close

साढे १० हजार ठाउँमा ब्रोडब्यान्ड इन्टरनेट जडान, सम्झौता अनुसार ७३ प्रतिशत काम सम्पन्न

टेकपाना टेकपाना

असोज १२, २०७७ ८:०

साढे १० हजार ठाउँमा ब्रोडब्यान्ड इन्टरनेट जडान, सम्झौता अनुसार ७३ प्रतिशत काम सम्पन्न

काठमाडाैं । देशभर ब्रोेडब्यान्ड नेटवर्क तथा कनेक्टिभिटी पुर्‍याउने उद्देश्यअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएका परियोजनाको सम्झौता भएमध्ये ७२.७० प्रतिशत काम सम्पन्न भएको समाचार गाेरखापत्रले प्रकाशित गरेकाे छ ।

प्राधिकरणका अनुसार भदौ मसान्तसम्म १० हजार ५१८ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट जडान भइसकेको छ । ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत कुल १८ प्याकेजमध्ये प्राधिकरणले १७ वटा प्याकेजमा सम्झौता गरेको छ ।

सम्झौता अनुसार कुल १४ हजार ४६८ स्थानमा ब्रोडब्यान्ड जडान गर्नुपर्नेमा हालसम्म उल्लेखित प्रगति भएको प्राधिकरणले जनाएको छ ।

जडान भएमध्ये ४६९ स्थानीय निकायको कार्यालय, तीन हजार ९३७ वडा कार्यालय, तीन हजार २९० माध्यमिक विद्यालय र दुई हजार ८२२ स्वास्थ्य संस्था छन् ।

प्राधिकरणले कुल १८ वटा प्याकेजमा गरी देशभर १६ हजार ६०१ स्थानमा ब्रोडब्यान्ड जडान गर्ने लक्ष्य राखेको छ ।

ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेर प्राधिकरणले अनुमति प्राप्त सेवा प्रदायकलाई प्रतिस्पर्धा गराएर ब्रोडब्यान्ड नेटवर्क विस्तार र जडानको जिम्मेवारी दिएको छ ।

यो परियोजनाका लागि पाँच अर्ब २६ करोड ९७ लाख रुपियाँको सम्झौता भए पनि भदौ मसान्तसम्म दुई अर्ब ६२ करोड १४ लाख रुपियाँ मात्र भुक्तान गरिएको प्राधिकरणले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०