close

सर्च इन्जिनमा एकाधिकार कायम गर्न षड्यन्त्र रचेको भन्दै गुगल विरुद्ध एन्टी ट्रस्टको मुद्दा

टेकपाना टेकपाना

कात्तिक ६, २०७७ ११:२७

सर्च इन्जिनमा एकाधिकार कायम गर्न षड्यन्त्र रचेको भन्दै गुगल विरुद्ध एन्टी ट्रस्टको मुद्दा

काठमाडौं । अमेरिकाको न्याय विभाग र ११ वटा राज्यले गुगलविरुद्ध एन्टी ट्रस्टको मुद्दा दायर गरेका छन् । विश्वमा सबैभन्दा बढी प्रयोग हुने सर्च इन्जिन गुगल विरुद्ध योजनाबद्ध रुपमा प्रतिस्पर्धा समाप्त गरेको आरोप लगाइएको छ ।

कम्पनीले आफ्नो एकाधिकार बनाउन अवैध रुपमा स्मार्टफोन निर्माता कम्पनीसँग विशेष प्रकारको डिल गरेको बताइएको छ । दुई दशकको अवधिमा कुनै प्रविधि कम्पनीमाथि लागेको यो नै सबैभन्दा ठूलो मुद्दा हो ।

यसअघि सन् १९९८ मा यस्तै किसिमको मुद्दा माइक्रोसफ्टले समेत खेपेको थियो । त्यसो त गुगलमाथिकै यो आरोप पनि नयाँ भने होइन ।

अमेरिकासँगै अस्ट्रेलिया, जापान र युरोपमा समेत ठूला प्रविधि कम्पनीको एकाधिकारलाई चुनौती दिने तयारीमा रहेको खबरहरु आइरहेका छन् ।

यस्तो छ, गुगलमाथि लागेको आरोप

गुगल विरुद्ध दायर भएको ५४ पेज लामो मुद्दामा गुगलले सर्च इन्जिन व्यवसायमा ९० प्रतिशतभन्दा बढी बजार हात पार्नका लागि विशेष प्रकारको डिल गरेको आरोप लगाइएको छ । जसबाट त्यस्ता डिभाइसमा गुगल सर्च इन्जिन डिफल्ट सर्च इन्जिनको रुपमा रहने गर्दछ ।

गुगलले मोबाइल निर्माता कम्पनी, क्यारियर र ब्राउजरलाई आफ्नो विज्ञापन वापतको आम्दानीबाट अर्बौं डलर भुक्तानी दिएको थियो, ता कि त्यसमा गुगल प्रिसेट सर्च इन्जिन बन्न सकोस् । जसमार्फत गुगलले करोडौं डिभाइसमा अन्य प्रतिस्पर्धी सर्च इन्जिनलाई माथि आउनबाट रोक्न सफल भयो ।

अर्को आरोप यो पनि छ कि एप्पल र गुगलले एक अर्काको सहयोगमा आफ्ना अन्य कम्पनीलाई प्रतिस्पर्धाबाटै बाहिर धकेलिदिए । अमेरिकामा मात्रै गुगल सर्च इन्जिन ट्राफिकमा करिब आधाजसो एप्पलको आईफोनबाट आयो ।

त्यसबाट एप्पलले आफ्नो आम्दानीको पाँचौं हिस्सा गुगलबाट जुटायो । गुगलले आविष्कारलाई नै रोकिदियो । प्रयोगकर्ताका रोजाईलाई समाप्त पारेको र प्राइभेसी डेटा सर्भिस क्वालिटीलाई प्रभावित गर्‍यो ।

गुगलले आफ्नो स्थानको लाभ उठाएर अन्य कम्पनी तथा स्टार्टअपलाई फस्टाउने वा आविष्कार गर्ने मौका समेत दिएन । अमेरिकाको न्याय विभागले करिब एक वर्ष लामो जाँच पड्ताल पश्चात यो मुद्दा दायर गरेको हो ।

