close

नयाँ स्मार्टफोन खरिद गर्ने बिचारमा हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी कुरा

टेकपाना टेकपाना

असोज २८, २०७७ २१:३

नयाँ स्मार्टफोन खरिद गर्ने बिचारमा हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी कुरा

काठमाडौं । स्मार्टफोन बजारमा प्रायः हरेक दिन नयाँ नयाँ स्मार्टफोन सार्वजनिक भइरहेका हुन्छन् । स्मार्टफोनबीचको प्रतिस्पर्धा बढिरहँदा सँगसँगै ग्राहकलाई आफ्ना लागि उपयुक्त स्मार्टफोन छनौट गर्न निकै दुविधा भइरहेको हुन्छ ।

किन भने बजारमा आउने हरेक नयाँ स्मार्टफोन कुनै न कुनै हिसाबले उत्कृष्ट हुन्छ । नयाँ स्मार्टफोन खरिद गर्नु अघि तपाईंमा उत्पन्न हुने दुविधा दूर गर्न आज हामी तपाईंलाई केही टिप्स दिँदैछौं ।

यस्तोमा तपाईंले केही कुरामा ध्यान दिनु भयो भने स्मार्टफोन खरिद गरिसकेपछि निराश हुनुपर्ने छैन । 

सुरुमा आफ्नो बजेट तय गर्नुहोस्

नयाँ स्मार्टफोन खरिद गर्नुअघि तपाईं कति मूल्यको स्मार्टफोन खरिद गर्दै हुनुहुन्छ, सबैभन्दा पहिले आफ्नो बजेट तय गर्नुहोस् ।

किन भने बजारमा तपाईंले कम मूल्यदेखि प्रिमियम रेञ्जसम्मका स्मार्टफोन सहजै फेला पार्न सक्नुहुन्छ । यदि तपाईंले यसरी सुरुमै बजेट तय गर्नुभयो भने त्यसै रेञ्जका स्मार्टफोन छनौट गर्न तपाईंलाई सहज हुनेछ ।

अपरेटिङ सिस्टम

नयाँ स्मार्टफोन खरिद गर्दा त्यसमा पछिल्लो अपरेटिङ सिस्टम भए नभएको यकिन गर्नुहोस् । यदि तपाईं एन्ड्रोइड स्मार्टफोन खरिद गर्ने योजनामा हुनुहुन्छ भने कमसेकम एन्ड्रोइड नाइन ओएसमा आधारित स्मार्टफोन रोज्नुहोस् ।

हुन त अहिले एन्ड्रोइड इलाभेन आइसकेको सन्दर्भमा एन्ड्रोइड टेन रोज्नु भयो भने उपुयुक्त हुनेछ । साथै त्यसमा नयाँ ओएस अपडेट प्राप्त हुनेछ वा हुने छैन भन्ने कुरा पनि राम्रोसँग जाँचबुझ्न गर्न नबिर्सिनुहोस् ।

प्रोसेसर

कुनै पनि स्मार्टफोनमा प्रोसेसर सबैभन्दा महत्वपूर्ण हुन्छ । किन भने त्यसैमा फोनको पर्फमेन्स तथा कार्यक्षमता निर्भर रहेको हुन्छ ।

यदि तपाईं गेमिङका लागि फोन खरिद गर्दै हुनुहुन्छ भने स्नापड्रागन ७३० जीदेखि स्नापड्रागन ८६५ सम्मको प्रोसेसर भएको स्मार्टफोन खरिद गर्नुहोस् ।

किन भने यसमा तपाईंलाई मजेदार गेमिङ अनुभवका साथै भिडियो स्ट्रिमिङ तथा अनलाइन एडिटिङमा समेत निकै राम्रो अनुभव मिल्नेछ । 

क्यामेरा

नयाँ स्मार्टफोन खरिद गर्दाको समय ध्यानमा राख्नुपर्ने अर्को महत्वपूर्ण कुरा त्यसको क्यामेरा पनि हो । स्मार्टफोनमा तपाईंका लागि सबैभन्दा बढी प्रयोग हुने चिज के हो ? यदि तपाईंमा फोटोग्राफीको सौखिन हुनुहुन्छ भने भने राम्रो गुणस्तरको क्यामेरा भएको स्मार्टफोन हेर्नुहोस् । 

बजारमा हरेक रेञ्जमा तपाईंलाई अनेक विकल्प भेटिनेछन् । क्यामेराका लागि त्यसको मेगापिक्सेल नभएर अपार्चर, आईएसओ लेभल, पिक्सेल साइज, अटोफोकस जस्ता फिचरमा ध्यान दिनुहोस् ।

ब्याट्री ब्याकअप

स्मार्टफोनको प्रयोग हामीले दिनभर गरिरहेका हुन्छौं । कल, म्यासेज, सामाजिक सञ्जाल, समाचार, मनोरञ्जन, गेमिङ आदि जस्ता अनेक कामका लागि हामीले स्मार्टफोन प्रयोग गरिरहेका हुन्छौं ।

अहिलेको वर्क फ्रम होमको यो समयमा त झन् स्मार्टफोन हाम्रो हातबाट अलग रहनै सक्दैन । त्यसैले स्मार्टफोन खरिद गर्दा यसको ब्याट्रीलाई तपाईंले बेवास्ता गर्न मिल्दैन ।

सकेसम्म बढी ब्याट्री क्षमता भएको र फास्ट चार्जिङ सपोर्टको सुविधायुक्त स्मार्टफोन रोज्नुहोस् । ता कि बारम्बार फोन चार्ज गर्ने झन्झट नपरोस् र चार्जिङमै धेरै बेर लगाइरहन नपरोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४