close

हल्ट प्राइजका लागि पोखरा विश्वविद्यालयका विद्यार्थी आन्तरिक प्रतिस्पर्धामा

टेकपाना टेकपाना

असोज १५, २०७७ १३:१५

हल्ट प्राइजका लागि पोखरा विश्वविद्यालयका विद्यार्थी आन्तरिक प्रतिस्पर्धामा

काठमाडौं । हल्ट प्राइजका लागि पोखरा विश्वविद्यालयका विद्यार्थीको आन्तरिक प्रतिस्पर्धा आयोजना हुने भएको छ । विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ नेपाल इन्जिनियरिङ कलेज (नेइक) मा आयोजना हुने भएको हो ।

पोखरा विश्वविद्यालय अन्तर्गतका विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउने यो आन्तरिक प्रतिस्प्रर्धा आगामी डिसेम्बरमा आयोजना हुनेछ । हल्ट प्राइजका लागि विभिन्न समितिमार्फत कार्यक्रमको तयारी अगाडि बढाइएको हल्ट प्राइज नेइकका क्याम्पस निर्देशक निरज बिकेले बताए । 

दीगो विकासका लक्ष्यहरुलाई मध्यनजर गर्दै ‘फुड फर गुडः ट्रान्सफरमिङ फुड इनटु भेहिकल फर चेञ्ज’ च्यालेञ्जमा  यस वर्षको प्रतिस्पर्धा आयोजना हुनेछ । विद्यार्थीहरुले आफ्नो समूह बनाएर यसमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

यस च्यालेञ्जमा उत्कृष्ट सामाजिक तथा व्यवसायिक योजना प्रस्तुत गर्ने विद्यार्थीको समूह अर्को चरणको   क्षेत्रीय प्रतिस्पर्धाका लागि छनौट हुनेछ । निर्देशक बिकेका अनुसार एक वर्षसम्म चल्ने यो कार्यक्रमको ग्लोबल विजेताले  पुरस्कार स्वरुप दश लाख अमेरिकी डलर पाउने छन् ।  

खाद्य सुरक्षा ,शुद्ध खानेपानी, शिक्षा र ऊर्जाको क्षेत्रमा रहेका विश्वव्यापी साझा सामाजिक समस्याको चुस्त समाधान खोज्ने उद्देश्यले  हल्ट प्राइज फाउन्डेसन र संयुक्त राष्ट्रसंघको सहकार्यमा हल्ट प्राइज प्रत्येक वर्ष विश्वभर आयोजना हुँदै आएको छ ।

सन् २००९ मा सुरु भएको यो प्राइजमा पहिलो वर्षमा २५ देशका एक हजार विद्यार्थी सहभागी बनेका  थिए । हल्ट प्राइजको यो प्रतिस्पर्धामा  अहिले विश्वका १२० देशका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीहरुले भाग लिने छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०