close

एउटा सिफारिसमा अल्झेको नेपाली मिसन

गोपाल साउद गोपाल साउद

असोज २, २०७७ ११:४७

एउटा सिफारिसमा अल्झेको नेपाली मिसन

काठमाडौं । भर्खर अण्डर ग्र्याजुएट गरिरहेका भर्खरका युवा । नेपालमा अहिलेसम्म कसैले नगरेको काम । कुनै अनुभव पनि नभएका ।

न त बाटो देखाइदिने कोही । यस्ता अनेक प्रतिकूलताबीच नेपाली युवा वैज्ञानिकहरु नेपालमै पहिलो पटक स्याटेलाइट बनाएर अन्तरिक्षमा पुर्‍याउने सपना पुरा गर्ने संघारमा छन् । 

ओरियन स्पेस नामक स्टार्टअप कम्पनीले बनाएको ‘सानो स्याट वान’ नेपालकै पहिलाे पकेट क्युव स्याटेलाइट हो । आजभन्दा करिब चार वर्ष अघि इन्जिनियर तथा युवा वैज्ञानिक द्वय सौरभ पौडेल र जितेन थापा काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा पढिरहेका थिए ।

राकेशचन्द्र प्रजापति (ओरियन स्पेसका सीईओ) सँगको सम्पर्कमा रहेर केही समय क्यान स्याट नामक परियोजनामा काम गरे । स्याटेलाइट कसरी बन्छ भन्ने विषय सिक्ने सन्दर्भमा सुरु भएको स्याटेलाइटले अन्ततः आफ्नो दायरा विस्तार गर्दै वास्तविक स्वरुप नै ग्रहण गर्ने दिशा पकड्न सफल भएको छ । 

सन् २०१८ मा सुरु भएको यो परियोजनालाई अन्तिम विन्दुसम्म पुर्‍याउन सकिने विषयमा युवा वैज्ञानिक टोली आफैमा विश्वस्त थिएन । ओरियन स्पेसमा आवद्ध भइसकेपछि उनीहरुले पहिलो मोडेल तयार पारे ।

त्यही मोडेलको विकासले उनीहरुलाई नेपालमै स्याटेलाइट बनाउन सकिने आत्मविश्वास भरेको हो ।स्याटेलाइटका लागि दुई वटा मोडेलमा सँगसँगै काम गरिरहेको ओरियन स्पेसले इन्जिनिरिङ मोडेल यस अघि नै तयार पारिसकेको छ ।

अहिले फाइनल मोडेल समेत अन्तिम चरणमा छ । यही फाइनल मोडेल नै अन्तरिक्षमा जानेछ । 

ओरियन स्पेसका वैज्ञानिकहरु ग्राउण्ड स्टेसनका लागि आवश्यक उपकरण तथा पूर्वाधारको तयारीको काममा समेत जुटिसकेका छन् । सामान्यतया स्याटेलाइटले औषत ९० मिनेटमा पृथ्वीलाई एक फन्को लगाई सक्छ ।

यस्तोमा स्याटेलाइटले क्षितिजको एउटा कुनामा प्रवेशदेखि अर्को कुना नकटुञ्जेलसम्म ग्राउण्ड स्टेसनबाट त्यससँग सञ्चार स्थापित गर्न सकिन्छ । 

त्यसका लागि ग्राउण्ड स्टेसनमा रहने एन्टेनाले स्याटेलाइटलाई ट्र्याक गर्नुपर्ने हुन्छ । कम्पनीले अहिले ओपन सोर्समा आधारित रोटर सिस्टममा रहेर स्याटेलाइटलाई ट्र्याक गर्ने योजनामा काम गरिरहेको छ । 

अल्झेको मिसन

नेपालमै पहिलो पटक बनेको स्याटेलाइट यही हो ।  सरकारलाई समेत स्याटेलाइट प्रक्षेपण गर्ने प्रक्रिया र सहजीकरणका लागि निभाउनुपर्ने भूमिकाको आवश्यक जानकारी नहुनु स्वभाविक नै मान्न सकिएला । 

