुनसम्म बढेको देखिए पनि त्यसपछिका महिनामा भने लगातार रुपमा घट्दै गएको देखिन्छ ।

कम्पनीले दुई लाख १० हजार ५७७, छ लाख ९१ हजार १०१, जेठमा तीन लाख ७५ हजार ६४३ र असारमा एक लाख ५४ हजार ४५१ ग्राहक घटेका छन् । ग्राहक गुम्दाको असर कम्पनीको आम्दानीमा समेत परेको छ ।

एनसेलको प्यारेन्ट कम्पनी आजीयाटाले हालै प्रकाशित गरेको सन् २०२० को दोस्रो त्रैमासिक प्रतिवेदनमा कम्पनीको आम्दानी गत वर्षको सोही अवधिको तुलनामा करिब पौने पाँच अर्ब रुपैयाँले घटेको छ । यद्यपी कम्पनीका ग्राहकले गर्ने खर्च समेत घटेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

तर अन्य प्रतिस्पर्धी कम्पनीका ग्राहक भने बढेको प्राधिकरणको तथ्याङ्क छ । फागुनमा एक करोड ७० लाख २९ हजार ९६९ जीएसएम ग्राहक रहेको टेलिकमले असारसम्म ग्राहक आधार चार लाख ५० हजार ९९५ ले बढाएर एक करोड ७४ लाख ८० हजार ९६४ पुर्‍याएको छ ।

त्यस्तै तेस्रो ठूलो मोबाइल सेवाप्रदायक कम्पनी स्मार्टले समेत यस अवधिमा ४२ हजार दुई सय ६३ ले बृद्धि गर्दै आफ्नो ग्राहक आधार २१ लाख ४७ हजार ८० बनाएको छ ।

एनसेलका ग्राहक भ्वाइस सेवामा मात्रै घटेका छैनन् । कम्पनीले फागुनयताको पाँच महिनाको अवधिमा ३१ हजार २३६ जना डेटा (थ्रीजी तथा फोरजी) प्रयोगकर्ता पनि गुमाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०