close

चिनियाँ मिडिया भन्छः माइक्रोसफ्ट वा ओराकल कसैसँग पनि टिकटक बिक्री हुँदैन

टेकपाना टेकपाना

भदौ २९, २०७७ १४:१४

चिनियाँ मिडिया भन्छः माइक्रोसफ्ट वा ओराकल कसैसँग पनि टिकटक बिक्री हुँदैन

काठमाडौं । सोमबार बिहानै एकाएक प्रविधि विश्व तरंगित बन्यो । टिकटक किन्ने होडबाट माइक्रोसफ्ट बाहिरिएको खबरसँगै अर्को अमेरिकी कम्पनी ओराकलले बाजी मारेको अनेक हल्लाहरु फैलिन थाले ।

तर यसैबीच चीनको सरकारी प्रसारण संस्था सीजीटीएनले श्रोतलाई उदृत गर्दै बाइड्यान्स माइक्रोसफ्ट वा ओराकल कसैलाई पनि अमेरिकी सञ्चालन बिक्री गर्ने पक्षमा नरहेको रिपोर्ट प्रकाशित गरेको छ ।

कन्टेन्ट रिकमण्डेसन एल्गोरिदममा बाइटड्यान्स विश्वकै मूल्यवान स्टार्टअप रहेको भन्दै आफ्नो सोर्सकोड कुनै पनि अमेरिकी कम्पनीलाई बिक्री नगरिने सीजीटीएनको सोर्सले भनेको छ । एउटा अर्को स्रोतले साउथ चाइना मर्निङ पोस्टसँग कम्पनी आफ्नो चर्चित भिडियो एपको सोर्सकोड बिक्री वा हस्तान्तरण गर्ने उद्देश्यका लागि नबनेको बताएको छ ।

बाइटड्यान्सले भने बजारका हल्लाहरुको विषयमा आफूले कुनै टिप्पणी नगर्ने बताएको छ । सुरुवाती समयमा बाइटड्यान्स र वासिङटनबीचको वार्तामा बेइजिङ स्पष्ट रुपमा अनुपस्थित रहेको थियो ।

तर डिलको समयसीमा समाप्त हुनै लाग्दै गर्दाको अवस्थामा भने निकै बदलाव देखिएको छ । जसको पटाक्षेपको रुपमा चीन सरकारले आफ्नो निर्यात सम्बन्धी कानूनी व्यवस्था परिवर्तन गरेको छ ।

जसले बाइटड्यान्सको आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको संभावित बिक्री तथा हस्तान्तरणलाई रोक्नसक्ने विश्लेषण हुँदै आएको छ । अहिले आएर चिनियाँ सरकारको तर्फबाट आएको रिपोर्टले नै ओराकलले डिल सुरक्षित गरेको हल्लाहरुलाई समेत अस्वीकार गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०