तर नेपालमै स्याटेलाइट बनाएर अन्तरिक्षमा पुर्‍याउने उद्देश्य बोकेका युवा वैज्ञानिकहरुको सरकारसँग त्यति ठूलो अपेक्षा पनि थिएन । जम्माजम्मी स्याटेलाइट प्रक्षेपणका लागि आईटीयूबाट लाइसेन्स लिन सरकारको एउटा सिफारिसपत्र आवश्यक थियो ।

त्यसका लागि ओरियन स्पेसले सिफारिसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मुख एक वर्षसम्म ताकेरै बस्यो । तर सरकार एउटा सिफारिसका लागि समेत असमर्थ देखियो ।

लाइसेन्स नपाउँदा स्याटेलाइट प्रक्षेपण नै रोकिने भयो । आफ्नै देशको सरकारले असहयोग गरे पनि युवा वैज्ञानिकहरु आफ्नो आफ्नो उद्देश्यबाट विचलित भने भएनन् ।

बरु अन्य विकल्प खोजेर भए पनि स्याटेलाइट प्रक्षेपण गरिछाड्ने अठोट गरे । लाइसेन्सकै लागि भौतारिँदा एक वर्ष त्यसै बित्यो ।

सन् २०१९ को डिसम्बरको फाल्कन ९ रकेटसँगै स्याटेलाइट प्रक्षेपणको योजना बनेको थियो । जसका लागि ४० हजार यूरो रकम आवश्यक थियो । 

क्राउड फण्डिङबाट उक्त रकम जुटाउने योजना कम्पनीले बनाएका थिए । तर क्राउड फण्डिङ र प्रक्षेपणका लागि रकेट बुकिङ गराउन लाइसेन्स पहिलो शर्त थियो ।

लाइसेन्स नै दुवै विषयमा बाधक बन्यो । जसले गर्दा पहिलो प्रयासमा स्याटेलाइट प्रक्षेपण हुन सकेन ।

 नेपाल सरकारले लाइसेन्सका लागि सहयोग नगरेपनि अहिले कम्पनीले स्पेनबाट त्यसको लाइसेन्स लिएको छ । जसअनुसार अब स्न २०२१ को फेब्रुअरीमा लञ्चका गर्ने तयारी भइरहेको छ ।

हालसम्म क्राउड फण्डिङबाट आठ लाख रुपैयाँ रकम जुटेको छ । अबको बाँकी समयमा स्याटेलाइट प्रक्षेपण गर्न आवश्यक लगानी जुट्ने विश्वासमा स्टार्टप छ ।  

अम्योचर ब्याण्डको फ्रिक्वेन्सीमार्फत ग्राउण्ड स्टेसनबाट स्याेलाइटमा डेटा अपलिङ्क गराउनुपर्ने हुन्छ । यस किसिमको फ्रिक्वेन्सीका लागि समेत स्टार्टअपले सरकारबाट लाइसेन्सको अपेक्षा गरेको छ । 

डाउनलिङ्क गर्न भने फ्रिक्वेन्सीको खासै समस्या नहुने  बताइएको छ । सरकारबाट फ्रिक्वेन्सी नपाएको खण्डमा खण्डमा अपलिङ्कका लागि समेत स्पेनकै भर पर्नुपर्ने सौरभ बताउँछन् । 

सरकारले सहजीकरण नगरिदिँदा परियोजनाको समय पनि तीन वर्ष भइसकेको छ । समय लम्बिँदै जाँदा यसको लागत समेत बढेको छ ।

लागत बढ्दै गएपछि त्यसको खर्च धान्न कम्पनीले क्राउड फण्डिङलाई माध्यम बनाएको छ । स्याटेलाइट बनाउन सुरुदेखि अहिलेसम्म १५ लाख रुपैयाँ खर्च भइसकेको छ । यसलाई प्रक्षेपण गरी मिसन पुरा गर्दासम्म ५० लाख रुपैयाँ लाग्ने ओरियन स्पेसले जनाएको छ । 

