close

कारागारमा गुगल रिभ्यूको मजाकः ‘जिन्दगीमा एकपटक पुग्नैपर्ने ठाउँ’ !

टेकपाना टेकपाना

भदौ २६, २०७७ १५:४

कारागारमा गुगल रिभ्यूको मजाकः ‘जिन्दगीमा एकपटक पुग्नैपर्ने ठाउँ’ !

काठमाडौं । सामान्यतया हामी कारागार वा जेल भन्दा के कुरा सम्झछौं ? सिधा र प्रस्ट छः अपराध गरेकालाई सजाय कटाउन राख्ने ठाउँ ।

अनि त्यहाँको माहोल वा वातावरण कस्तो होला भनेर सम्झनु पर्दा कतिपय फिल्ममा देखाइएका दृश्यहरु हाम्रो मानसपटलमा घुम्न थाल्छन् । फोहोर, खाना खान आफ्नो थाल बोकेर लाइमा बस्नु पर्ने । खाना दिँदा थाल खुट्टाले ठेलेर दिने ।

यस्तै यस्तै परिकल्पना नै हो धेरैजसोले गर्ने । यस्ता कतिपय विषयमा परिकल्पना मात्रै नभएर सत्यता पनि छ । किन भने कारागार भन्ने बित्तिकै अपराध गरेकालाई राख्ने ठाउँ नै हो । तर, फिल्ममा देखाइए जस्तो फोहोर, अभद्र व्यवहार जस्ता सबै कुरा सबै कारागारमा हुन्छ भन्न चाहिँ सकिन्न ।

अहिलेको सूचना प्रविधिको जमानामा कुनै ठाउँको बारेमा बुझ्नुपर्‍यो भने गुगल रिभ्यू हेर्ने चलन चलेको छ । गुगलको म्यापमा गएर प्रयोगकर्ताले सम्बन्धित ठाउँको विषयमा आफ्नो भोगाई र अनुभव उल्लेख गरेर रेटिङ दिने गरिन्छ ।

यस्ता रेटिङ र रिभ्यूलाई आधार मानेर नयाँ व्यक्तिले त्यो ठाउँको विषयमा जानकारी लिइरहेका हुन्छन् । कुनै ठाउँ वा सेवा कस्तो होला भन्ने आफ्नो जिज्ञासा शान्त पार्नका लागि मात्र होइन, त्यो आफ्नो लागि उपयुक्त छ कि छैन भन्ने निर्णय लिने आधारको रुपमा समेत गुगल रिभ्यू र रेटिङलाई आधार बनाउने गरिन्छ ।

त्यसैले होटल, राम्रो स्थान, कुनै प्रडक्ट, सर्भिस, अफिस, लोकेशन, एप, परिकार, पसल आदि जस्ता अनेकमा राम्रा नराम्रा रिभ्यूहरु तपाईं हामीले देखिरहेका हुन्छौं ।

अनलाइनमा व्यक्त गरिने यस्ता धारणाबाट प्रडक्टको ख्याती नाप्ने गरिन्छ । जसको पछिल्लो ज्वलन्त उदाहरण भारतमा टिकटक विरुद्ध चलाइएको वान रेटिङ र नकारात्मक प्रतिक्रिया एक हो ।

यस्तै घटना नेपालमा ई–सेवा एपको सन्दर्भमा पनि देखिएको थियो । जसले गर्दा ती एपहरुको रेटिङ नै डाउन भएको थियो ।

ई–सेवा र टिकटक त प्रडक्ट हुन् । जसको सेवा लिने लाखौं प्रयोगकर्ता छन् । यस्तोमा कारागारको रिभ्यू कस्तो होला ?

के तपाईंले कहिल्यै गुगलमा कारागार तथा जेलको पनि रेटिङ र रिभ्यू हुन्छ भनेर ख्याल गर्नुभएको छ ? पक्कै पनि धेरैको नजरमा त्यो परेको छैन होला । किन भने कारागार र जेलको विषयमा गुगलमा सर्च गर्ने कमै हुन्छन् ।

तर नेपालका केही जेलका रिभ्यू तपाईंलाई रोचक अनि रमाइला लाग्नेछन् । जेलमा राम्रो अनि फाइभ स्टार होटलमा जस्तो सुविधा भएको भनेर कसैले जेलको रिभ्यू गर्ला भन्ने कुरा धेरैको परिकल्पना बाहिरको कुरा हो ।

तर, वास्तवमा कारागारका रिभ्यूले त्यस्तै देखाउँछ । ठट्टा नै सही, रिभ्यू हेर्दा त सायद सबैलाई कारागामा जाउँ जाउँ लाग्नेछ ।

