close

क्लिन फिड च्यानलका रुपमा भारतको ‘जी’ नेटवर्कले थाल्यो नेपालमा प्रसारण

टेकपाना टेकपाना

कात्तिक ८, २०७७ १८:५५

क्लिन फिड च्यानलका रुपमा भारतको ‘जी’ नेटवर्कले थाल्यो नेपालमा प्रसारण

काठमाडौं । लामो समयदेखि चर्चाको विषय बन्दै आएको क्लिन फिड अन्ततः आजदेखि लागू भएको छ । तर सेवा प्रदायक निकाय र टेलिभिजनबीच यसबारे तयारी पुरा नहुँदा केही विदेशी च्यानलको प्रसारणमा भने रोक लागेको छ ।

यसैबीच नेपालका लागि ‘जी’ इन्टरटेनमेन्ट इन्टरप्राइज लिमिटेडको आधिकारिक वितरक डिएमबी होल्डिङ्सले जी नेटवर्कमार्फत प्रसारण हुने सबै च्यानलहरु सेटेलाइट मार्फत नेपालमा प्रसारण गरेको जनाएको छ ।

‘जी’ नेटवर्क अन्तर्गत जी टिभी, जी न्यूज, जी सिनेमा, जीङ, जी क्याफे, जी क्लासिक, जी एक्सन लगायतका च्यानलहरु छन्।

त्यस्तै नेपालमा ‘सोनी’को प्याकेज अन्तर्गतका च्यानलहरु सोनी इन्टरटेनमेन्ट, सोनी सब, सोनी म्याक्स, सोनी सिक्स, सोनी टेन लगायत च्यानल पनि क्लिन फिडमा उपलब्ध छन् ।

अन्य विदेशी ब्रोडकास्टरहरूले क्लिन फिड च्यानल तत्काल उपलब्ध नगराएकाले यी च्यानल केही दिनसम्म अवरूद्ध हुने जनाइएको छ ।

लामो समयदेखी एचबिओ लगायतका केही च्यानलहरु पूर्ण क्लिन फिडमै सञ्चालनमा छन् ।

त्यसका अलावा, स्टार अन्तर्गतका च्यानल भने बन्द भएका छन् । स्टार अन्तर्गत स्टार स्पोर्टस्, स्टार प्लस, स्टार गोल्ड, स्टार मुभिज, नेश्नल जोग्राफिक, स्टार १, स्टार २ लगायतका २० भन्दा बढी स्टारका च्यानल केही समयका लागि बन्द भएको छन् ।

साथै कलर्स, कलर्स एचडी, बीबीसी, सीएनएन लगायतका च्यानलको पनि प्रसारण रोकिएको डिसहोमका प्रबन्ध निर्देशक सुदिप आचार्य बताउँछन् । उनका अनुसार कोरोनका महामारीको बिचमा यी च्यानलले आवश्यक तयारी गर्न नपाएकाले पनि यस्ता अवस्था सिर्जना भएको हो ।

क्लिन फिडका लागि आवश्यक सामाग्री रोकिँदा हाल सर्भिस दिन नसकेता पनि दसैं पश्चात भने यी च्यानलको पूनः प्रसारण हुने जनाइएकाे छ । तर, त्यती बेलासम्म हाल चलिरहेको आईपीएल लगायतका खेल भने टिभीमा हेर्न नपाइने भएको छ 

त्यस्तै क्लिन फिड लागू भएसँगै सब्सक्रिप्सन बिना पनि हेर्न सकिने फ्रि-टु-एयर सर्भिस अन्तर्गतका ५० देखि ६० च्यानलकाे प्रसारण पनि राेकिएकाे छ ।

यसैक्रममा टेलिभिजन सेवा प्रदायकहरूले क्लिन फिडका नीतिका कारण च्यानलहरुको एलसीएन (च्यानल नम्बर) र प्याकेज अनुसार च्यानलहरु थपघट तथा परिवर्तन हुनसक्ने जनाएका छन् ।

याे पनि पढ्नुहाेस् : क्लिन फिडबारे जान्नैपर्ने केही कुरा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०