प्रक्षेपणको प्रयास

स्याटेलाइट प्रक्षेपण पूर्व यसको वातावरणीय परीक्षण समेत गराउनुपर्ने हुन्छ । अहिले सामान्य वातावरणमा स्याटेलाइट बनिरहेको भए पनि त्यो अन्ततः अन्तरिक्षमा पुग्नेछ । 

Nepal Made first sattelite

त्यसक्रममा रकेटको भाइब्रेसन, त्यसमा हुने स्टेज, अन्तरिक्षको वातावरण, पृथ्वीको कक्षमा परिक्रमा गर्दा सामना गर्नुपर्ने उच्च तथा न्यून तापक्रमको उतार चढाव आदिका लागि स्याटेलाइटको वातावरणीय परीक्षण गर्नुपर्ने हुन्छ । 

यस किसिमको परीक्षण नेपालमा संभव नहुने भएपछि स्पेनमा गर्ने तय भएको सौरभले बताए । ‘वातावरणी परीक्षण भएपछि स्याटेलाइटलाई इन्टिग्रेट गरेर अमरिका पठाउँछौं,’ उनले भने, ‘यसरी आउँदो २०२१ को फेब्रुअरीमा हाम्रो स्याटेलाइट अन्तरिक्षका लागि उड्नेछ ।’

किन जरुरी ?

यस अघि नेपालको नामको पहिलो स्याटेलाइट ‘नेपाल स्याट वान’ जापानमा बनेको थियो । नास्टबाट अध्ययन तथा अनुसन्धानका लागि जापान  गएका दुई जना वैज्ञानिकले उक्त स्याटेलाइट तयार पारेका थिए । 

जुन करिब एक वर्ष अघि मात्रै प्रक्षेपण गरिएको थियो । उक्त स्याटेलाइटको मुख्य उद्देश्य क्यामेरा मिसन रहेको थियो । तर ‘सानो स्याट वान’ को मिसन भने फरक छ । 

नेपालमै स्याटेलाइट बनाएर प्रक्षेपण गर्ने कार्य आफैमा आविष्कारको क्षेत्रमा मुलुकका लागि ऐतिहासिक प्रयास हो । यसले भविष्यमा आधुनिक तथा ठूलो आकारको स्याटेलाइट लञ्च गर्ने स्तरसम्म नेपालको क्षमतालाई विकास गर्ने आधार बनाउने छ । 

त्यसैले यो स्याटेलाइटको मिसनलाई मुख्य रुपमा शैक्षिक उद्देश्यमा केन्द्रीत गरिएको छ । ओरियन स्पेस स्याटेलाइट विकास, त्यसका लागि आवश्यक पर्ने ग्राउण्ड स्टेसन कसरी बनाउने भन्नेमा मात्रै सीमित छैन, विभिन्न स्थानमा गएर त्यसको ट्रेनिङ समेत दिँदै आएको छ ।

सँगसँगै अनुसन्धानका लागि समेत यो परियोजना महत्वपूर्ण हुने इन्जिनियर तथा वैज्ञानिक जितेन बताउँछन् । ‘हाम्रो अर्को मिसन भनेको डिजिपिटर हो,’ उनी त्यसलाई प्रस्ट्याउँदै भन्छन्, ‘त्यो भनेको म्यासेज रिले सिस्टम जस्तै हो ।

उदाहरणको रुपमा हिम पहिरो वा कुनै निश्चित भागमा (जहाँ मानिस गएर डेटा लिन सकिँदैन) राखिएको सेन्सरले स्याटेलाइटमा सन्देश पठाउँछ र स्याटेलाइटले उक्त सन्देश ग्राउण्ड स्टेसनमा रिले गरिदिन्छ ।’