डिल्ली बजारमा रहेको केन्द्रीय कारागारको विषयमा गुगल म्यापमा एकजनाले त ‘जिन्दगीमा एक पटक पुग्नै पर्ने ठाउँ’ भनेर रिभ्यू दिएका छन् । त्यहाँ गएर छतबाट देखिने दृश्यको बयान उनको रिभ्यूमा देखिन्छ ।

google review

ती रिभ्यूअर लेख्छन्, ‘साथीसँग समय बिताउनका लागि ठाउँ राम्रो छ । त्यहाँको सेवा अति नै राम्रो छ । खाना त्यस्तै मिठो छ । अनी त्यहाँका कर्मचारी त्यस्तै मिलनसार । जिन्दगीमा एक पटक अवश्य अनुभव लिनु होला । अझ त्यहाँ चाल्स शोभराज छन्, उनीसँगको कुराकानीको त कुरै छाड्नुस् ।’

त्यस्तै अर्का रिभ्यूअर लेख्छन्, ‘ट्वाइलेट सहित ठिकै खालका कोठा छन् । त्यहाँका कर्मचारी कहिले काहिँ अभद्र व्यवहार देखाउँछन् । यतिसम्म कि कहिले काहिँ कुट्छन् पनि । खाना ठिकै छ । खानामा साङ्लो फेला परेको थियो । ठिकै छ, त्यो प्रोटिन नै हो । औषतमा भन्नु पर्दा ठाउँ राम्रो छ । एक पटक अवश्य जानुहोला ।’

कतिपयले त ‘म धेरै पटक गएको छु, ठाउँ एकदमै शान्त छ’ भनेर समेत अनुभव शेयर गरेका छन् ।हामीले डिल्लीबजारका साथै अन्य कारागाको रिभ्यूलाई पनि केलाएर हेर्न कोसिस गर्‍यौं । त्यसमध्ये महोत्तरी जिल्ला कारागारको विषयमा दिइएको रिभ्यू पनि त्यस्तै थियो ।

फाइभ स्टार रेटिङका साथ ‘राम्रो जेल’ भने रिभ्यू दिइएको छ । त्यस्तै काभ्रे जिल्ला अदालतको विषयमा एक जना रिभ्यूअरले लेखेका छन्, ‘त्यहाँको वरपरको वातावरण निकै मनमोहक छ । वातावरणको मज्जा लिन र रिफ्रेश हुनको लागि उत्कृष्ट स्थान ।’

यस्ता रिभ्यूले त कारागार साथीसँग समय बिताउने, कुराकानी गर्ने, राम्रो खानपानको सुविधा भएको, आरामदायी कोठामा सुत्न मिल्ने, फ्रेश बनाउने, राम्रो दृश्यावलोकन गर्न मिल्ने ठाउँ भन्ने देखाउँछ । त्यसो त कारागाको विषयमा सबै सकारात्मक रिभ्यू भात्रै छन् भन्ने पनि होइन ।

कतिपयले नकारात्मक धारणा पनि दिएका छन् । तर, जतिले दिएका छन्, समग्रमा सकारात्मक रिभ्यू र राम्रो रेटिङ दिएका छन् । यस्ता रिभ्यू दिने केही व्यक्तिको प्रोफाइलमा लोकल गाइडको ट्यागसँगै ब्याच समेत छ ।

गुगलको लोकल गाइड कम्युनिटी नेपालका संस्थापक निरज भुसाल निश्चित संख्यामा रिभ्यू गरेपछि यस किसिमको ट्याग तथा ब्याज उपलब्ध हुने बताउँछन् । ‘कतिले ट्याग र ब्याज पाउनकै लागि जथाभावी रुपमा गुगल रिभ्यू लेखिरहेका हुन्छन्,’ उनले भने, ‘यस्तो कार्य स्पाम हो । यस्ता रिभ्यू बिरुद्ध रिपोर्ट प्राप्त भएको खण्डमा गुगलले त्यस्ता रिभ्यूअरलाई सधैंका लागि ब्लक गरिदिन्छ ।’

नोट : यो समाचारको उद्देश्य हाम्रा पाठकमाझ कारागार बारे सकारात्मक धारणा फैलाउने पक्कै पनि होइन । कतिपयले विभिन्न ठाउँ तथा सामग्रीका लागि अनलाइन रिभ्यूलाई नै पछ्याइरहेका हुन्छन् । त्यस्तोमा अनलाइनमा देखिने सबै रिभ्यू सही हुँदैनन् भन्ने सचेतनाका लागि मात्र यो स्टोरी तयार पारिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०