close

सामसङ बन्यो विश्व नम्बर वान, एप्पलभन्दा साओमी अगाडि

टेकपाना टेकपाना

कात्तिक १६, २०७७ २२:४

सामसङ बन्यो विश्व नम्बर वान, एप्पलभन्दा साओमी अगाडि

काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले चिनियाँ कम्पनी ह्वावेलाई पछि पार्दै फेरी विश्वको नम्बर वान मोबाइल कम्पनी बन्न सफल भएको छ । मार्केर रिसर्च फर्म क्यानलाइज सहित आईडीसी र काउन्टरप्वाइन्टले जारी गरेको सन् २०२० को तेस्रो त्रैमासिकको आँकडाले यस्तो देखाएको हो ।

आँकडा अनुसार सामसङको बजार हिस्सा २२.७ प्रतिशत पुगेको छ । उक्त अवधिमा कम्पनीले आठ करोड चार लाख स्मार्टफोन बिक्री गरेको छ ।

जुन यसअघिको तुलनामा २.९ प्रतिशत बढी हो । रोचक कुरा त के छ भने चिनियाँ कम्पनी ह्वावे र दक्षिण कोरियाली कम्पनी सामसङबीच केही समयदेखि विश्वबजारमा नम्बर वान बन्ने होड चलिरहेको छ ।

स्रोतः आईडीसी त्रैमासिक मोबाइल फोन ट्र्याकर

तीन महिना अघि मात्र ह्वावेले सामसङलाई पछि पार्दै पहिलो पटक विश्वको नम्बर वान बनेको थियो । तर अहिलेको ताजा आँकडाले फेरी सामसङलाई एक नम्बरमा उभ्याएको हो ।

दोस्रो स्थानमा रहेको ह्वावेले भने पाँच करोड १९ लाख स्मार्टफोन बिक्री गरेको छ । जुन विश्वबजारको १४.७ प्रतिशत हो ।

गत वर्षको तेस्रो त्रैमासिकको तुलनामा यस वर्षको सोही अवधिमा ह्वावेले २२ प्रतिशत बजार हिस्सा गुमाएको छ । गत वर्ष तेस्रो त्रैमासिकमा ६ करोड ६६ लाख स्मार्टफोन बिक्री गरेको कम्पनीको बजार हिस्सा १८.६ प्रतिशत रहेको थियो । अमेरिकी प्रतिबन्ध तथा चिप आपूर्तिमा लागेको रोकका कारण ह्वावेलाई ठूलो धक्का लागेको हो ।

अर्को चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीको कुरा गर्दा यसले अमेरिकी कम्पनी एप्पललाई पछि पार्दै तेस्रो स्थान कब्जा गरेको छ । साओमी एप्पलभन्दा अगाडि पुगेको यो नै पहिलो रेकर्ड हो ।

साओमीले समीक्षा अवधिमा चार करोड ६५ लाख स्मार्टफोन बिक्री गरेको छ र सूचीको तेस्रो नम्बरमा अटाएको छ । कम्पनीको बजार हिस्सा १३.१ प्रतिशत रहेको छ ।

जब कि एप्पलको मार्केट शेयर घटेर ११.८ प्रतिशतमा सीमित भएको छ । एप्पल पछि पर्नुको एउटा कारणको रुपमा उसले आईफोन ट्वेल्भलाई नियमित समय तालिकाभन्दा पछि सार्वजनिक गर्नुलाई समेत मानिएको छ ।

कोरोना भाइरसका कारण उत्पादनमा ढिलाई हुँदा सार्वजनिक हुन मात्र ढिलाई भएन, सँगसँगै त्यसको बिक्रीका लागि समेत समय लाग्यो । जसले गर्दा कम्पनीलाई चौथो स्थानमा धकेलेको हो ।

यसैगरी सूचीको पाँचौं, छैटौं र सातौं नम्बरमा तीन वटै चिनियाँ कम्पनी छन् । जो बीबीके इलेक्ट्रोनिक्स अन्तर्गत पर्दछन् । जसमा भिभो, ओप्पो र रियलमी रहेका छन् ।

पाँचौं नम्बरमा रहेको भिभोले समीक्षा अवधिमा तीन करोड १५ लाख स्मार्टफोन बिक्री गरेको छ भने कम्पनीको बजार हिस्सा ८.९ प्रतिशत रहेको छ ।

२०२० को तेस्रो त्रैमासिक अवधिमा विश्वभर कूल ३५ करोड ३६ लाख वटा स्मार्टफोन बिक्री भएका छन् । सामसङ, ह्वावे, साओमी एप्पल र भिभो बाहेकका अन्य कम्पनीले यस अवधिमा कूल १० करोड १७ लाख स्मार्टफवन बिक्री गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०