close

क्लिन फिड नीति छ महिना अघि कार्यान्वयनमा नल्याउन भारतीय संस्थाको आग्रह

टेकपाना टेकपाना

भदौ २५, २०७७ १८:४४

क्लिन फिड नीति छ महिना अघि कार्यान्वयनमा नल्याउन भारतीय संस्थाको आग्रह

काठमाडौं । भारतीय टेलिभिजन च्यानल प्रसारण संस्था इन्डियन ब्रोडकास्टिङ फाउन्डेसन (आईबीएफ)ले नेपाल सरकारलाई थप ६ महिना क्लिन फिड नीति कार्यान्वयनमा नल्याउन आग्रह गरको छ । आईबीएफले कोभिड–१९ को अहिलेको अवस्थामा क्लिन फिड लागु नरिदिन आग्रह गर्दै पत्राचार गरेको हो ।

आईबीएफले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको नाममा पत्र पठाउँदै हालको विषम परिस्थितिलाई ध्यानमा राखी नीति कार्यान्वयन छ महिना स्थगित गर्न आग्रह गरेको छ ।

पत्रमा भनिएको छ, ‘नेपाल सरकारको विज्ञापन (नियमन) ऐन २०७६ अक्टोबर २६ (कात्तिक १०) देखि लागु हुने हामीले बुझेका छौं । अहिले महामारीले विश्व नै आक्रान्त छ । भारतका साथै नेपालका कतिपय स्थानमा लकडाउन छ । यही लकडाउनकै बीचमा कार्यान्वयनको लागि दिइएको मध्ये ६ महिना बितिसेकको छ । त्यसैले नीति कार्यान्वन छ महिना स्थगित गर्न आग्रह गर्दछौं ।’

‘हालको अवस्थामा आफ्ना सदस्यहरु बाहिर निस्कएर भेन्डरहरुसँग सकार्य गर्ने, प्राविधिक परीक्षण गर्ने र त्यसलाई कार्यान्वयनमा ल्याउने लगायतका काम गर्न सक्ने अवस्था छैन,’ आईबीएफका सचिव राधाकृष्णनले लेखेको उक्त पत्रमा भनिएको छ, ‘यस्तो अवस्थामा हामीसँग आवद्ध डिलर, लोकल केवल अपरेटरहरुले क्लिन फिडका लागि आवश्यक डिकोडर बक्स जडान गर्नसक्ने अवस्था छैन ।’

तर यो विषयमा मन्त्रालय भने अनविज्ञ देखिएको छ । मन्त्रालयका सचिव बस्यालले आफूलाई यस्तो किसिमको कुनै पत्र नआएको बताए । उनले भने, ‘यो विषयमा मन्त्रालयमा कुनै पत्र आएको छैन । कुनै जानकारी नै नभएको विषयमा थप बोल्ने अवस्था कुरा पनि हुँदैन ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०