close

कनेक्ट आईपीएसमा जोडिए १६ वालेट, अब जुनसुकै बैंकबाट रकम लोड गर्न सकिने

टेकपाना टेकपाना

भदौ ३१, २०७७ १९:४

कनेक्ट आईपीएसमा जोडिए १६ वालेट, अब जुनसुकै बैंकबाट रकम लोड गर्न सकिने

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बाट सञ्चालित कनेक्ट आईपीएसमा आवद्ध हुने वालेटहरुको संख्या छ पुगेको छ । यससँगै अब जुनसुकै बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट सजिलै ती वालेटमा रकम लोड गर्न सकिने भएको छ ।

सन् २०११ बाट चेक क्लियरिङको रुपमा सुरु भएको एनसीएचएलले अहिले जटिल तथा महत्वपूर्ण भुक्तानी प्रणालीको पूर्वाधार खडा गरिसकेको छ । दोस्रो चरणमा बैंक खाताबाट गरिने ठूलो रकमको कारोबारका लागि इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस) सुरु गरेको कम्पनीले आफ्नो तेस्रो पेमेन्ट सिस्टमको रुपमा दुई वर्षदेखि कनेक्ट आईपीएस सञ्चालनमा ल्याएको छ ।

जसअन्तर्गत एनसीएचएलले सबै बैंक वित्तीय संस्थासँगै भुक्तानी सेवा प्रदायक (वालेट), भुक्तानी प्रणाली सञ्चालक, ठूलो कारोबार गर्ने सरकारी तथा अर्धसरकारी निकाय, कर्पोरेट संस्था आदिबीच अनलाइन कारोबारको अन्तरसञ्चालन प्रणालीको काम गरिरहेको छ ।

त्यसैअनुसार अहिले कनेक्ट आईपीएसमा १६ वटा वालेट तथा एउटा पीएसओ (भुक्तानी प्रणाली सञ्चालक) आवद्ध भइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिँह प्रधानले जानकारी दिए । ‘त्यसमध्ये ६ वटा वालेट त अहिले नै कनेक्ट आईपीएसको माध्यमबाट कारोबार गर्न मिल्ने गरी लाइभ भइसकेका छन्,’ उनले भने ।

हाल कनेक्ट आईपीएसको सिस्टममा लाइभ हुने वालेटमा खल्ती, आईएमई पे, पे टाइम, प्रभु पे, मोरु र क्यू पे रहेका छन् । यससँगै अब बैंक खाताबाट यी वालेटमा र यी वालेटबाट बैंक खातामा सहजै रकम ट्रान्सफर गर्न सकिने भएको छ ।

त्यतिमात्र होइन, कनेक्ट आईपीएबाट भुक्तानी गर्न सकिने सेवामा समेत उपलब्ध वालेट प्रयोग गर्न सकिने छ । कनेक्ट आईपीएसको एपीआईमा आवद्ध भएसँगै वालेटले एक आपसमा रकम ट्रान्सफर गर्न सकिने सेवा समेत ल्याउन सक्नेछन् ।

तर सेवाप्रदायक त्यसका लागि तयार भइनसकेको अहिलेको अवस्थामा भने प्रयोगकर्ताले अप्रत्यक्ष रुपमा वालेट ट्रान्सफर (एउटा वालेटको पैसा बैंक खातामा लगेर फेरी अर्को वालेटमा लैजाने) गर्नुपर्ने अवस्था छ । व्यवसायिक आवश्यकताको आधारमा वालेटहरुले नै त्यसको निर्णय लिन सक्ने प्रधान बताउँछन् ।

बजार त्यसका लागि परिपक्व नभएका कारणले पनि त्यसको प्रयोग नभएको हुनसक्ने प्रधानको विश्लेषण छ । हुन त पीएसपीहरुले आफ्नो वालेटमा रकम लोड गराएर त्यहिँबाट विभिन्न किसिमको भुक्तानी होस् भन्ने चाहेका हुन्छन् । त्यसरी भुक्तानी भएको अवस्थामा नै उनीहरुले आम्दानी गर्न सक्छन् ।

कनेक्ट आईपीएसबाट कसरी गर्ने वालेटको कारोबार ?

आफ्नो बैंक खाताबाट कुनै वालेटमा रकम जम्मा गर्न प्रयोगकर्तासँग कनेक्ट आईपीएसको अकाउण्ट समेत हुन जरुरी छ । लिङ्क गराएर भेरिफाई (प्रमाणीकरण) भएको बैंक खाताको कारोबार कनेक्ट आईपीएसको एपबाट सजिलै गर्न सकिन्छ ।

यसरी बैंक खाता कनेक्ट आईपीएसमा लिङ्क गराएर भेरिफाई भइसकेका प्रयोगकर्ताले आफ्नो वालेटमा रकम लोड गर्न र वालेटमा भएको रकम नगदको रुपमा झिक्न सक्नेछन् ।

कनेक्ट आईपीएसमा लग ईन गरिसकेपछि एपमा रहेको वालेट अप्सनबाट सहजै रकम लोड गर्न सकिनेछ । यस बाहेक सम्बन्धित वालेटमा समेत कनेक्ट आईपीएसको लोगो देख्न सकिनेछ ।

वालेटको रकम नगदको रुपमा झिक्नका लागि भने वालेटमा रहेको क्यासआउटमा कनेक्ट आईपीएसको विकल्प रोजेर कुनै पनि बैंक खातामा जम्मा गर्न सकिनेछ ।

तर विभिन्न बैंकको मोबाइल बैंकिङमा उपलब्ध कनेक्ट आईपीएसको विकल्पमार्फत वालेटमा रकम लोड गर्न भने हाललाई मिल्ने छैन । किन भने बैंकहरुले आफ्नो मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएसको सुविधालाई अर्को बैंकमा रकम ट्रान्सफर गर्न सकिने प्रयोजनका लागि मात्रै खुल्ला गरेका छन् ।

एनसीएचएलका सीईओ प्रधानका अनुसार बैंकहरुलाई मोबाइल बैंकिङ एपबाट वालेट लोडसँगै कनेक्ट आईपीएसमा रहेका सबै भुक्तानी गर्न सकिने गरी एपीआई खुल्ला छोडिएको छ । सम्बन्धित बैंकले चाहेको खण्डमा प्रयोगकर्तालाई सहजै त्यस्तो सुविधा दिन सक्ने उनको भनाई छ ।

अन्य वालेटको सेवाका लागि समेत एपीआई जोड्नेदेखि परीक्षणसम्मको कार्य सम्पन्न भइसकेको छ । तर ती वालेटहरुले नेपाल राष्ट्र बैंकबाट एलओआई मात्र पाएको भन्दै प्रधानले पूर्ण लाइसेन्स पाए लगत्तै लाइभमा राखिने बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०