close

स्मार्टफोनको ब्याट्री चाँडै सकिन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

कात्तिक १५, २०७७ ८:३३

स्मार्टफोनको ब्याट्री चाँडै सकिन्छ ? यसो गर्नुहोस्

काठमाडौं । फोन निर्माता कम्पनीहरुले बजारमा ७००० एमएएच क्षमतासम्मका ब्याट्री भएका स्मार्टफोनहरु बजारमा ल्याइरहेका छन् । यद्यपी एमएएच अर्थात ब्याट्रीको क्षमता बढी भएकै लामो समयसम्म टिक्नसक्छ भन्ने ग्यारेन्टी भने हुँदैन ।

फोनमा हुने हार्डवेयर तथा सफ्टवेयरदेखि तपाईंले आफ्नो स्मार्टफोन कसर प्रयोग गर्नुहुन्छ भन्ने कुरामा समेत ब्याट्रीको लाइफ निर्भर हुने गर्दछ । यस्तोमा आज हामी तपाईंलाई ब्याट्री ब्याकअप बढाउने टिप्स दिँदै छौं । जसबाट तपाईं ब्याट्री चाँडै सकिने झन्झटबाट केही हदसम्म भए पनि राहत प्राप्त गर्न सक्नुहुनेछ ।

लोकेसन र ब्लुटुथ बन्द गर्न नबिर्सिनुहोस्

स्मार्टफोनमा हुने जीपीएस सिस्टमले ब्याट्रीलाई धेरै हदसम्म खपत गरिरहेको हुन्छ । कतिपय समय प्रयोगकर्ताले जीपीएस अन गरेर त्यत्तिकै छोडिरहेका हुन्छन् ।

जसका कारण ब्याट्री चाँडै सकिने समस्या आइरहेको हुन्छ । त्यसैले जीपीएस प्रयोग गरिसकेपछि तुरुन्तै बन्द गर्नुपर्ने हुन्छ । यसैगरी ब्लुटुथ पनि ब्याट्री धेरै खपत गराउने अर्को कारण हो ।

सामान्यतयाः प्रयोगकर्ताले इयरबड, स्पिकर, फाइल ट्रान्सफर आदि कामका लागि ब्लुटुथ अन गर्दछन् र बन्द गर्न बिर्सिरहेका हुन्छन् । प्रयोग गरिसकेपछि बन्द नगर्दा यसले फोनको ब्याट्री चाँडै सकाइरहेको हुन्छ । त्यसैले ब्लुटुथ प्रयोग गरिसकेपश्चात बन्द गर्ने बानी बसाल्नुहोस् ।

डिस्प्लेको ब्राइटनेस घटाउनुहोस्

फोनमा डिस्प्लेको ब्राइटनेस घटाउने तथा बढाउने सुविधा दिइएको हुन्छ । यसको प्रयोग सीमित मात्रामा गर्नु ब्याट्रीलाई लामो समयसम्म टिकाउने अर्को विकल्प हो ।

सधैं ब्राइटनेस बढी बनाएर स्मार्टफोन प्रयोग गर्नु पनि आँखाका लागि हानीकारक हुन पुग्छ । यसले स्मार्टफोनको ब्याट्रीलाई पनि चाँडै सकाइरहेको हुन्छ । यस्तोमा सकेसम्म ब्राइटनेसलाई कममा राखेर प्रयोग गर्नुपर्ने हुन्छ ।

ब्याकग्राउन्डमा चल्ने एप बन्द गर्नुहोस्

सामान्यतयाः प्रयोगकर्ताले एउटा एप प्रयोग गरिसकेपछि अर्को एप खोलिरहेका हुन्छन् । तर पहिला प्रयोग गरेको एप अर्को एप खोल्दा समेत ब्याकग्राउन्डमा चलिरहेको हुन्छ ।

यसरी ब्याकग्राउन्डमा धेरै एप चल्दा ब्याट्री चाँडै सकिने गर्दछ । त्यसैले ब्याट्री जोगाउने समय समयमा सबै ब्याकग्राउन्ड एपलाई बन्द गर्ने गर्नुहोस् ।

अल्वेज अन डिस्प्ले फिचरको प्रयोग कम गर्नुहोस्

अल्वेज अन डिस्प्ले फिचर प्रयोग गर्दा प्रयोगकर्तालाई बारम्बार स्मार्टफोनको पावर बटन दबाएर स्क्रिन अन गर्नुपर्ने बाध्यता हुँदैन । तर यो फिचरले ब्याट्री भने छिटो सकिरहेको हुन्छ ।

यस्तोमा आफ्नो स्मार्टफोनको ब्याट्री जोगाउन चाहनुहुन्छ भने अल्वेज अन डिस्प्ले फिचरको प्रयोग घटाउनुहोस् । फोनको सेटिङमा गएर अल्वेज अन डिस्प्ले फिचरलाई अन अफ गर्न सकिन्छ ।

लाइभ वालपेपर नराख्नुहोस्

लाइभ वालपेपर हेर्दा त निकै आकर्षक हुन्छन् । तर यसलाई राख्दा स्मार्टफोनको ब्याट्री भने चाँडै सकिन पुग्छ । यस्तोमा ब्याट्री टिकाउन चाहनुहुन्छ भने लाइभ वालपेपरको प्रयोग नगर्नु नै बुद्धिमानी हुन जान्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०