गुगलका प्रमुख कानून अधिकृत केट वाकरले भने यो मुद्दालाई आधारहिन भएको बताएका छन् । प्रयोगकर्ताले रुचाएरै गुगल प्रयोग गरेको उनको स्पष्टोक्ती छ ।

उनले भनेका छन्, ‘गुगलले कसैलाई पनि जबरजस्ती आफ्नो सेवा प्रयोग गर्न लगाएको छैन । यदि कसैले चाहन्छ भने विकल्पहरु अहिले पनि छन् ।’ एन्टीट्रस्टको माध्यमबाट बजारमा प्रतिस्पर्धा गर्न नसक्ने कम्पनीको पक्षपोषण गरिएको उनको आरोप छ ।

‘गुगलले एप्पल र अन्य स्मार्टफोन कम्पनीलाई भुक्तानी दिने गर्दछ ता कि त्यसबाट धेरै भन्दा धेरै प्रयोगकर्तामाझ पुग्नका लागि सेल्फ स्पेस मिल्न सकोस् । यसमा कुनै पनि किसिमको गल्ती छैन,’ वाकरले अगाडि भनेका छन् ।

अमेरिकी एन्टी ट्रस्ट कानूनको डिजाइन कुनै प्रतिस्पर्धीलाई बलियो बनाउनका लागि डिजाइन नगरिएको उनको तर्क छ । उनले भनेका छन्, ‘यो मुद्दा अदालतमा धेरै दिनसम्म टेक्नेवाला छैन । गुगलले प्रयोगकर्तालाई जुन सेवा दिइरहेको छ, त्यो सबै निःशुल्क छ । यसबाट अरु कसैलाई नोक्सान पुगेको आशंका गर्नु गलत छ ।’

के होला अब ?

यो मुद्दा दायर भएको समयदेखि यसमा संलग्न राज्यसम्म कयौं प्रश्नहरु खडा भएका छन् । चुनावको ठीक दुई हप्ता अघि यो मुद्दा दायर भएको छ ।

सामान्यतया कुनै पनि कदम चाल्दा त्यसको असर निर्वाचनमा पर्ने डर हुन्छ । त्यसै कारण सरकारले यस्तो अवस्थामा कुनै ठूलो कदम उठाउँदैन ।

११ राज्यले जस्टिस डिपार्टमेन्टलाई साथ दिएका छन् । ती सबै रिपब्लिक एट्रोनी जर्नल छन् । वास्तवमा अमेरिकाका सबै ५० वटै राज्यले गुगल विरुद्ध एक वर्षअघि जाँच सुरु गरेका थिए ।

यस्ता मुद्दाको सुनुवाई लामो समयसम्म चल्ने गर्दछ र फैसला आउन दुई/तीन वर्षसम्म लाग्न सक्छ । माइक्रोसफ्ट विरुद्ध १९९८ मा दायर भएको यस्तै मुद्दा सेटलमेन्टमा गएर टुंगिएको थियो ।

गुगल विरुद्ध यस अघि युरोपमा पनि यस्तै प्रकृतिको आरोप लागेको थियो । यदि कम्पनीले हार्नुपरेको खण्डमा आफ्नो संरचनामै परिवर्तन ल्याउनुपर्ने हुनसक्छ ।

गुगलकै पक्षमा फैसला आएको खण्डमा उसलाई झन् बलियो बनाउन बल पुग्नेछ । जसबाट प्रविधि कम्पनीमा नियन्त्रण राख्ने सरकारी प्रयासमा झट्का लाग्न सक्छ ।

३ नोभेम्बरमा अमेरिकामा राष्ट्रपति पदको चुनाव हुँदैछ । त्यसपछि यो मुद्दा नयाँ सरकारले लड्नेछ । डेमोक्र्याटहरुले लामो समयदेखि नयाँ डिजिटल युगमा एन्टी ट्रस्ट कानूनका प्रावधान परिमार्जन गर्नुपर्नेमा मत जाहेर गर्दै आएका छन् ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०