यो स्याटेलाइटको पेलोडमा रहने अर्को महत्वपूर्ण चिज भनेको रेडियसन सेन्सर पनि हो । जसले अर्बिट वरपरको रेडियसन डेटा मापन गरेर ग्राउण्ड स्टेसनमा पठाउनेछ । 

त्यो डेटाको आधारमा अनुसन्धानकर्ता तथा विद्यार्थीहरुले कुन अर्बिटमा कति रेडियसन हुन्छ भन्ने कुराको जानकारी संकलन गर्न सक्नेछन् । वैज्ञानिक सौरभ पौडेल यो परियोजनाले विद्यमान समस्या समाधान गर्ने दिशामा परीक्षण तहको काम गर्ने बताउँछन् ।

‘तर हामी सुरुमै एप्लिकेसनको लेभलमा जान भने सक्दैनौं,’ उनी भन्छन्, ‘यो खास गरेर भविष्यमूखी अवधारणामा आधारित परियोजना हो ।

भोलिको समयमा हामीले अरु स्याटेलाइट बनाउँदा यो अनुभव र परीक्षणले हामीलाई धेरै नै सहयोग पुर्‍याउन सक्छ ।

Jiten Thapa and Saurabh Paudel from Orion Space
सानो स्याट वानका आविष्कारक युवा वैज्ञानिक सौरभ पौडेल र जितेन थापा

अहिले यसले हाम्रो अवधारणा पुष्टी गर्ने दिशामा काम गर्नेछ । जसबाट हामी भविष्यमा पेलोडको आकारसँगै नयाँ मिसनहरु थप्दै लैजान सक्छौं ।’ 

स्याटेलाइट लञ्च गरिसकेपछि त्यसबाट प्राप्त गर्न सकिने सबै डेटाहरु ओपनसोर्समा राखिनेछ । त्यतिमात्र होइन, स्याटेलाइट कसरी बनाउन सकिन्छ भन्ने भन्ने सम्पूर्ण अवधारणा नै ओपनसोर्समा रहने सौरभको भनाई छ ।

यसबाट इच्छुक जोकसैले स्याटेलाइटको बारेमा सिक्न र ज्ञान आर्जन गर्न सक्ने छन् । ‘एक किसिमको प्रोटोकल बनाएर विद्यार्थीहरुलाई हामी स्याटेलाइटबाट डेटा कसरी प्राप्त गर्ने भन्ने सन्दर्भमा आफैं एक्सेस गर्न सक्ने व्यवस्था समेत मिलाउँदै छौं,’ उनी भन्छन् ।

स्याटेलाइट बनाउन आवश्यक प्रोटोटाइप तथा किटहरु विद्यार्थीहरुका लागि उपलब्ध गराउने र विभिन्न कलेजमा गएर ट्रेनिङ दिने काम पनि ओरियन स्पेसले सुरु गरिसकेको छ । यस किसिमको तालिम नेपालका ६/७ वटा कलेजसँगै श्रीलंका र पाकिस्तानमा गएर समेत दिइसकेको छ । 

स्याटेलाइटको आयू

यसकाे आयू छ महिनादेखि एक वर्षसम्मको हुने अनुमान छ । स्याटेलाइट जति लो अर्थ बिट (पृथ्वीबाट तुलनात्मक रुपमा नजिकको दुरी) मा रहेर पृथ्वीको परिक्रमा गर्छ, त्यसको आयू त्यति नै कम हुन्छ । 

सामान्यतया यो स्याटेलाइटले ९० डिग्री माथि हुँदा ५०० किलोमिटर टाढाबाट पृथ्वीलाई परिक्रममा गर्नेछ भने कोणअनुसार त्यसको उचाई बढी पनि हुन सक्छ । जुन घुम्दै पृथ्वीको कक्षभित्र प्रवेश गरेपछि वायुमण्डलको घर्षणले आफैं जलेर नष्ट हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०